काठमाडौँमा किन भेला हुँदैछन् विश्वभरका नेपाली भान्सेहरू?

हिमाल प्रेस १३ माघ २०८१ २०:१६
968
SHARES
काठमाडौँमा किन भेला हुँदैछन् विश्वभरका नेपाली भान्सेहरू?

काठमाडौँ- विश्वभर छरिएका नेपाली सेफहरूको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिभल हुँदैछ। फेस्टिभलमा विश्वभर कार्यरत सोतो कोट लगाउने सेफहरू (नेपाली भान्से) एकै ठाउँ भेला हुँदैछन्। नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनाका फुड फेस्टिभल हुन लागेको हो।

आगामी वैशाख ६ गते भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा हुन लागेको कार्यक्रमको तयारीमा यतिबेला विश्वभरका नेपाली भान्सेहरू जुटेका छन्। कार्यक्रममा मध्यपूर्व, युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत ५ हजार सेफ प्रतिनिधिहरूले सहभागिता जनाउँदैछन्। जसमा नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोग रहने अन्तर्राष्ट्रिय सेफ सोसाइटीका केन्द्रीय संयोजक अरुण अधिकारीले जानकारी दिए।

फेस्टिभलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवर्द्धनमा मद्दत गर्ने उनले बताए। साथै नेपाली सेफहरूबीच सञ्जाल निर्माण अन्तर्राष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूलाई एकत्रित गरेर अनुभव आदानप्रदान गर्ने, नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेसागत चुनौती र अवसरहरूबारे छलफल गर्न मञ्च उपलब्ध गराउने उद्देश्यले फेस्टिभल हुन लागेको संयोजक अधिकारीको भनाइ छ।

फेस्टिभलमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ, जसमा नेपाली सेफहरुले अन्तराष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने अधिकारीले बताए।

यस्तै नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षलाई विश्वसामु पुर्‍याउन मद्दत पुग्ने उनको भनाइ छ। फेस्टिभलमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारहरूको प्रदर्शनी, सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन, राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपोन्मुख झाँकीसहितका नृत्य कला प्रस्तुत गरिनेछ।

प्रथम महाधिवेशनको तयारी

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशनको तयारी थालिएको छ। काठमाडौँमा हुने महाधिवेशनले विश्वभरका सेफहरूको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनअघि अहिले विभिन्न मुलुकमा अधिवेशन चलिरहेको छ।

हाल ११ देशमा अधिवेशन सम्पन्न भएको र बाँकी देशमा पनि भइरहेको अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका प्रवक्ता युवराज तामाङले जानकारी दिए। नेपाली सेफ सोसाइटीले नेपालभित्र र नेपाल बारिहका देशमा रहेका नेपाली भान्सेहरूलाई एकताबद्ध गर्दै आएको छ। २०१८ मा यूएईबाट सुरु भएको सेफ सोसाइटी अहिले ३६ देशमा संगठित भएको छ। सेफ सोसाइटी नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता समेत भएको छ।

प्रकाशित: १३ माघ २०८१ २०:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast