
पोखरा- आजभन्दा ३ दशकअघि लोकपप क्षेत्रका हस्ती हुन्, विवेक श्रेष्ठ। केही समय विदेश पलायन भएका उनी फेरि पुरानो विरासत फर्काउने तयारीमा छन्।
पछिल्लो समय गृहनगरी पोखराबाट ‘कन्दरा’ थालेको बिग कन्सर्ट काठमाडौं र बेलायतसमेत सम्पन्न भइसकेको छ। कन्सर्टमा थुप्रै दर्शक पाएको कन्दरा ‘पहिला घरदेखि अनि परदेश’ नाराका साथ अन्तर्राष्ट्रिय सहर घुम्दैछ।
आफ्नो ३२ वर्षे सांगीतिक यात्राको उत्सव वर्षको रुपमा सन् २०२४/०२५ लाई देशभर र विश्वभ्रमण तालिकाअनुसार आगामी जुनमा दुबई, कतार र हङकङमा प्रस्तुति दिने तयारीमा छ। भोकलिस्ट श्रेष्ठले ‘तगारोमा रुमाल’, ‘लेककी हे माया’, ‘तिमी पारि’, ‘जिन्दगीको यो उत्सव हो, वरदान ईश्वरको’, ‘विदेशिएर गइन् उनी’, ‘हङकङ पोखरा’ गाइरहँदा वान्स मोर अवश्य सामना गर्नुपर्छ। लोकपप मिश्रणका गीतमार्फत यो ब्याण्डले अग्रज र अनुज पुस्ता जोड्न सफल छ।
सन् १९९० को दशकमा उदाएका पोखरेली ब्याण्डले नेपाली गीतसंगीतमा एकछत्र राज गरेका थिए। अर्को डिमर्चा ब्याण्ड नेपाली लोक, फंक, रक र ब्लुज मिश्रित सांगीतिक स्वादको पोखरेली ब्याण्ड हो। भाष्करध्वज श्रेष्ठले ‘खैला बैला भो’, ‘हुन्दे रे’, ‘झ्याम्म–झ्याम्म’, ‘तारा खस्यौली’ गाउँदा अझै पनि फरक शैलीको झन्कार महसुस हुन्छ।
यही बेला उदाए लेकाली, मध्यान्ह, ब्रोसिस, देउराली, भगाब्याण्ड ब्याण्ड पनि। सांगीतिक प्रस्तुति लिएर नेपथ्यका अमृत गुरुङ त विश्व घुमिरहेका छन्।
तर, विगतको त्यो विरासत अहिले पाइँदैन। समय, परिस्थिति, घटना, परिवेशका कारण ब्याण्डका सदस्यमध्ये अधिकांश विदेश पलायन भए। र, ब्याण्डहरु सुस्ताए।
ब्याण्डहरूको राजधानी पोखरामा ब्याक टु नाइन्टिज कार्यक्रम हुने भएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा सांगीतिक कलाकार संघ नेपालले यही २६ माघमा पोखरामा विभिन्न ७ ब्याण्डहरूलाई एकै स्टेजमा उतार्ने जमर्को गरेको छ।
‘कुनै बेला पोखरा ब्याण्डहरुको राजधानी थियो। नब्बेको दशकमा पोखराका ब्याण्डहरुले देश विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,’ आइतबार पत्रकार सम्मेलनमा आयोजक संघ अध्यक्ष हर्कराज गुरुङ (भाइ) ले भने, ‘पछि बिस्तारै सुस्ताउँदै गयो। अहिले विरासत फर्काउन यो कार्यक्रम गर्न लागेका हौं।’ उनले संगीतमार्फत विश्वको ध्यान फेरि एकपटक पोखरामा तान्न कार्यक्रम कोशेढुंगा सावित हुने विश्वास गरे।
प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल ७ वटा ब्याण्डहरूले प्रस्तुति दिने बताए। उनका अनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि-मर्चा ब्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्याण्ड (नवीन गुरुङ र भाइ गुरुङ), देउराली ब्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्याण्ड (प्रकाश राना), मध्याह्न ब्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड ब्याण्ड (श्यामसुङ तामाङ) को प्रस्तुति रहनेछ।
सुषुप्त रहेका पुराना सांगीतिक ब्याण्डहरुको पुनर्जागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए। उनका अनुसार गीत, संगीतमार्फत निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुर्व्यसनबाट जोगिन युवालाई संगीत बलियो माध्यम हुने उनको भनाइ छ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा साँझ ५–९ बजेसम्म हुने कन्सर्टका लागि प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएको प्रचार संयोजक सन्देश श्रेष्ठले बताए।
संघका निवर्तमान अध्यक्ष सुनिल थापाका अनुसार कन्दराले ‘तगारोमा रुमाल’, डिमर्चाले ‘झ्याम्म–झ्याम्म’, लेकालीले ‘यो मुटुमा’,मध्यान्हले ‘जिन्दगीको के भरोसा’, ब्रोसिसले ‘चाइना कम्पनी’, देउरालीले ‘ढुंगेसाँघुको मेलामा’, भगाब्याण्डले ‘यो जिन्दगानी’ लगायतका गीत प्रस्तुत गर्नेछन्। कार्यक्रममा २५ लाख संकलन गरी खर्च कटाइ ३ लाख बचत गर्ने आयोजकको लक्ष्य छ। सो रकम कलाकार अक्षयकोषमा राखिने अध्यक्ष हर्कराजले बताए।
पोखरा सांगीतिक कलाकार संघले यसअघि इन्दरस्कुल ब्याण्ड कम्पिटिसन, होली म्यूजिक फेस्टिभलसमेत विभिन्न सांगीतिक प्रतियोगिता गरिसकेको छ।