काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशका विषयमा वृहत् छलफल गरेको छ। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बसेको संसदीय दलको बैठकमा कांग्रेसले अध्यादेशका विषयमा छलफल गरेको हो।
अध्यादेश तयार पार्न भूमिका खेलेका तीन जना विज्ञलाई सहभागी गराएर कांग्रेसले छलफल गरेको हो। अध्यादेशको विषयवस्तु तयार पार्न भूमिका खेलका सेमन्त दाहाल, प्रताप पौडेल र एक जना वरिष्ठ अधिवक्तालाई सहभागी गराएर छलफल भएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानारी दिए।
‘अध्यादेश तयार पार्न भूमिका खेल्नुभएका विज्ञलाई सहभागी गराएर कन्टेन्टका विषयमा छलफल गरेका छौँ,’ घिमिरेले हिमालप्रेससँग भने,‘उहाँहरूले अध्यादेशको आवश्यकता र विषयवस्तुबारे प्रकाश पार्नुभयो।’
बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारको काम कारबाहीबारे प्रकाश पारेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए। उनले भने,‘गृहमन्त्रीले सरकारको समग्र कामकारबाहीबारे बैठकमा प्रकाश पार्नुभयो।’
त्यस्तै महामन्त्री गगन थापाले कांग्रेस–एमालेबीच बनेका संयन्त्रको विषयमा बैठकमा प्रकाश पारेका थिए। संयन्त्रले सरकारको कामकारबाहीलाई छिटो छरितो बनाउन सहयोगी भूमिका खेलेको थापाले बताएका थिए।
प्रमुख सचेतक घिमिरेले सरकारले जरूरी परेको बेला सरकारले अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानमै भएकाले विपक्षी दलहरूले विरोध गर्नुपर्ने कारण नरहेको उल्लेख गरे।
‘जहाँसम्म अध्यादेश ल्याउने विषय हो, संविधानले नै यसको व्यवस्था गरेको छ,’ उनले भने,‘अध्यादेशको कन्टेन्ट देशको हित र आर्थिक गतिविधि चलायमान बनाउने रहेको छ। त्यसैले विपक्षी दलहरूले यसमा विरोध गर्नुपर्ने कुनै कारण देखिँदैन।’
अध्यादेशमा कुनै राजनीतिक प्रकृति वा विवादस्पद कुरा नभएकाले डराउने कुरा नभएको भन्दै घिमिरेले अध्यादेशको पक्षमा कांग्रेसका सांसदहरू एक ढिक्का भएर उभिने जिकिर गरे।
प्रमुख सचेतक घिमिरेले सोमबार बस्ने बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने कार्यसूची रहेको बताए। उनले भने,‘भोलिको बैठकमा सांसदहरूका लागि फ्लोर ओपन गरिएको छ। उहाँहरूले आफ्नो कुरा राख्नु हुन्छ र नेताहरूले जवाफ दिनु हुनेछ।’