काठमाडौँ- युक्रेनी सेनाको नियन्त्रणमा २१ जना नेपाली रहेको पाइएको छ। रुसी सरकारका पक्षबाट युद्ध लडेका उनीहरूलाई युक्रेनी सेनाले युद्धकै क्रममा नियन्त्रणमा लिएर बन्दी बनाएको हो। सरकारी तथ्यांकमा भने युक्रेनी सेनाको नियन्त्रणमा सातजना नेपाली मात्र छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले सिद्धार्थ ढकाल, विवेक खत्री, प्रतीक पुन, विकास राई, सुजन सुवेदी, कृष्णबहादुर घिमिरे र ईश्वर लामिछाने युक्रेनी सेनाको नियन्त्रणमा रहेको जानकारी आएको बताए। उनका अनुसार सातैजनाको ठेगाना भने खुलेको छैन।
ढकालले भने, ‘मन्त्रालयले युक्रेनी सेनाको नियन्त्रणमा कति नेपाली छन् भनेर विभिन्न माध्यमबाट तथ्यांक मागिरहेको छ। सातजनाबाहेक पुष्टि भएको छैन।’
मन्त्रालय स्रोतले भने युक्रेनी सेनाको नियन्त्रणमा २१ जना नेपाली रहेको सूचना आएको दाबी गरेको छ। सातजनाबाहेकको सूचना नआएकाले तत्काल केही भन्न सक्ने अवस्था नभएको मन्त्रालयका अर्का उच्च अधिकारीले बताए। ‘तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठकै पालामा रुसी पक्षबाट युक्रेनी सेनाको नियणन्त्रणमा २१ जना नेपाली छन् भनेर सूचना दिएको थियो। यस विषयमा त्यति बेला गम्भीर भएर सोधीखोजी गरिएन’, ती अधिकारीले भने।
प्रवक्ता ढकालले युक्रेनी सेनाको नियन्त्रणमा सातबाहेक अन्य नेपाली भए उनीहरूलाई उद्धारका अन्तर्राष्ट्रियस्तरमा पहल गरिने बताए।
रुस र युक्रेनमा फसेका नेपालीका परिवारसँग सहजीकरण गरिरहेकी कृतु भण्डारीले पनि आईसीआरसीका प्रतिनिधिले युक्रेन सेनाको नियन्त्रण १७ जना नेपाली रहेको बताएको जानकारी दिइन्।
उनले भनिन्, ‘हामीलाई सम्बन्धित परिवारले दिएको सूचनाअनुसार युक्रेनी सेनाको नियन्त्रणमा १७ जना नेपाली छन्।’ युक्रेनी सेनाको नियन्त्रणमा रहेका १७ जनाका परिवारले उद्धारका लागि कन्सुलर सेवा विभागले निवेदन दिएका छन्।