शिक्षक अड्याउन भरतपुर महानगरले दिन थाल्यो आवास भत्ता

हिमाल प्रेस १३ माघ २०८१ १२:१८
1.9k
SHARES
शिक्षक अड्याउन भरतपुर महानगरले दिन थाल्यो आवास भत्ता

काठमाडौँ- भरतपुर महानगरपालिकाले वडा नम्बर २९ का सामुदायिक विद्यालयका शिक्षकलाई दुई हजार रुपैयाँ आवास भत्ता उपलब्ध गराउने भएको छ। यद्यपि यो सुविधा सोही वडामा घर भएका शिक्षकलाई भने लागू हुने छैन।

नगर शिक्षा अधिकारी तथा शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले हिमालप्रेससँगको कुराकानीमा भौगोलिक विकटका कारणले शिक्षकलाई गाह्रो भएकाले उनीहरूलाई त्यहीँ अड्याउनआवासको सुविधा दिन लागिएको बताए।

उनले भने, ‘महानगरपालिकाको २९ नम्बर वडा अलिक विकट छ। विद्यालय आउन शिक्षकहरू तल झर्नुपर्ने बाध्यता छ। उहाँहरूलाई त्यहीँ अड्याउन दुई हजार रुपैयाँ आवास भत्ता दिन लागेका हौँ। यद्यपि २९ वटामा घर भएका शिक्षकको हकमा यो सुविधा लागू हुँदैन।’

गत आर्थिक वर्ष २०८०/८१ वर्षमा यो सुविधा ३३ जना शिक्षकले पाएका थिए। यस वर्षका लागि पनि माघभित्र बुझाउनुपर्ने गरी आवेदन माग गरिएको आचार्यले जानकारी दिए। उनले भने, ‘यो वर्ष कति शिक्षक हुनुहुन्छ अहिले यकिन भइसकेको छैन। माघ महिनाभित्र आइपुग्नेगरी निवेदन मगाएका छौँ। सरकारी कोषबाट तलब खाने शिक्षकलाई आवास भत्ता दिने हो। यदि कुनै शिक्षक त्यहीँको वडावासी हुनुहुन्छ भने उहाँहरूले पाउनुहुन्न। त्यहीका शिक्षक भरतपुर या कतै आएर घर बनाएर बस्नुभएको छ र त्यो वडाको स्कुलमा पढाउनुहुन्छ भने उहाँहरूले भत्ता पाउनुहुन्छ।’

प्रमुख आचार्यले यो सुविधा शिक्षकका लागि मात्र भएको बताए। उनले भने, ‘विद्यालय कर्मचारीलाई होइन। त्यहाँका स्कुलमा विद्यालय कर्मचारी वडावासी नै हुनुहुन्छ। त्यहाँ ११ वटा स्कुल छन्। १० वटा स्कुलका शिक्षकलाई आवास सुविधा हुन्छ। एउटा स्कुल सडक नजिकै पर्छ।’ उनको भनाइमा शिक्षकलाई आवास सुविधा ५, ७ वर्षलाई हुन्छ। भविष्यमा के हुन्छ भन्न सकिने अवस्था छैन। तीन विद्यालयमा झन्डै एक हजार हाराहारीमा विद्यार्थी छन्।

हाल कतिपय विद्यालयमा अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव छ। पालिकाले दसपटकसम्म पनि ती विषयका शिक्षक माग गर्दै आवेदन खुलाएका हुन्छन्। तर पूर्ति हुन नसकेको अवस्था छ। भरतपुर महानगरपालिकाले भने विषयगत शिक्षक अभाव हुन दिएको छैन।

त्यसैगरी आचार्यले महानगरपालिकाअन्तगर्तका ५२ वटा विद्यालयमा अंग्रेजी, विज्ञान र गणित शिक्षक अभाव नभएको बताए। उनी भन्छन्, ‘संघ, प्रदेश र स्थानीय तहको दरबन्दी मिलाएर विद्यालयमा विषयगत शिक्षक पुर्‍याएका छौँ।’ उनले नगरका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई ग्रेड छुट्याएर तलबसुविधा दिइएको पनि बताए। ‘ईसीडी शिक्षकको स्तर निर्धारण गरेर ‘क’ वर्गमा परेका शिक्षकलाई संघ र स्थानीय तहले दिने तलबमा अरू दुई हजार थप गरेर तलब दिएका छौं।’

भरतपुर महानगरपालिकाले कक्षा ८ तथा एसईई नतिजा सुधारका लागि महानगरका शिक्षकसँग कार्यसम्पादन सम्झौता गरेको छ। ६५ प्रतिशत नतिजा ल्याउन भनिएको छ।

नतिजा वृद्धिका लागि ८ र १० कक्षाको शिक्षकसँग कार्यसम्पादन सम्झौता गरेका छौँ। यसवर्ष कति विद्यार्थीको नतिजा सुधार गर्ने सम्झौता गरेका छौँ। लक्ष्य तोकिएको छ। ६५ प्रतिशत रिजल्ट निकाल्छौँ। गत वर्ष ४६ थियो। लक्ष्यमा २/४ प्रतिशत यताउता हुनसक्छ,’महाशाखा प्रमुख आचार्यले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast