के हो एमालेको ‘जरा अभियान’?

किरण पौडेल १३ माघ २०८१ ९:३१
72
SHARES
के हो एमालेको ‘जरा अभियान’? फाइल तस्बिर

काठमाडौँ– २०७९ को आमनिर्वाचनमा प्रत्यक्षतर्फ मत खस्किएपछि नेकपा एमालेले विभिन्न अभियान चलाउँदै आएको छ। जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न र नेतृत्वले अवलम्बन गरेको रणनीतिलाई तल्ला तहसम्म पुर्‍याउन एमालेले अभियान चलाइरहेको नेताहरू बताउँछन्। तीमध्ये ‘ग्रासरुट अभियान’ र ‘मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियान’ मा नेताहरूको सक्रियता थियो।

ग्रासरुट अभियानको प्रभाव राम्रो नपरे पनि मध्यमहाडी लोकमार्ग अभियानबाट पार्टीलाई केही राहत मिलेको निष्कर्ष एमालेको छ। अहिले एमाले फेरि अर्को अभियानमा जुटेको छ, त्यो हो जरा अभियान।

पुस २१ मा बसेको पार्टीको केन्द्रीय कमिटीले गरेको निर्णयअनुसार एमालेले तीन महिना जरा अभियान सञ्चालन गर्नेछ। अभियान माघ, फागुन र चैतमा गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र गौतमले बताए।

अभियानका लागि एमालेले नेता-कार्यकर्ता परिचालन गरेको छ भने पार्टी महासचिव शंकर पोखरेलले परिपत्रसमेत पठाइसकेका छन्। सातै प्रदेशमा जरा अभियानको कार्यक्रम अघि बढिरहेको गौतमले बताए। उनका अनुसार अभियानमा केन्द्रीयदेखि वडास्तरका नेताकार्यकर्ता जुट्नेछन्।

भ्रम चिर्न अभियान

एमालेले मंसिर अन्तिम साता कार्यशाला सञ्चालन गरेको थियो। कार्यशालाको एमालेको कार्यकर्ताको निष्कर्ष थियो, ‘कार्यकर्ता बलियो बनाउनुपर्छ।’ मंसिर २९ र ३० मा च्यासलमा चलाएको कार्यशालामा सबै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेश पदाधिकारी र २३ वटै जनसंगठनका अध्यक्ष र महासचिव गरी ३१५ जना सहभागी थिए।

कार्यशालामा विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेर समूहगत प्रश्नमा आधारित भएर विषयगत छलफल चलाएका थिए। छलफलमा कार्यकर्ता बलियो बने मात्र पार्टी सशक्त बन्ने निचोड एमालेको थियो। त्यसपछि बसेको केन्द्रीय केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको तल्लो तह धराशयी बन्दै गएको धारणा राखेका थिए। एमालेको संगठन विभागका सचिव माधव ढुंगेल भन्छन्, ‘यही कारण माघ, फागुन र चैतभर कार्यकर्तालाई वडा, टोल र घरसम्म परिचालन गर्ने निर्णय भएको हो।’ ढुंगेलका अनुसार माघभर बैठक बसेर अभियानको खाका तयार गरिनेछ भने फागुन-चैतमा कार्यकर्ता परिचालन गरिनेछ।

‘एमाले लेबी तिर्ने पार्टी हो,’ ढुंगेल भन्छन्, ‘हामीले तल्लो तहमा जति दुःख गर्‍याँै, त्यति जरा बलियो बन्छ। यसैले जरा अभियान भनिएको हो।’ उनका अनुसार कार्यकर्तालाई घरसम्म पुग्ने गरी परिचालन गरिन्छ। ‘प्रत्येक नागरिकको घरमा पुग्नुपर्छ भन्ने बुझाइ हाम्रो हो,’ ढुंगेल भन्छन्, ‘हामीले जनताको कुरा सुन्न खोजेका हौँ। हाम्रो पार्टीप्रति जनताको धारणा बुझ्नेछौँ।’

केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख थियो, ‘एमालेप्रति भ्रम फैलाउने काम भइरहेको छ।’ प्रतिवेदनमा सामाजिक सञ्जालमा एआई, डिप फेकको दुरुपयोग गर्दै एमालेप्रति भ्रम छर्ने काम भइरहेको उल्लेख थियो।

‘अहिले सामाजिक सञ्जालमा हामीमाथि नकरात्मकता छर्ने काम भइरहेको छ,’ ढुंगेल भन्छन्, ‘भ्रम चिर्न जरुरी छ। हामीविरुद्ध खनिएर जनतामा भ्रम परेको कुरा हामी सचेततापूर्वक बुझाउन चाहन्छौँ।’ एमालेले स्थानीय, वडा र टोल कमिटी समेत सक्रिय बनाउनका लागि पनि यो अभियान चलाउन खोजको उनले बताए।

जिल्ला कमिटीभन्दा तलका कमिटी निष्क्रिय भएर जनतासँग सम्बन्ध टुट्ने बुझाइ एमालेको छ। ‘हामीलाई गिरिबन्धु, ओम्नीजस्ता आरोप लाग्छन्, जुन हामीबाट भएका होइनन्,’ ढुंगेल भन्छन्, ‘यस्ता विषयले जनतामा भ्रम फैलिएको हुन सक्छ। हामी स्पष्ट पार्न चाहन्छौँ।’ उनका अनुसार अभियान जनताको कुरा सुन्ने अभियान हो। जनतामा एमालेले केकस्ता गुनासा वा कस्ता कुरा पुगेका छन् ती कुरा सुन्न एमालेले चाहेको छ।

‘हामीलाई भ्रमित गर्न केही भनिएको हुन सक्छ। हामी वास्तविक अभियान बुझाउन खोजिरहेको छौँ,’ ढुंगेल भन्छन्, ‘यो चुनावमुखी अभियान हो।’ एमालेको संगठन विभागले मिसन ०८४ अन्तर्गत यो अभियान चलाएको हो। आगामी चुनावमा एमालेले ‘मतदाताको ६ प्रतिशत एमाले मत’ पुर्‍याउने योजना बनाएको छ।

‘०८४ मा जति मत झर्छ, त्यसको ६ प्रतिशत मत एमालेको आउनुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ ढुंगेल भन्छन्, ‘यसकै लागि हामी कमिटीहरू सक्रिय बनाइरहन्छौँ।’
‘जरा’ अभियान अहिले ७ प्रदेशमै चलिरहेको छ। ‘हामीले ७ दिनअघि बैठक बसेर अभियान थालेका छौँ। अब स्थानीय तहबाट अभियान चल्नेछ,’ एमाले लुम्बिनीका अध्यक्ष राधाकृष्ण कँडेल बताउँछन्।

प्रकाशित: १३ माघ २०८१ ९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast