पोखरा– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु भएको छ। १२–१९ माघसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगिताको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले गरे।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ दुई विदेशी टोलीसहित ६/६ टोलीले भाग लिएका छन्। पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब कुरुक्षेत्र, हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ छन्। महिलातर्फ थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब, एपीएफ, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस र आयोजक छन्।
पहिलो दिन महिलातर्फ तीन खेल भयो। तीमध्ये अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भयो।
आयोजक र त्रिभुवन आर्मी क्लबबीच भएको तेस्रो तथा अन्तिम खेल लाइट प्रोटेस्टका कारण स्थगित भएको हो। पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो।
दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्यो। तेस्रो सेट भने आयोजकले २५–२१ ले जित हासिल गर्यो। र, लाइट प्रोटेस्टका कारण स्थगित गरिएको रेफ्री टहलसिंह थापाले बताए।
त्यसअघि, पहिलो खेलमा एपीएफले थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबलाई ३–२ सेटले पराजित गरेको थियो। अर्को खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले हराएको थियो।
महिला तथा पुरुष दुवैतर्फ विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउने छन्। उपविजेताले २ लाख ८५ हजार र तृतीयले १ लाख ८५ हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले बताए। सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्टलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।
आयोजकले महिलातर्फ पहिलोपल्ट टिम मैदान उतारेको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए।