छोराले गयामा गएर पिण्डदान गरेमा पितृऋणबाट मुक्त भइन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ र त्यसको पालना सकेसम्म गरिँदै आएको पनि छ। यहाँ श्राद्ध गरेपछि पितृहरूले मोक्ष प्राप्त गर्दछन् र पुनः जन्म लिन पर्दैन भन्ने शास्त्रीय मत रहेको छ। त्यसैगरी बाह्र ज्यार्तिलिंगमध्येको एक काशीधामस्थित विश्वनाथको दर्शन गरेर श्राद्ध गर्दा पूर्वजहरूले मोक्ष प्राप्त गर्दछन् भन्ने विश्वास रेहको हुँदा तीर्थ यात्रा गर्ने विचार गरेर पुस २४ गते २०८१ का दिन त्यसतर्फ प्रस्थान गर्ने गरी कार्यक्रम निर्धारण गरियो। हुन त पुस महिनाको १६ गते औंसी तिथि परेको र त्यस दिन गया श्राद्धका लागि विशेष तालिकासमेत रहेको सन्दर्भमा सोही दिन जानुपर्ने थियो। तर व्यक्तिगत व्यवस्तताका कारण र तीर्थश्राद्ध जहिले गर्दा पनि हुन्छ भन्ने पण्डितहरूको रायसमेत रहेको हुँदा २४ गते जाने निधो गरिएको थियो।
भ्रमणको प्रयोजन धार्मिक श्राद्धकर्म रहेकाले सोहीबमोजिम झोलामा आवश्यक सामग्री थियो। गया र काशीमा श्राद्धकर्मका लागि आवश्यक टपरी, दुना, घिउ, तिल, जौ, चन्दन, केशरी, धुप, कर्मपात्रो, तर्पण दिने अर्घपात्र, कुश, जनै, सुपारी, मह, चिनी, सख्खर र पानी खन्याउने अम्खोरासमेतको साथमा थियो। नैनीतालमा चिसो हुने हुँदा आवश्यक न्यानो कपडा पनि झोलामा कोचियो। भ्रमणका लागि आवश्यक पर्ने भारुको जोडजाड त गरियो यसलाई कसरी सुरक्षित बोक्ने भन्ने प्रश्न जटिल बनेर उभियो।
तीर्थमा गएर फर्किएकाहरूको रकम चोरी भएका, लुटिएका अनेक कुरा सुनेको हुँदा एक किसिमको भय मनमा थियो नै। समय परिवर्तनसँगै डिजिटल युगमा प्रवेश गरेको झझल्को दिन हामीले पनि बैंकले उपलव्ध गराएका प्लास्टिकका कार्ड बोकेका थियौँ। यद्यपि, यी कार्ड कत्तिको प्रयोगयोग्य छन् भन्ने प्रामाणिकता भएको छैन। भ्रमणमा गएर फर्कने कतिपय मित्रहरूले कार्डले सजिलै धोका दिने रहेछ भनेर भनेको स्मरण गर्दै केही नगदसमेतको जोहो गर्न बाध्य भएँ।
२०८१ पुस २४ गते तदनुसार जनवरी ८, २०२५ का दिन बिहानको शुभमुहूर्तमा काठमाडौँबाट गया जान वीरगन्जका लागि प्रस्थान गर्यौँ। भन्न त शुभमुहूर्त भनियो तर त्यस दिन मृत्युयोग परेको रहेछ। घरबाट निस्केर पठाओको बाइक चढेर वीरगन्जका लागि लाग्ने टाटासुमोको बसपार्क बल्खुतिर लाग्दै थिएँ नारायणगोपाल चोक पार गरेपछि आफू चढेको बाइकले एउटा अर्को बाइकलाई ठोक्काएर लडाइदियो। घुँडामा सामान्य चोट लाग्यो। चोट लाग्यो भन्दैमा तोकिएको यात्रा रोक्ने कुरा भएन र बल्खुतर्फ लागियो। यही घटना यात्राबाट फर्केर काकाश्रीलाई बताउँदा उक्तदिन यात्राका लागि शुभ नभएको भन्दै पात्रो झिकेर देखाउनुभयो।
जीवनमा यस किसिमको घटाना दुईपटक दोहरिएको छ। एकपटक धेरै अघि मसान्तको दिन घरबाट टाढाको यात्रा नगर्न भनेर पिताजीले भनेको अवज्ञा गरेर यात्रा गर्दा बस दुर्घटनामा परेको थिएँ। अहिले फेरि मृत्युयोगमा हिँडदा दुर्घटनामा परियो। मनमा लाग्यो धेरै भुइँफुट्टा टपरटुइँया आधुनिक हुँनुभन्दा शास्त्रीय मान्यताको कदर गर्दा जीवनोपयोगी हुने रहेछ।
टाटासुमोको यात्रा सकिएपछि वीरगन्जबाट सीमावर्ती भारतीय बजार रक्सौलसम्म रिक्सामा गएर त्यहाँबाट गयाका लागि प्रस्थान गरेँ। रक्सौलदेखि गयाम्मको दुरी ३३० किलोमिटर छ।
सहरी सौन्दर्य र आकर्षण
रक्सौलदेखि गयासम्म ६ लेनको सडकमा सरर गुडियो। कहीँकतै छेकबार छैन। ठाउँठाउँमा बस्ती हेर्न मन भएर मूलसडक छोडेर पुरानो खण्डहर सडकको यात्रा पनि गर्यौँँ। वीरगन्जबाट रक्सौल प्रवेशदेखि गयासम्म कहीँकतै ट्राफिक प्रहरी वा जनपद प्रहरी देखिएन। कसैले हामीलाई सोधखोजसमेत गरेनन्। त्यतिमात्र होइन गयामा समेत यिनीहरू देखिएनन्।
कुनै समय जीवनको पूर्वार्धमा हेटौँडाबाट धेरैपटक पटना गइयो। कहिले घुम्ने बहानामा कहिले उपचारको बहानामा। धेरै पटक अरूलाई उपचार गराउन साथमा लिएर पनि गइयो। खासमा भन्ने हो भने काठमाडौँ आउनभन्दा पटना जान सजिलो लाग्दथ्यो उति बेला। रक्सौल त पानीपँधेरो जस्तो नै थियो।
सीमावर्ती भारतीय बजारहरूको रुपरंग आँखामा थियो। त्यही गञ्जागोल, हल्लाखल्ला, टाँगा ट्याम्पो, पानसुपारी, अस्तव्यस्त र मस्त हाटबजार। यो देहाती संस्कार, व्यवहार र सरोकारको एउटा विशिष्ट स्वाद थियो र अहिले पनि छ। आँखामा उही चित्र कोरिएको थियो विहारको अस्तव्यस्त, मस्त, चोरीचकारी, लुटपाट। जागिरको जीवनभर छिमकी बजार जान परेन वा जाने अवसर जुरेन।
उही पुरानो श्यामश्वेत तस्बिर आँखा सजाएर हिँड्नु पनि रमाइलो हुने रहेछ। दुनियाँ कहाँकहाँ पुगिसक्यो आफ्नो सोच र नजरिया उही साँघुरो परिवेश पार गर्न सकेको होइन। उहिले हाम्रा पिताजीहरू भारतमा तीर्थ गर्न गएर फर्किएपछि गरेको गफ सुनेका हामी पकेटमारदेखि होसियार हुन्थ्यौँ। सुनिन्थ्यो एउटा पकेटमारले उसको एरिया नाघेपछि अर्को पकेटमारलाई मान्छे बेच्थ्यो रे। अहिले आफैँ तीर्थयात्रा गर्दा बेखर्ची परिएला भनेर पैसाको पोको गुठुरो पारेर कम्मरमा कसियो। प्लास्टिकको कार्ड पनि साथ राखिएको थियो। बदलिँदो जमानाको उपयोगितावादबाट भिन्न बस्न पनि कठिन थियो।
उहिले पटना जाँदा लोकल बस या एक्सप्रेस बसमा जाँदा पनि सात आठ घन्टा लाग्थ्यो। खेत खलिहान हेर्दै, ठूल्ठूला किसानी फार्म, एउटै प्रजातिका अन्नको खेती हेर्दै हिँड्दा फिँजारिएको फाँटको विशालता आँखाले नभेट्ने रहरहरू देखेर रमाइलो लाग्दथ्यो। बाटोको पिच एउटा गाडीलाई मात्र अट्न हुन्थ्यो र अर्कोतिरबाट सवारी आउँदा आधा पिच छोडेर साइड लाग्न पर्थ्यो। ओहो, अहिले जमाना बदलिएछ। विहार बदलिएछ, भारत बदलिएछ। मानिसको विधि र व्यवहारमा सामान्य फरक पनि देखिने भएछ। तर मानिसहरूको मूलभूत चरित्र भने उस्तैउस्तै रहेछ।
फ्रिडम अनलिमिटेड
भारत संसारको सबैभन्दा ठूलो लोकतन्त्र अभ्यास गर्ने देश हो। यति अनियन्त्रित स्वतन्त्रताको उपभोग पनि होला भन्ने सोचिएको थिइनँ। अहिले प्रत्यक्ष रूपमा देखेर भोगेर अनुभव गर्न पाइयो। सडकमा ट्राफिक प्रहरी नदेखिए पनि सवारीसाधन आफ्नै गति चलेका छन्। स्वनियन्त्रित सवारी सञ्चालन कल्पना गर्न सकिएला र। हो त्यही देखियो स्वानियन्त्रित। गञ्जागोल पनि छ, भीडमभीड पनि छ तर स्वनियन्त्रित पनि छ। कतै ट्राफिकले लोरो तेर्साएको देखिएन। नम्बरविहीन नयाँ कार भयरहित सडकमा गुडेको पनि देखियो।
साधु र सम्भ्रान्तहरूको संगम
सहर कोलाहलमय छ। अर्बभन्दा बढी जनसंख्या भएको मुलुकमा कोलाहल ठिकै होला। सहर विभाजित छ त्यहाँ। एउटा सहर सम्भ्रान्तको र अर्को साधुसन्तहरूको। त्यो प्रस्ट देखिन्छ। सहरको एउटा पाटो सफा देखिन्छ अर्को पाटो उही पुरातन घिसिपिटी कष्टले अघि बढ्दै गरेको। असनको सम्झना गराउने। कहीँकतै पर्खाल पो लडिहाल्छ कि वा सानो भूकम्पको धक्कामा चेपिएर मरिन्छ भन्ने आशंकाबीच हिँड्नपर्ने। तैपनि जीवन चलेकै छ सन्त्रासले हैन उमंगले। उन्माद कतै देखिँदैन सनातनी संज्ञान जो छ। गजब छ भारत।
बदलिएको परिवेश
डिजिटलाइजेसन भएको छ भारत। जुनै दोकानमा पनि मोबाइलबाट भुक्तानी गर्न सकिन्छ (पे–पाल)। अब कागजी मुद्रा बोकेर हिँड्ने दिन सकिए जस्तो छ। पाकेटमारको सन्त्रास त रहन्छ नै तर पकेटमार कतै भटिँदैनन्। नेपालबाट बोकेर गएको एटीएम कार्डले सजिलै रकम निकाल्न सकियो। एटीएम मसिन नभेटिएला भन्ने पनि चिन्ता छैन। प्रत्येक २०० मिटरमा एटीएम मेसिन फेला पर्छन्।
मानिसको आनीबानी पनि फेरिँदै गएको प्रस्ट देखिन्छ। पहिला सहरको भित्ता, पर्खाल जताततै पानका छिर्काले कोरिएको भद्दा, अमूर्त कला, दागका धब्बा देखिन्थे भने अहिले निकै कम देखिन्छन्। मानिसको व्यवहार पनि सहृदयी देखिन्छन्। कम्तीमा पनि हामीसँग गरेको व्यवहार सम्मानसहित मित्रवत् थियो।
गया तीर्थको महत्त्व
गया भारतको विहार राज्यमा पर्दछ। यो सहर पटनाबाट ११६ किलोमिटर दक्षिणमा पर्दछ। गयाभन्दा १६ किलोमिटर दक्षिणमा बुद्धले ज्ञान प्राप्त गरेको बोधगया छ। बोधगयास्थित ५० मिटर अग्लो महाबोधगया मन्दिर इसापूर्व ३०० तिर सम्राट् अशोकले निर्माण गरेका हुन्।
श्राद्ध गर्ने गया भने भगवान् विष्णुका पादुका मन्दिर भएको कारण प्रख्यात छ। भनिन्छ त्रेतायुगमा यहाँ गयासुर नाम गरेको असुरले राज्य गर्दथ्यो। उसको अत्याचारबाट बच्न साधुसन्तको पुकार सुनेर भगवान् विष्णु प्रकट हुनुभयो र उसलाई युद्धमा पराजित गर्नुभयो। युद्धमा पराजित भएर पनि उठेको कारणले भगवान्को पाउले कुल्ची पाताल पठाउनुभयो। जहाँ भगवानले पाउ राख्नुभएको थियो त्यस स्थानमा भगवान्ले पादचिह्न छोडेर जानुभएको हुँदा उक्त स्थानमा विष्णुको मन्दिरको निर्माण भयो।
यस स्थानमा भगवान राम, भाइ लक्ष्मण र सीताजीका साथ आई पितृश्राद्ध गर्नुभएको भन्ने शास्त्रीय कथन छ। गयामा पितृहरूलाई पिण्डदान गर्दा पितृहरूले प्राप्त गर्ने र पितृश्राद्धबाट कालगति या अकालगति परेर मृत्युवरण गरेकाहरू पितृहरूले मोक्ष प्राप्त गर्ने र पुनः जन्म लिन नपर्ने भन्ने पौराणिक मान्यता (गरुडपुराण) रहेको छ।
गयामा सामान्यतः तीन ठाउँमा पिण्डदान गरिन्छ– १. फाल्गुनदी, २. विष्णुपद मन्दिर (गदाधर मन्दिर), र ३. अक्षयवत वृक्ष। यहाँ श्राद्ध गर्दा दक्षिणभिमुख गरेर बस्नु पर्दछ। गया केशरीइा पेडा र तिलकुट मिठाईको लागि प्रख्यात छ।
गयाको फागुनदीको किनारामा बसेर बितेर गएका आफ्ना पूर्वजहरूको सम्झनामा, कालगति, अकालगति, दुर्घटना वा आगोमा परेर, पानीमा डुबेर जे जस्तो कारणले पनि मृत्युवरण गर्न बाध्य भएका पूर्वजहरूको आत्माको चीरशान्तिका लागि र मोक्षको कामना गर्दै ब्राह्मणको सहायतामा विधिवत् रूपमा पितृहरूलाई पिण्डदान तथा तर्पण दिएर श्राद्धकर्म सम्पन्न गरियो।
बोधगया
गयामा आएर श्राद्धकर्म गरिसकेपछि नजिकै रहेको बोधगयाको दर्शन नगरी कसरी फर्कनु। बोधगया बौद्ध धर्मको चारधाममध्ये एउटा महत्वपूर्ण धाम हो। यहाँ भगवान् बुद्धले ज्ञान प्राप्त गरेका थिए। अरू तीन तीर्थस्थलहरू लुम्बिनी, सारनाथ र कुशीनगर हुन्। नेपालको लुम्बिनीमा बुद्ध जन्मिएका थिए भने सारनाथमा पहिलो प्रवचन र कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए।
बोधगयामा थाइल्यान्ड, जापान, चीन, श्रीलंकालगायतका मुलुकहरूले आआफ्नो विहार निर्माण गरेका रहेछन्। भव्य र आकर्षक रहेको छ बोधगया। लुम्बिनीभन्दा अझै व्यवस्थित, कलात्मक र सिर्जनशील तरिकाले निर्माण गरिएको छ। बोधगयाको भ्रमणले यात्रीहरूको चित्तमा शान्तिको र शीतलताको सञ्चार गर्ने रहेछ। त्यसको अनुभूति गरियो। केही घण्टा नभएर केही दिन लगाएर शान्त र स्थिर चित्तले भ्रमण गर्दा मात्र यो स्थलको भ्रमणको औचित्य पुष्टि हुने रहेछ। आनन्दानुभूति गरियो। चित्तशुद्धि भयो भएन एकिन भएन। मनमा एक किसिमको स्थिरता भने पैदा भयो।
पण्डाको मति उस्तै
भारत फेरिँदै छ, बदलिँदै छ। आधुनिकताको छनक देखिन्छ। धार्मिक कर्मकाण्डमा लागेका पाण्डाहरूको चेत, विचार र संस्कारमा परिवर्तन आएको छैन। चेतनाको अग्रज पथप्रदर्शक ब्राह्मणहरू हुनुपर्नेमा पुरेत्याइँ र पुरातन सोचको पाखण्ड पालेर समाजलाई अझै भ्रमित पार्ने दुस्प्रयासमा धार्मिक तीर्थहरूका पण्डामा प्रचुर देखिन्छ। शास्त्रको निहित उद्धेश्यलाई कर्मकाण्डको आवरणमा स्वार्थसाधनाको साधन बनाउँदा धर्मप्रतिको निष्ठामा असर गर्दछ।
बसेको होटेलमा नै बेलुका नेपाली पण्डा आइपुगे। होटलवालाले बोलाएको रहेछ। उनले भने, ‘हुनेले लाख दुई लाखको पनि श्राद्ध गर्दछन्, तपाईँका लागि एकाउन्न हजार लाग्छ।’ मैले भनेँ, ‘म आफ्नो क्षमताभन्दा बढीको श्राद्ध गर्न सक्दिनँ। ब्राह्मण हुँ, आफैँले तर्पण दिन्छु र पिण्ड चढाएर जान्छु।” ठिक छ त्यसो भए सकेको चढाएर जानुहोला ३/४ हजार उनले भने। नेपालमा श्राद्ध कर्म गर्दा ब्राह्मणलाई दिने बराबरको दक्षिण दिने गरी कुरा गरेर मिलाइयो।
बिहान आठ बजे घाटमा पुग्दा उनी सामूहिक श्राद्ध गरिरहेका थिए। सयौँ मानिसलाई लाइनमा लगाएर श्राद्ध हुने रहेछ। नेपालबाट र कुमाउँगढवालबाट धेरै मानिस जाने रहेछन्। लालमोहरिया पाण्डाले रजिस्टरमा नाम दर्ता गर्ने रहेछन्। बिहान कतिवटा श्राद्ध गर्न भ्याएका थिए कुन्नि हाम्रो श्राद्धस्थलमा आउँदा पाण्डाले ल्याएको दान रकम गन्न पन्ध्रबीस मिनेट लगाए। एक मुठो रकम सहायकलाई बैंकमा जम्मा गर्न पठाए हाम्रै अगाडि। अझै पेटारीमा एउटा नोटको पोको बाँकी थियो। प्राय: मानिसले दुईतीन सयदेखि चारपाँच हजारसम्म दिने रहेछतन्। पण्डाहरूको ध्यान श्राद्धमा भन्दा नोट गन्तीमा नै बढी गएको देख्दा पण्डाहरूको धार्मिक निष्ठा स्खलित हुँदै गएको देखेँ। यस किसिमको कार्यले धार्मिक विश्वासमा असर गर्दछ।