सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ : ब्यानरमा प्रधानमन्त्री ओली, सम्बोधन बालुवाटारबाटै

विनोद परियार ११ माघ २०८१ १९:५५
70
SHARES
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ : ब्यानरमा प्रधानमन्त्री ओली, सम्बोधन बालुवाटारबाटै

लुम्बिनी- सिद्धबाबा सुरुङमार्गलाई सरकारले समेत गौरवको आयोजनाका रूपमा लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक सुरुङयुगमा प्रवेश गरेको भन्दै पटकपटक भाषण पनि गर्ने गरेका थिए। त्यसैले सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ समारोह प्रधानमन्त्री ओलीको समेत प्राथमिकतामा थियो। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको पनि उस्तै जोडबल थियो।

पौडेलले रुपन्देही क्षेत्र न. २ (बुटवल) बाट प्रतिनिधिसभाको उम्मेदवार हुँदा पनि सिद्धबाबा सुरुङमार्ग मुख्य चुनावी एजेन्डामा थियो। यसकारण पनि अर्थमन्त्री पौडेल प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गराउन चाहन्थे। प्रधानमन्त्री ओलीकै कारण पटक-पटक समय सारिएको थियो।

सिद्धबाबा सुरुङमार्ग आयोजनाले सुरुमा पुस मसान्तमा ‘ब्रेक थ्रु’ को योजना बनाएको थियो। त्यसपछि माघ १ गते, त्यसमा पनि नमिलेपछि माघ ८ हुँदै प्रधानमन्त्री ओलीबाटै गराउने गरी माघ ११ गते शुक्रबार (आज) समय तय भएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रधानमन्त्रीकै उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु र बुटवल गोरुसिंगे सडक खण्ड स्तरोन्नति हुने गरी निमन्त्रणा गरेका थिए। त्यतिमात्रै होइन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ मूल समारोहको ब्यानरदेखि सुरुङमार्ग प्रवेशद्वार र निस्कनेद्वारमा पनि प्रधानमन्त्रीको तस्बिर सहितका ब्यानरहरू झुन्ड्याइएका थिए। ‘प्रधानमन्त्रीलाई ब्यानरमा मात्रै देखियो, सम्बोधन भिडियोमा देखियो,’ तिनाउ गाउँपालिकाका पूर्वजनप्रतिनिधि राजेश श्रेष्ठले भने।

प्रधानमन्त्री ओलीले तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको समेत उद्घाटन गर्ने भनेर गाउँगाउँबाट पालिकाको खर्चमा मानिसहरू ल्याएर जनता झुक्याउने काम भएको उनको आरोप छ। नेकपा माओवादी केन्द्र तिनाउ गाउँपालिकाका अध्यक्ष समेत रहेका श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यका कारण आउन नसक्ने जानकारी हुँदाहुँदै गलत प्रचार गरेर गाउँपालिकाले जनताले तिरेको करको दुरुपयोग गरेको बताए। ‘प्रधानमन्त्री आउने भनेर प्रचार गरियो, तुल ब्यानर बनाइयो, १ बजेसम्म जनतालाई झुक्याइयो,’ उनले भने। उनले प्रधानमन्त्री आउने भएकाले सुरक्षा व्यवस्था समेत कडाइ गरेर जनतालाई दुःख दिने काम भएको बताए।

‘सम्मानीय ज्यूबाटै ‘ब्रेक थ्रु’ गराउने गरी तयारी गरिएको हो, उहाँको भौतिक उपस्थिति नरहे पनि भर्चुअल माध्यमले ‘ब्रेक थ्रु’ गराइयो,’ सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर कृष्णराज अधिकारीले भने। प्रधानमन्त्री ओलीले शुक्रबार भर्चुअलबाटै तिनाउ गाउँपालिकाको पनि प्रशासकीय भवनको उद्घाटन गरी सम्बोधन गरेका थिए। प्रधानमन्त्री ओली आउने भएपछि एकै दिन पाल्पामा दुई र रुपन्देहीमा एक गरी तीन वटा कार्यक्रममा सरिक हुने गरी कार्यतालिका बनेको थियो।

प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री र मन्त्रीहरू आउने भएपछि रुपन्देही र पाल्पा जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको थियो। कतिपय ठाउँमा प्रधानमन्त्रीको विरोध हुन सक्ने भएको भन्दै प्रहरीले निगरानी समेत बढाएको थियो। तर प्रधानमन्त्री ओली नआउने अघिल्लो दिन नै निश्चित भएकाले कार्यक्रमका लागि भने भर्चुअल रूपमा सम्बोधन गर्ने गरी तयारी गरिसकेको थियो।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबाको एघार सय २६ मिटर सुरुङ खनेर बाँकी साढे १ मिटर भागलाई ब्लास्ट गरेर ब्रेक थ्रु गरिएको हो।

यसअघि नै तीन वटा बाइपास टनेल मुख्य टनेलसम्म जोडिएको छ। बाइपास (एक) १५१, (दुई) १६१ र (तीन) १३० मिटर टनेल रहेको छ। पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ। सुरुङमार्ग छिचोलिए पनि भित्रका कामहरू सम्पन्न गरेर गाडी चलाउन भने एक वर्ष लाग्ने प्रमुख अधिकारीले बताए।

अब मृत्यु मार्ग होइन जीवन मार्ग

प्रधानमन्त्री ओलीले बालुवाटारबाटै (भर्चुअल) तिनाउ गाउँपालिका दोभानमा आयोजित समारोहमा सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ घोषणा गरे। उनले सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रुले सुरुङयुगको सुरुवात भएको बताए।

उनले अब सिद्धबाबा जस्ता पहिरोबाट असुरक्षित भएका र छाटो दूरी बनाउन सम्भव हुने क्षेत्रमा सुरुङ बनाउने बताए। प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रको पहिरोबाट पीडित जनतालाई सिद्धबाबा सुरुङमार्ग निर्माणले सुरक्षित बनाएको बताए।

प्रधानमन्त्री ओलीले केही वर्षअघि बुटवल जाँदा कलाकारहरूले सिद्धबाबामा सुरुङमार्ग कहिले बन्छ भनेर प्रश्न गरेको स्मरण गर्दै विना अवरोध सुरुङमार्ग बनेको बताए। उनले बुटवलदेखि पाल्पा, स्याङ्जा, गुल्मी, कास्कीसम्मका जनताका लागि यो सडकले सहजता दिने बताए।

सुरुङमार्गको ब्रेक थ्रु समारोहलगतै बुटवल जीतगढीमा बुटवल गोरुसिंगे सडकखण्डको स्तरोन्नतिको शिलान्यास गरिएको थियो। उक्त समारोहलाई पनि प्रधानमन्त्री ओलीले भर्चुअल रूपमा सम्बोधन गर्दै वर्तमान सरकारले विकास निर्माणमा नयाँ मानक स्थापित गर्ने बताए।

कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंहले सिद्धबाबाको मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रु’ र बुटवल गोरुसिंगे सडकखण्डको स्तरोन्नतिले जनतालाई सहजता दिने बताए। उनले यातायात सुविधालाई सुरक्षित गर्न दुवै योजनाहरूले महत्त्वपूर्ण योगदान गर्ने बताए। जनताले अपनत्व नहुने हो भने विकास निर्माण दिगो हुन नसक्ने उनको भनाइ छ। उनले विकासका लागि राजनीतिक स्थायित्व जरुरी रहेको बताए।

यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबा क्षेत्रको पहिरोका कारण मृत्युमार्ग बनेकोमा अब सुरुङको ‘ब्रेक थ्रु’ले जीवनमार्ग बनाएको बताए। उनले सुरुङमार्ग बन्न सम्भव नै छैन भनेर प्रचार गर्ने गरिएकोमा सुरुङमार्गको सफल निर्माणले विकासमा नयाँ इतिहास बनाएको बताए। उनले सिद्धबाबा सुरुङमार्ग, बुटवल गोरुसिंगे सडकखण्डको स्तरोन्नति जस्ता विकास निर्माणले रुपन्देहीको मुहार फेर्ने दाबी गरे। उनले बुटवल–गोरुसिंगे सडकखण्ड बुटवल–नारायणगढ खण्डजस्तो नहुने समेत प्रतिबद्धता जनाए। ‘सुरुङमार्ग बन्छ, तिनाउ दानव करिडोर बनाउँछौं, बाटो बनाउँछौं,’ अर्थमन्त्री पौडेलले भने, ‘संसारका मानिसहरुले हेर्न आउने जिल्ला बनाउँछौं।’

ब्रेक थ्रु र सडक स्तरोन्नति कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, पाल्पा र रुपन्देहीका प्रतिनिधि तथा प्रदेश सांसद, चिनियाँ राजदूत चेन सोङ, स्विस राजदूत लगायतको उपस्थिति थियो। सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउनेछ। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पाेरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नति गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुने गरी निर्माण गर्ने जनाइएको छ।

प्रकाशित: ११ माघ २०८१ १९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast