![सुशासन कायम गर्न अध्यादेश ल्याएको मन्त्री गुरुङको दाबी](https://himalpress.com/wp-content/uploads/2024/11/prtithivisubba_gurung.jpg)
लमजुङ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको दावी गरेका छन्। आज मध्यनेपाल नगरपालिका–३ सोतीपसलस्थित मंगला माध्यमिक विद्यालयको हीरक जयन्ती कार्यक्रम उनले सुशासनबिना विकास नहुने भएकाले सरकारले अध्यादेशमार्फत १३ वटा कानुन संशोधन गरेको बताए। सरकारका प्रवक्तासमेत रहेका गुरुङले संविधान संशोधन राष्ट्रिय सहमतिमा मात्रै हुने बताए।
यद्यपि सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता भने परिवर्तन नहुने उल्लेख गरे। उनले राजनीतिक स्थिरता र संविधान रक्षाका लागि कांग्रेस र एमाले मिलेर वर्तमान सरकार बनेको बताए।
‘मुलुकलाई आवश्यक पर्दा जहिले पनि कांग्रेस र एमाले मिल्दै आएका छन्। अहिले पनि त्यही आवश्यकताका आधारमा मिलेका छन्’, उनले भने। उनले पञ्चायतकालदेखि गणतन्त्र स्थापनासम्म दुवै राजनीतिक दल मिलेको स्मरण गरे। साथै सहकारी ठगीविरुद्ध सरकार कडा तरिकाले प्रस्तुत भएको उनको भनाइ थियो।