युवा हुटहुटीको वेग किन सम्बोधन गर्दैनन् दलहरू?

26
SHARES
युवा हुटहुटीको वेग किन सम्बोधन गर्दैनन् दलहरू?

युवा भनेको जोसले भरिएको, चुनौती र संघर्ष स्वीकार्दै परिवर्तनका लागि हुटहुटी भएको समूह हो। युवा अवस्था शिक्षा, प्रशिक्षण, आत्मनिर्भरता र लक्ष्य निर्धारणको समय हो। त्यसैले युवा पुस्तालाई संवेदनशील र उत्पादनशील मानिन्छ। जसले देश विकास र समृद्धिका लागि ठूलो भूमिका खेल्दै आएका छन्। विकासोन्मुख देशमा युवाले आफ्नो क्षमता र जिम्मेवारी सही ढंगले प्रयोग गर्न सकेमा समग्र देशमै नयाँ परिवर्तन आउन सक्छ।

नेपालको आर्थिक र सामाजिक विकासमा युवाको भूमिका अतुलनीय रहँदै आएको छ। केही अपवाद छाडेर ग्रामीण क्षेत्रका युवाले कृषि, पशुपालन, पर्यटन र साना उद्योगमा सहभागिता जनाउँदै समृद्धिको यात्रामा लम्किरहेका छन्। कतिपयले काम र मामको खोजीमा आफ्नो थातथलो छाड्नुपरिरहेको यथार्थ छँदैछ। साथै उच्चशिक्षाका नाममा पलायन हुने युवा पनि बग्रेल्ती छन्। रोजगारीको अवसर नभएका कारण धेरै युवा विदेश जान बाध्य भएका हुन्। यसरी बिदेसिएका युवाले पठाएको रेमिट्यान्सबाटै देशको आर्थिक क्षेत्र सञ्चालन भइरहेको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिना (साउनदेखि मंसिर) मा ६ खर्ब ४० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। मंसिरमा एक खर्ब १८ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको देखिन्छ। पछिल्लो २४ महिनादेखि मासिक एक खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिरहेको राष्ट्र बैंकको तथ्यांक छ। यसमा तिनै युवाको योगदान रहँदै आएको घामजत्तिकै छर्लंग छ।

विगतमा देशको राजनीतिक परिवर्तनमा सक्रिय भूमिका खेल्दै आएका युवा पुस्ता यतिबेला अवसरको खोजीमा देशविदेश भौँतारिनु दुःखको कुरा हो। २००७ सालदेखि यताका हरेकजसो आन्दोलनमा युवाको अब्बल भूमिका रहँदै आएको छ। अग्रमोर्चामा युवा पुस्ता रहेकै कारण राजनीतिक परिवर्तन सम्भव भएको हो। राजनीतिक दलमा युवालाई प्राथमिकता दिने प्रतिबद्धता हुँदै आए पनि आफ्नै बलबुँताले संघर्ष गर्दै अगाडि बढेका युवाले मात्रै अवसर पाएको अवस्था छ।

वैदेशिक रोजगारीमा गएका युवा जसले देशमा आर्थिक योगदान दिइरहेका छन्। उनीहरूले फर्केर आएर पनि अवसर पाएमा यही माटोलाई थप सिञ्चित र हराभरा बनाउन सक्छन्। तर उच्च शिक्षा अध्ययनका लागि देश छाडेका युवा भने फर्कने आशा कमै हुन्छ। सरकार र राजनीतिक दलहरू यसमा गम्भीर हुनुपर्छ। देशमा शिक्षामा सुधार हुन नसकेको, स्वास्थ्य सेवा सुलभ नभएको, रोजगारीको अवसर सुनिश्चित नभएको जस्ता समस्या देखाएर युवा युरोप, अमेरिका, अस्ट्रेलिया पुगेका छन्। मान्छे सुविधा र अवसरका लागि एउटा भूगोलबाट अर्को भूगोलमा पुग्नु स्वाभाविक प्रक्रिया हो। गाउँ नै रित्तो हुने गरी मातृभूमिलाई छाडेर सधैँका लागि पलायन हुनुचाहिँ हितकर होइन।

युवा पुस्ता सकेसम्म आत्मनिर्भर बन्न चाहन्छ। सोहीअनुसार सीप र प्रविधिमा दक्षता हासिल गर्न चाहन्छन्। स्नातक पढ्दै गरेको एउटा युवा आफैँ कमाउँदै पढाइलाई पनि निरन्तरता दिने उद्देश्य राख्छ। हाम्रो शैक्षिक पद्धति भने त्यसअनुकूल छैन। पढ्दै कमाउने अवसर त छँदै छैन। अर्कोतिर उच्च शिक्षा पढेपछि जागिर पाइन्छ भन्ने ग्यारेन्टी चैन। पढ्दै कमाउँदै भन्ने कार्यक्रम ल्याइए पनि यसमा देशका सबै भूभागका युवा समेटिन सकेका छैनन्। शिक्षा पद्धति व्यावहारिक नभएको भनेर दलका नेताहरूले भाषण भनेको धेरै अघिदेखि हो। तिनै नेता सत्तामा पुगेपछि यस्ता सबै कुरा भुल्नुचाहिँ विडम्बना हो।

स्नातक उत्तीर्ण भइसकेको युवाले अब म यहीँ काम गरेर देशको सेवा गर्छु भन्ने अवस्था छैन। कतिपय किशोरहरू कक्षा १२ उत्तीर्ण हुनेबित्तिकै विदेश अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिन शिक्षा मन्त्रालय पुगिहाल्नुको कारण यो पनि हो। साउन १ देखि पुस १४ गतेसम्म ४६ हजार सात सय ८५ जनाले एनओसी लिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ शाखाको तथ्यांक छ।

यसो हुनुमा देश चलाउने पार्टीका नेताहरूमा रहँदै आएको व्यक्तिवादी सोच जिम्मेवार छ। साथै नीतिनियम कार्यान्वयन नगर्नु, राजनीतिक नेतृत्व भ्रष्टाचारमा डुब्नु र युवा लक्षित अवधारणा भाषणमा मात्र सीमित हुँदा युवा पुस्तामा निराशा बढेको छ। कर्मचारीतन्त्र पनि दोषी छँदैछ। सबै नीतिको माउ नीति राजनीति नै धमिलो भएपछि यस्तो हुने नै भयो।

सरकार र विभिन्न संघसंस्थाले युवालाई स्वरोजगारका अवसर र व्यावसायिक तालिम प्रदान गर्दै उनीहरूको क्षमता विकासमा जोड दिएका पनि छन्। युवालाई स्वरोजगार बनाउन सहुलियत दरमा कर्जा सुविधा र शैक्षिक प्रमाणपत्र देखाएर कर्जा सुविधा दिइने विषय बेलाबेलामा आउने गरेका छन्। यस्ता कुरा दलका व्यवहारमा भन्दा चुनावी नाराका रूपमा बढी प्रयोग गर्दै आएको पाइन्छ।

देशको भविष्य युवाको काँधमा छ। युवालाई भौतिक विकास, सामाजिक जिम्मेवारी र राष्ट्रिय उत्तरदायित्वको बोध गराउनुपर्छ। खाँचोचाहिँ युवालाई आवश्यक शिक्षा, अवसर र मार्गनिर्देशनको छ। नीति निर्माण तहमा युवा नेतृत्वलाई बढीभन्दा बढी सहभागी गराउनुपर्छ। हरेक ठाउँमा नयाँनयाँ सोच भएका युवालाई दिनुपर्छ। साथै युवाहरूलाई उद्यमशीलता र नवप्रवर्तनमा प्रोत्साहन नदिने हो भने कहिल्यै अघि बढ्ने सक्दैन। युवा नेतृत्वको विकासका लागि तालिम कार्यक्रम, सशक्तीकरण अभियान विस्तार गर्नुपर्छ। अनि मात्रै आर्थिक, सामाजिक, राजनीतिक संरचनामा परिवर्तन हुन सक्छ।

युवाहरूले पनि आफ्नो जिम्मेवारी र भूमिका बुझ्नु जरुरी छ। उच्च शिक्षा र रोजगारीमा मात्र प्रतिस्पर्धा नगरी समग्र राष्ट्रको उन्नति र समृद्धिका लागि जुट्नुपर्ने युवाको महत्त्वपूर्ण जिम्मेवारी हो। युवा वर्गले व्यक्तिगत हितको सीमाको घेरा फराकिलो पारेर समग्र राष्ट्रको विकासका लागि हिम्मत गर्नु जरुरी देखिन्छ।

राजनीतिमा महिला सहभागिताको अर्थ

प्रकाशित: ११ माघ २०८१ १८:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast