काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार ‘भर्चुअल’ रुपमा उद्घाटन गरेका छन्।
कार्यक्रमस्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गरेका हुन्।
उनले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रुपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गरे।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्नेगरी काम गर्न आग्रह गरे।
उनले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्नेगरी काम भइरहेको बताए।
खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे।
त्यस्तै उनले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको पनि ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका छन्।
नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन उनले आग्रह गरे।
प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताए।
सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न उनले आग्रह गरे। एमाले र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे।
केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।
‘भर्चुअल’रुपमा उद्घाटन गरिएको कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललगायत उपस्थित थिए।