काठमाडौँ- लामो समय विदेश बसेर स्वदेश फर्किएकी सुमना श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राजनीतिमा संलग्न भइन्। पार्टीले उनलाई जनजाति समूहको प्रतिनिधिका रूपमा सांसद बनायो। उनले केही समय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका रूपमा एक कार्यकाल पूरा गरिन्।
एक बौद्धिक सांसदको छवि बनाएकी सुमना संसद् र संसदीय समितिमा उठेका जुनसुकै विषयवस्तुमाथि गहकिला र तर्कसंगत कुरा राख्छिन्। राजनीतिक गतिविधिमा लाग्दैगर्दा उनलाई एउटा आरोप लाग्ने गरेको छ- ‘देश बुझेकी छैन।’ गत जेठमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै केही दिन नेपाल घुम्न आएकी व्यक्ति मन्त्री बनेको भनेर टिप्पणी गरेका थिए। ओलीले भनेका थिए, ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन्।’ ओलीको यस्तो अभिव्यक्तिलाई सुमनाले त्यतिबेलै प्रतिवाद गरेकी थिइन्।
उक्त आरोप चिर्न पनि सुमना यतिखेर ‘वीरगन्जदेखि काठमाडौँसम्म यात्रा’ मा छिन्। यसअघि सुमना कर्णाली प्रदेश र मधेश प्रदेशका केही जिल्लाका गाउँमा पुगेकी थिइन्। यात्रामा निस्कनु अघि उनले अनेक प्रश्न गरेकी छन्।
‘नागरिकको आवाज : सदनसम्म’ शीर्षकमा शिक्षा, राजनीति, भ्रष्टाचारका प्रश्नहरू छन्। ‘दलहरूको स्वार्थका लागि विद्यार्थीले आफ्नो सपना गुमाउनुपर्ने हो? नेताका निहित स्वार्थमा कहिलेसम्म हाम्रो बालबालिकाले आफ्नो अधिकार त्याग्नुपर्ने हो? कहिलेसम्म शिक्षा क्षेत्रलाई दलगत राजनीतिले ब्यारेक बनाएर राख्ने हो? केही सय कार्यकर्ताको लागि लाखौँ विद्यार्थीहरूले कहिलेसम्म त्याग गर्नुपर्ने हो? लाखौँ अभिभावकहरूको लगानी र भविष्यको आशामाथि कुठाराघात कहिलेसम्म? भ्रष्टाचारको अखडा बनेको शिक्षा क्षेत्रलाई दलीय हस्तक्षेप मुक्त कहिले बनाउने हो? होइन, कति पुस्ताले गुमाउनुपर्ने हो? के यो देश कहिले पनि नबनाउने हो? नेपाली मात्र भएर किन पुग्दैन नेपालमा? एउटा सामान्य काम गर्न पनि कुनै न कुनै दलको झण्डामुनि नै बस्न पर्ने किन? किन जहिले पनि एउटा ‘चिनेको मान्छे’ नभइ केही काम नबन्ने?’ सुमनाको प्रश्न छ।
आफ्नो यात्रामा शिक्षक, विद्यार्थी, अभिभावक, नागरिक समाज, युवा र मिडियासँग संवाद गर्दै यी प्रश्नहरूको जवाफ खोज्ने सुमनाले बताइन्। दलहरूले शिक्षा क्षेत्रमा गरिरहेको दलीय राजनीति विद्यार्थीको भविष्यमाथि गरेको खेलबाड भएको बताइन्। शिक्षाक्षेत्र बिग्रिनुमा मात्र होइन मिटर ब्याजपीडित, सहकारी बचतकर्ताको समस्या बढ्नु र भ्रष्टाचार नियन्त्रण नहुनु पनि दलीयकरणको परिणाम भएको उनको ठम्याइ छ।
उनले भनिन्, ‘आमसर्वसाधारण एकातर्फ सार्वजनिक शिक्षा धान्न सरकारलाई कर तिरिरहेका छन्। अर्कोतर्फ सार्वजनिक शिक्षा गुणस्तरीय र विश्वसनीय हुन सकेको छैन। शिक्षाजस्तो राष्ट्रनिर्माणको जग नै कमजोर भएपछि उत्पन्न निराशाले युवाहरू देश छोडिरहेका छन्। शिक्षाक्षेत्र एउटा प्रतिनिधिमूलक क्षेत्र मात्र हो। देश धान्ने मुख्य संस्थाहरूमा यो प्रवृत्ति सर्वत्र छ।’
बिहीबार सुरु भएको सुमनाको यात्राको मुख्य लक्ष्य गाउँबस्तीमा पुगेर नागरिकका आवाज संसद्मा ल्याएर सुनाउनु हो। यही माग १८ गतेदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ। १७ गते काठमाडौँ आइपुग्ने उनको योजना छ।
नागरिकका आवाज सुन्न गाउँगाउँ पुग्ने सबै खर्च उनको व्यक्तिगत हो। उनको सचिवालयले भन्यो, ‘गाउँगाउँसम्म पुगेर जनताका समस्या सुन्ने र त्यसलाई संसद्मा प्रस्तुत गर्ने उहाँकाे योजना छ। जोखिमयुक्त ठाउँबाहेक अरू सबैमा पैदल यात्रा गर्नुहुन्छ। नेपालबारे धेरै बुझ्नु भएको छैन भन्ने आरोप उहाँलाई लागेको छ। त्यसलाई चिर्न पनि यस्ता यात्रा उहाँले गर्दै आउनुभएको छ।’
यात्राका क्रममा पर्साको बहुदरमाई नगरपालिकाभित्र दुई समस्या देखिएको उनले बताइन्। उनले भनिन्, ‘वीरगन्ज-बहुदरमाई नगरपालिका जोड्ने पुल भाँचिएर समस्या छ। १५ लाख रुपैयाँमा पुननिर्माण हुने पुल त्यत्तिकै छाडेर खोलाको बाटो डाइर्भसन बनाइएको छ। बर्खायाममा त्यो जान्छ। हामी स्वास्थ्य चौकी पनि गयौं। आकस्मिक बिरामी हुँदा त्यही पुल प्रयोग गरेर जाने हो। त्यो गएपछि १० किमि घुम्नुपर्छ भनेर यहाँको स्थानीयले भन्नुभएको छ।’
विद्यालयमा राजनीतिले तालाबन्दी गरिएको पाइएको उनले बताइन्। सात महिनादेखि, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीले तलब पाउनुभएको रहेनछ। जनप्रतिनिधि र कर्मचारी मिलेर काम गर्नुपर्नेमा त्यसो भएको छैन। स्वास्य संस्थामा औषधी छैन। संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिले जनताका समस्या बुझ्न जरुरी छ’, उनले भनिन्।