लुम्बिनी- बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायीहरूले आज बहस गर्दैछन्। बिहीबार सरकारी वकिलहरूले सुप्रिम सहकारीबाट लामिछोनेले रकम अपचलन गरेको जिकिरसहित बहसमा भाग लिएका थिए।
सहकारी पीडितका तर्फबाट दिनेश त्रिपाठी र प्रतिवादीका तर्फबाट एकजना कानुन व्यवसायीले बहसमा भाग लिए। जिल्ला न्यायधि प्रल्हादकुमार योगीको इजलासमा भएको बहसमा सुरुमै सहकारी ठगी जस्तो गम्भीर मुद्दाको प्रतिवादी लामिछानेलाई जिम्मा जमानीमा छाडेको भन्दै सरकारी वकिलहरूले आपत्ति जनाएका थिए। तर, बिहीबारको बहसपछि पनि न्यायाधीश योगीले परिवार र कानुन व्यवसायीहरूको जिम्मा जमानीमा छाडे।
सरकारी वकिल कार्यालयका महान्याधिवक्ता प्रेमराज पौडेलले प्रतिवादीलाई हिरासतमै राखेर थुनछेक बहस गराउनुपर्नेमा त्यसो नहुनुपर्ने बताए। उनका अनुसार सरकारी वकिल कार्यालयका तर्फबाट सहकारीको ठगीमा लामिछानेको संलग्नता देखिने गरी आधार र प्रमाण पेस गरिएको छ।
‘सहकारीको रकमबाट गोरखा मिडिया नेटवर्क नाम संस्थामा पैसा खायो, त्यहाँबाट राजनीतिकरण हुँदै अपराधिकरण गरियो’ सरकारी वकिलहरूले बहसमा भनेका छन्। यता सरकारी वकिलहरूको बहसपछि त्यसलाई प्रतिवाद गर्ने गरी लामिछानेका कानुन व्यवसायीहरूले तयारी गरेका छन्। आज जाहेरवालाका तर्फबाट एकजना र सहकारी पीडितकातर्फबाट एकजना गरी दुईजना कानुन व्यवसायीको बहसपछि प्रतिवादीको बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। उनका अनुसार विहान साँढे १० बजेपछि बहसको प्रक्रिया सुरु हुनेछ।
सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सह न्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेल लगायतले बहस गरेका थिए।
लामिछानेकातर्फ वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल, नारायण घिमिरे, सुशील पन्त सहितका कानुन व्यवसायीले पनि बहस गर्नेछन्। लामिछानेका तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरू २१ जना रहेपनि छोट्याएर बहसलाई सकभर आजै टुंग्याउने पक्षमा रहेको रास्वपाका नेता यमलाल भट्टराईले जानकारी दिए।
प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। लामिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो।
दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ। पूरक अभियोगपत्रमा जीवी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ।