
काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भूभागमा मौसम सफा रहने जनाएको छ। महाशाखाको भनाइमा बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ।
बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले तराईलगायतका भूभागमा कुहिरो तथा हुस्सु कम हुने सम्भावना न्यून रहेको बताइन्। ‘तराईमा लगातार ३ दिनदेखि हुस्सु तथा कुहिरो लागेको छ। अपराह्नमा हल्का कम त भएको छ तर अझै खुलेको छैन,’ उनले भनिन्।
हुस्सुले हवाई उडानमा असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। महाशाखाले दिउँसो कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ।