काठमाडौँ- द्वन्द्वकालका बेला माओवादीमा प्रयोग भइरहने शब्द हो हेडक्वार्टर। हेडक्वार्टरको आदेश, हेडक्वार्टरको ‘ग्रिन सिग्नल’ वा हेडक्वार्टरको आधिकारिक धारणा चलनचल्तीमा थियो। हेडक्वार्टरसँग माओवादी नेताहरूको सम्बन्ध बिग्रिएको वा नजिक बनेको हल्ला चल्थ्यो। यो शब्द केही समयदेखि प्रयोग हुन छाडेको थियो। अखिल क्रान्तिकारीका नेताहरूले शब्द फेरि चलनचल्तीमा ल्याएका छन्। क्रान्तिकारीको अध्यक्ष बन्ने एउटा मुद्दा बनेको छ, हेडक्वार्टर। संगठनको नयाँ नेतृत्वका लागि १२ गते निर्वाचन हुँदैछ। निर्वाचनमा अध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा उम्मेदवारले प्रयोग ‘गुटहरूको बन्दीकरण, हेटक्वार्टरमा केन्द्रीकरण’ भन्ने नारा तय गरेका छन्। सबै विद्यार्थी हेडक्वार्टरको बन्ने प्रतिस्पर्धा चलिरहेको छ। आखिर के हो, हेडक्वार्टर? पत्रकार उजिर मगरका अनुसार हेडक्वार्टर भनेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन्।
मगरले भने, ‘द्वन्द्वकालमा प्रचण्ड बस्ने स्थानलाई हेडक्वार्टर भनिन्थ्यो। चीनमा माओत्सेङले प्रयोग गर्ने यो शब्द माओवादी राजनीतिमा घुसेको हो।’ भूमिगत राजनीतिमा प्रचण्डको लाइन आधिकारिक लाइन थियो। जुन हेडक्वार्टर नामले चिनिन्थ्यो।
विद्यार्थीले आफूलाई हेडक्वार्टरको उम्मेदवार दाबी गरिरहेका छन्। के ती प्रचण्डका उम्मेदवार हुन्? सैद्धान्तिक रूपमा हुन्। प्रचण्ड माओवादीका अध्यक्ष हुन् भने र क्रान्तिकारी माओवादीको भ्रातृ संगठन हो।
विद्यार्थी उम्मेदवारहरू हेडक्वार्टरको हवाला दिँदै प्रचण्डकै सिग्नल भएको बताइरहेका छन्। उनीहरू प्रचण्डसँग खिचेको तस्बिरमा मत मागिरहेका छन्। ‘मलाई सबै माओवादी नेताको समर्थन छ। प्रचण्डले नि उठ्नु भनेको हो,’ उपाध्यक्षका दाबेदार एक विद्यार्थी भन्छन्।
यथार्थ फरक छ। ती उम्मेदवार प्रचण्डको ‘ग्रिन सिग्नल’ ले चलेका होइनन्। ‘प्रचण्डको समर्थन भनेका छन्। यो सैद्धान्तिक तरिकाले ठिक हो तर नकारात्मक असर परेको देखिँदै आएको छ,’ क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङ भन्छन्, ‘उम्मेदवारहरूले प्रचण्डले आफैँलाई उठाएको भनेर भनिरहेका छन्। जुन गलत हो।’ नेता तामाङ अहिलेसम्म प्रचण्डले कसैलाई सिग्नल नदिएको बताउँछन्।
हेडक्वार्टर शब्द प्रयोग हुनु वा प्रचण्डको तस्बिर हाल्नुको पनि क्रान्तिकारीमा आफ्नै कारण छ। क्रान्तिकारीभित्र नेतानेताका गुटउपगुट छन्। कोही उपमहासचिव जनार्दन शर्मा निकट त कोही वर्षमान पुन निकट, कोही शक्ति बस्नेत, त कोही पम्फा भुसाल गुटका।
यी सबै नेताभन्दा माथि पर्न चाहन्छन् उम्मेदवार। त्यसैले उनीहरू प्रचण्डको नाम लिँदै चुनावी अभियानमा सक्रिय भएका हुन्। ‘कतिपय त अहिले पनि जनार्दन-वर्षमान गुट अनुसार चलेका छन्। पुराना गुट भत्किने क्रम पनि चलिरहेको छ’, क्रान्तिकारीका पूर्व उपाध्यक्ष केशव रावल भन्छन्, ‘तर उनीहरू ती नेता विशेषको मात्र बन्न चाहँदैनन्। अनि प्रचण्डकै भनिरहेका छन्।’
को हुन् त प्रचण्डका उम्मेदवार?
नेताहरूका अनुसार सर्वसम्मत गर्न अनुरोध गर्दा समेत पछि नहटेकाले ६ जनाकै उम्मेदवारी परेको हो। ‘कतै मिलाउने प्रयास भइरहेको होला तर सम्भव छ जस्तो लाग्दैन,’ तामाङ भन्छन्,‘ किनभने यसअघि प्रयास असफल भएको हो।’
हुन त क्रान्तिकारीको सम्मेलन गएको असोजमै तोकिएको थियो। किचलो र नेताको दबाबले सम्मेलनले पदाधिकारी चुन्नै सकेन। यसपछि उमेर हद राख्ने-नराख्नेमा विवाद भयो। गत पुस १२ मा उमेर हदका विषयमा निर्वाचन भएको थियो। जहाँ उमेर हद ३२ वर्ष राख्ने पक्षमा मत बढी आयो। अहिले क्रान्तिकारीमा उम्मेदवारी दिएका सबै ३२ वर्षमुनिका हुन्।
अध्यक्षको प्रतिस्पर्धामा उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापा छन्। यसअघि उम्मेदवारी दिनुपूर्व प्रचण्डले विद्यार्थी नेताहरूसँग छलफल गरेका थिए। गुट नबनाई प्रतिस्पर्धामा जान प्रचण्डको निर्देशन थियो। अहिले पनि क्रान्तिकारीमा गुट छ। जनार्दन गुट, वर्षमान गुट, देवेन्द्र पौडेल गुट वा पम्फा भुसाल गुट सक्रिय रहेको दाबी विद्यार्थी नेताहरूको छ।
हालसम्म छ उम्मेदवार कुनै न कुनै नेतासँग जोडिएको देखिन्छ। संगठनका पूर्वउपाध्यक्ष रावल विजयप्रकाश सापकोटा प्रचण्डका पनि उम्मेदवार भएको दाबी गर्छन्। ‘सापकोटा मसहित संगठनका पूर्वअध्यक्ष पञ्चासिंह र पूर्वउपाध्यक्षहरूकै उम्मेदवार हुन्,’ रावलको दाबी छ। यी हुन् अध्यक्षका उम्मेदवार :
उपदेश यादव
संगठनका पूर्वसचिव उपदेश यादव अध्यक्षका उम्मेदवार बनेका छन्। मनोनयन भएमध्ये पहिलो नम्बरमा उनको नाम दर्ता भएको छ। यादव अध्यक्ष बनेमा मधेशी समुदायबाट पहिलो अध्यक्ष बन्ने छन्।
यादव कुनै बेला पूर्वउपाध्यक्ष पवन कार्कीको समूहमा रहेर समानान्तर गठनमा पनि उनी थिए। माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिएका उनलाई माओवादीका अन्य पदाधिकारीको समेत समर्थन रहेको नेताहरू सुनाउँछन्।
यसअघि प्रचण्डले उनीसँग भेटेर कुरा गरेका थिए। ‘मधेशबाट प्रतिनिधित्व गर्ने भएपछि उपदेशसँग कुरा भएको रहेछ,’ उनीनिकट एक विद्यार्थी नेता भन्छन्, ‘मधेशबाट प्रतिनिधित्व हुन्छ भने म सकारात्मक छु भन्नुभएको छ रे।’ यादव अहिले नारायणकाजीको भन्दा प्रचण्डकै तस्बिरमा प्रचार गरिरहेका छन्।
हेमन्त राई
पूर्वबाट प्रतिनिधित्व गर्ने भोजपुरका विद्यार्थी नेता हेमन्त राईले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी माओवादी नेता सुदन राई निकटस्थ भए पनि उपमहासचिव जनार्दन शर्माको समर्थन रहेको छ।
जनार्दनले अध्यक्षमा हेमन्तसहित सबै पदाधिकारीको प्यानल घोषणा गरेका छन्। जनार्दनतर्फबाट खुला उपाध्यक्षतर्फ सपिम खरेल, भीष्म चौलागाईं, देवेन्द्र शर्मा र सञ्जय महतोको उम्मेदवार बनेका छन्। समावेशी उपाध्यक्ष पदमा ममता अधिकारी, सन्दीप पुन, शिवम साहू, प्रमेश कँडेल, कृष्ण सुनारले उम्मेदवारी दिएका छन्।
सोही प्यानलबाट उपमहासचिवमा रविन खम्बू, निर्मला गौतम, भगवान बाँस्तोला, रेशम अधिकारी, प्रेमराज शर्मा, कुन्दन महतो, भुवन सिंह विष्टलगायत उम्मेदवार छन्। यता हेमन्त आफूहरू जनार्दनको मात्र नभई ‘हेडक्वार्टर’कै समर्थन रहेको दाबी गर्दै आएका छन्। माओवादीका एक नेताअनुसार व्यक्तिगतरूपमा लडे सबैभन्दा बलिया उम्मेदवार हेमन्त हुन्। तर, ६ जना उम्मेदवार हुँदा उनमा कोशीबाहेक अन्य प्रदेशबाट मत कम आउने सम्भावना छ।
विजयप्रकाश सापकोटा
क्रान्तिकारीका अध्यक्षका अर्का उम्मेदवार हुन्, विजयप्रकाश सापकोटा। उनी माओवादी उपमहासचिव शक्ति बस्नेत निकटस्थ मानिन्छन्। कुनै बेला वर्षमान निकट सापकोटा पछिल्लो समय शक्ति बस्नेत निकटस्थ नेता तिलकराज भण्डारीमार्फत अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
‘तिलकले भनेको मान्ने मान्छे विजय हो। जो केही समययता शक्ति बस्नेत निकट छन्।’ क्रान्तिकारीका एक नेता बताउँछन्। यिनै विजयलाई प्रचण्डसमेतको समर्थन रहेको विद्यार्थी नेताहरू सुनाउँछन्।
‘उहाँ प्रचण्डको मात्र होइन। पूर्वउपाध्यक्ष मदन भुल, प्रविना अधिकारी, तुकमान महरा, पञ्चा सिंह, नारायण खनाल, अच्युत भट्ट र म (केशव रावल) को पनि उम्मेदवार हो।’ रावल भन्छन्,‘अब पहिलेजस्तो गुट छैन। सबै अदलबदल भएको छ।’
सुदिन पौडेल
अध्यक्षका उम्मेदवार पौडेल वर्षमान पुन निकट नेता हुन्। उनलाई जिताउन पुन अहिले सक्रियता जनाइरहेका छन्। पूर्वअध्यक्ष तामाङ पनि सुदिनका पक्षमा खुलेको विद्यार्थीको दाबी छ। तामाङ भने मान्न तयार छैनन्। सुदिनलाई जिताउन एउटा टिम नै लागेको विद्यार्थी नेताहरूको भनाइ छ। उनी क्रान्तिकारीका गण्डकी अध्यक्ष हुन्।
योगेन्द्र बुढा र विश्वमणि थापा
योगेन्द्र बुढा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा निकट मानिन्छन् भने विश्वमणि थापा पम्फा भुसाल समूहका नेता मानिन्छन्। महराले अहिले योगेन्द्रलाई उठाएका छन्। उनको दबदबा कर्णाली प्रदेशमा बढी देखिन्छ।
कुनै बेला माओवादीबाट बाहिरिएको पम्फा भुसाल समूहबाट थापाले उम्मेदवारी दिएका छन्। विद्यार्थी नेताहरूका अनुसार बुढा र थापाको पक्षमा हालसम्म माओवादी नेताहरू खुलेका छन्। ‘उम्मेदवारी परेको छ तत माहोल खास देखिँदैन,’ एक विद्यार्थी नेता भन्छन्, ‘यी पात्रहरूको पकड आफ्नै प्रदेशमा राम्रो छ।’
गुटै तितरबितर
कुनै बेला क्रान्तिकारीमा वर्षमान-जनार्दन खेमा बलियो मानिन्थ्यो। विगतमा पनि उनीहरूकै समूहबाट अध्यक्ष जित्थे। यसपटक उनीहरू समूह तितरबितर भएको छ। विगतमा जनार्दन निकट मानिएकी पञ्चा सिंह अहिले शक्तिनिकट मानिने विजयप्रकाशको समर्थनमा छिन्। विद्यार्थी नेताहरूका अनुसार जनार्दन निकट मानिने हेमन्तलाई पञ्चाको समर्थन छैन।
वर्षमान निकट मानिएका तुकमान महरा, प्रविना अधिकारी, डा. अञ्च्त भट्ट पनि विजयकै पक्षमा खुलेका छन्। यसकारण माओवादी नेताका गुट परिवर्तन भइरहेको देखिन्छ। विद्यार्थी नेताहरू पार्टीको ठ्याक्कै प्रभाव विद्यार्थीमा कम पर्ने बताइरहेका छन्।
‘हाम्रो सम्बन्धको कुरा पनि हुन्छ। ठ्याक्कै केन्द्रीय नेताको पक्षधरता नहुने रहेछ,’ एक विद्यार्थी नेता भन्छन्, ‘विगतमा काम गरेकै भरमा यसको पक्षधर भनेर पनि भएन। पार्टीभित्र फरक पात्रलाई समर्थन गर्न पनि सकिन्छ।’