वृहत् पश्मिना प्रदर्शनी

‘सरकारले स्थानीय उत्पादनलाई बजारीकरणमा बेवास्ता गर्‍यो’

रमेश भारती १० माघ २०८१ १५:४१
88
SHARES
‘सरकारले स्थानीय उत्पादनलाई बजारीकरणमा बेवास्ता गर्‍यो’

काठमाडौँ– स्वदेशी उत्पादन तथा सेवाहरुको प्रवद्र्धन र व्यापार गर्ने उद्देश्यले वृहत् पश्मिना इन्टरनेशनल प्रदर्शनी काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।

माघ १० गतेदेखि १२ गतेसम्म चल्ने प्रदर्शनी मेलामा एक सयजति स्वदेशी उत्पादनका स्टलहरु राखिएको नेपाल पश्मिना उद्योग संघले जनाएको छ।

प्रदर्शनीको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पश्मिना उद्योगको उत्पादन र निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न जानकारी दिए।

उनले नेपालको पहिचान बोकेको पश्मिना कपडा र यसका परिकारलाई विदेशी बजारमा व्यापारका लागि सरकारले सक्दो प्रयास गर्ने बताए।

‘नेपालबाट निर्यात हुने महत्वपूर्ण उत्पादनमध्ये च्याङ्ग्राको भुवाबाट बन्ने पश्मिना कपडा हो। यस क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण र अन्य क्षमता विकासका कार्यमा सहयोग गर्न सरकार तयार छ,’ उनले भने।

मन्त्री भण्डारीले पश्मिना उत्पादनलाई बजारीकरणका लागि सहयोग गर्ने घोषणा गरिरहँदा उद्योगीले भने सरकारले उत्पादन र बजारीकरणका लागि बेवास्ता गरेको आरोप लगाएका छन्।

मेलामा सहभागी निटेट ट्रेडिसनल प्रालिका सञ्चालक बसन्त बहादुर महर्जनले ३० वर्षदेखि पश्मिना कपडा उत्पादन गरी नेपालसहित २२ भन्दा बढी देशमा निर्यात गर्दै आएका छन्। सरकारको सहयोगविना उनले वार्षिक ४–५ करोड रुपैयाँ भन्दा बढीको पश्मिना कपडा उत्पादन गर्छन्।

आफ्नो तरिकाले व्यवसायअघि बढाए पनि सरकारले सहयोग नगरेको उनको गुनासो छ। ‘राजनीतिक दल सत्तामा पुगेपछि आफनो स्वार्थ राख्छन्। त्यही स्वार्थका कारण राम्रो उत्पादन गरिरहेका उद्योगी ओझेलमा परेका छन्,’ उनले भने।

सरकारले सहुलियत दरमा बैंकबाट व्याज दिने भने पनि आफूहरू जस्ता उद्योगीले नपाएको उनको भनाइ छ। उनले आफ्नो उद्योगमा १२ प्रकारका कपडा उत्पादन गर्दै आएका छन् भने पाँच जनालाई रोजगारी पनि दिएका छन्।

महर्जन जस्तै, बच्चा–बच्चीका कपडा उत्पादन गर्दै आएकी महिला उद्यामी सुप्रभा श्रेष्ठ पनि सरकारले स्वदेशी उत्पादनलाई बजारीकरणका लागि सहयोग नगरेको आरोप लगाउँछिन्। उनले बच्चा–बच्चीका कपडा उत्पादन गरी बजारमा व्यापार गर्दै आएकी छिन्।

सरकारले उद्योग चलाउन व्यवसायीलाई बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताउँदै उनले अहिलेसम्म केही सहयोग नगरेको बताइन्।

‘मासिक ३–५ लाखको व्यापार हुन्छ। दैनिक बच्चा–बच्चीका लागि १०–१२ प्रकारका कपडा उत्पादन गर्दै आएको छु। अहिले मेरो बजार काठमाडौँ उपत्यका मात्र हो। सरकारको तर्फबाट कुनै सहयोग पाएको छैन,’ उनले भनिन्।

श्रेष्ठले अहिलेसम्म विदेशी बजारमा व्यापार गर्न सकेका छैनन्। विस्तारै विदेशी बजारमा आफनो उत्पादन विस्तार गर्ने लक्ष्य रहेको उनले बताइन्। उनले पनि आफ्नो उद्योगमा तीन जनालाई रोजगारी दिएकी छिन्।

श्रेष्ठ र महर्जनजस्तै प्रदर्शनी मेलामा भेटिएका उद्यमी घरको बजार व्यवस्थापक सुमन न्यौपाने पनि सरकारले स्वदेशीभन्दा विदेशी उत्पादन भित्र्याउनमात्र जोड गरिरहेको आरोप लगाउँछन्।

नेपालमा उत्पादन भएका कपडा खोज्न विदेशी व्यापारी नेपाल आउने गरेको बताउँदै उनले नेपालमा भने सरकारी तहबाट स्थानीय उत्पादनलाई हेला भइरहेको बताए।

‘सरकारले आफ्नो उत्पादन अनिवार्य प्रयोग गर्नुपर्ने नियम बनाउनुपर्ने हो। योसँग नेपाली उत्पादनलाई विदेशी बजारमा पुर्‍याउन सहयोग गर्नुपर्ने हो। तर त्यस्तो काम भएको छैन,’ उनले भने।

सरकारले उद्योगीसँग कर मात्र लिने गरेको बताउँदै उनले उत्पादनलाई बजारीकरण गर्न सहयोग नगरेको जिकिर गरे।

उद्यमी घरले दुई सयभन्दा बढी विभिन्न परिकारका सामान उत्पादन गर्दै आएको छ। उद्यमी घरको दैनिक ६० हजारभन्दा बढी व्यापार हुने गरेको छ। यहाँ उत्पादन भएका सामाग्री भारत, चीन, अमेरिका, क्यानडा र युरोपका देशमा पुग्ने गरेको न्याउपानेले जानकारी दिए। उद्यमी घरमा २५ जनाभन्दा बढीले रोजगारी पाएका छन्।

नेपालबाट वार्षिक साढे पाँच अर्बभन्दा बढीको पश्मिनाका सामाग्री निर्यात भइरहेको नेपाल पश्मिना उद्योग संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए।

पश्मिना मेला नेपालमा पहिलो पटक आयोजना भएको र ७० हजार भन्दा बढीले अवलोकन गर्ने उनको अनुमान छ। ‘मेलामा च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारसहित ५० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका उत्पादन राखिएका छन्,’ उनले भने।

पश्मिनाको स्वदेशी बजार र उत्पादन राम्रै भए पनि विदेशी बजारीकरणको अभाव छ। यसमा सरकारले सहयोग गर्नुपर्ने उनको माग छ। मुस्ताङबाट च्याङ्ग्रा ल्याएर फार्म टू फाइबर, फाइबर टू फेसन देखाउने उनको चाहना छ।

प्रकाशित: १० माघ २०८१ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast