कठ्यांग्रियो मधेश, तात्यो पहाड

हिमाल प्रेस १० माघ २०८१ १३:३०
74
SHARES
कठ्यांग्रियो मधेश, तात्यो पहाड

काठमाडौँ- पछिल्लो केही दिनयता काठमाडौँसहित पहाडी भेग तातो महसुस हुन थालेको छ। यसैगरी मधेशमा भने कठ्यांग्रिदो जाडोबाट जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यून चापीय प्रणाली नेपाल भित्रन नसक्दा पहाडी भूभागमा गर्मी बढेको मौसमविद्हरूले बताएका छन्।

निरन्तर हुस्सु र कुहिरो लागेकाले कोशी प्रदेशका तराई क्षेत्र, मधेश प्रदेशका सबै जिल्ला, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका तराई क्षत्रको जनजीवन प्रभावित भएको छ। यसैगरी भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, नेपालगन्ज, धनगढीमा हवाई उडान हुन सकेको छैन।

पर्साको वीरगन्जमा चिसो बढेपछि महानगरपालिकाले ठाउँठाउँमा प्रभावितलाई लक्षित गर्दै आगो बाल्न दाउरा उपलब्ध गराएको छ। नारायणी अस्पताल, घण्टाघर चोक, माइस्थान, मालपोत चोक, श्रीराम हल चोक, महावीर मन्दिर चोक, ईदगाह चोक, छपकैया मस्जिदअगाडि, छपकैया कालीमन्दिर अगाडि, नयाँ बसपार्क चोक, मुर्लि मस्जिद, मुर्लि नयाँ टोला मस्जिद चोक, मुर्लि नयाँ टोला शिव मन्दिर नीर, नगवा चोक, पुरानो बसपार्कमा, बहिपुल चोक, प्रतिमा चोक, स्विमिङ पुल चोक, राधेराधे अपार्टमेन्ट चोक, पावरहाउस चोक गरी २४ ठाउँहरूमा दाउरा राखिएको महानगरपालिकाले जनाएको छ।

सप्तरीको राजविराज नगरपालिकाले बढ्दै गइरहेको शीतलहरका कारण दुई दिन विद्यालय बन्द गरेको छ।

मौसम विज्ञान विभागले बुधबार काठमाडौँको अधिकतम तापक्रम २४‍.६ डिग्री सेल्सियस पुगेको जनाएको थियो। बिहीबार १२ बजेसम्म काठमाडौँको तामक्रम २० डिग्री, वीरगन्जको तापक्रम १७ डिग्री, जनकपुरको तापक्रम १९ डिग्री, राजविराजको १९ डिग्री सेल्सियस रेकर्ड गरिएको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्जनले उच्च चापीय प्रणाली बलियो भएको र पूर्ण रूपमा न्यून चापीय प्रणालीले असर गर्न नसक्दा देशका भूभागमा गर्मी र जाडो कायम रहेको जानकारी दिइन्।

उनले हिमालप्रेससँग भनिन्, ‘नेपालमा पश्चिमी न्यून चापीय प्रणाली भित्रन सकेको छैन। उच्चचापीय प्रणाली बलियो छ। त्यसले गर्दा बादल लाग्न दिँदैन र पानी पर्दैन। घाम लागेपछि तापक्रम वृद्धि भएको देखिन्छ।’ महर्जनले माघ लागेपछि तापक्रम वृद्धि हुने समय भएको बताइन्। उनले भनिन्, ‘हामी दिउँदे मौसममा छौँ। अहिले नेपालमा तापक्रम वृद्धि हुने समय हो।’

त्यसैगरी उनले तराईलगायतका भूभागमा कुहिरो तथा हुस्सु कम हुने सम्भावना न्यून रहेको बताइन्। ‘तराईमा लगातार ३ दिनदेखि हुस्सु तथा कुहिरो लागेको छ। अपराह्नमा हल्का कम त भएको छ तर अझै खुलेको छैन। जस्तै- बिहीबार सुदूरपश्चिममा बादल लागेको छ। रातिसम्म पनि बादल लाग्यो भने भोलि सुदूरपश्चिममा हुस्सु कुहिरोको सम्भावना कम हुनसक्छ। बाँकी भू-भागमा कम हुने सम्भावना न्यून छ।’

भारतमा उच्च चापीय प्रणाली रहेको , त्यसको पनि असरले तापक्रम बढेको  मौसमविद्ले बताएका छन्। न्यून चापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्च चापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ।

न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ। यसपालि काठमाडौँको तापक्रम दुई डिग्रीसम्म झरेको थियो। सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ। न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ।

प्रकाशित: १० माघ २०८१ १३:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast