लुम्बिनी- सहकारी ठगी प्रकरणमा मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सुरु भएको छ। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा आरोप लागेका पूर्वगृहमन्त्री लामिछानेको थुनछेक बहस बिहीबार बिहान साढे ११ बजे सुरु भएको हो।
बुधबार बयानमात्रै सकिएर थुनछेक बहस नभएपछि लामिछोनलाई श्रीमती निकिता पौडेल र वकिलको जिम्मा जमानीमा छाडिएको थियो। लामिछाने बिहान १०:२३ बजे जिल्ला अदालत रूपन्देहीमा हाजिर भएका थिए। जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा बहस सुरु भएको जिल्ला अदालत रूपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ। बहसका लागि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी रहेका छन्। यसैगरी सरकारी वकिलका तर्फबाट उच्च सरकारी वकिलको कार्यालय बुटवलका प्रमुख सहन्यायाधिवक्ता सोमकान्ता भण्डारी, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेल, न्यायाधिवक्ता उमाकुमारी केसी, गोकर्णराज घिमिरे, वसन्तराज पोखरेललगायत बहसमा सहभागी छन्। अदालत परिसरमा रास्वपाका कार्यकर्ता आदेशको पर्खाइमा भेला भएका छन्।
प्रहरीले सुप्रिम सहकारी रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख ३ मा लामिछाने, जोशीबाहेकका २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। मिछानेसहितका १४ जनाविरुद्ध गत असोज ५ मा पूरक जाहेरी परेपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सकेर दर्जन बढी तथ्य र प्रमाणसहित पूरक अभियोग दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादीलाई पनि कसुर र बिगो थपेर प्रतिवादी बनाइएको छ।
पूरक अभियोग पत्रमा जीबी राई, लामिछाने र जोशीका साथै कुमार रम्तेल, शिवबहादुर गुरुङ, लक्ष्मीप्रसाद पौडेल, दीपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जनलाई प्रतिवादी बनाइएको छ।
लामिछानेविरुद्ध व्यक्तिगत रूपमा दुई करोड र सामूहिक रूपमा दुई करोड गरी चार करोड रुपैयाँ बिगो दाबी गरिएको छ। दुई करोड रुपैयाँको ऋण लामिछानेको नाममा भएको एक भौचरबाट पनि पुष्टि भएको थियो। यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र चार लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकमार्फत जम्मा भएको थियो।