काठमाडौँ- यही शुक्रबार अर्थात् माघ ११ देखि प्रदर्शन हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को बुधबार बेलुका ललितपुरको लबिम मलमा प्रिमियर सो गरिएको छ। प्रिमियरपछि अधिकांशले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष र प्राविधिक पक्ष बलियो बनेको प्रतिक्रिया दिएका छन्।
फिल्म हेर्न मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत कलाकार पुगेका थिए।
अभिनेत्री प्रियंका कार्कीले आफूले हेरिरहेको मूलधारका फिल्मभन्दा फरक रहेको बताइन्। दीपेन्द्र गौचनको फिल्म हेर्ने इच्छा पूरा भएको बताउँदै निर्देशक तथा कलाकार निश्चल बस्नेतले गौचनले मनको कथा फिल्मबाट व्यक्त गरेका बताए। अभिनेत्री दिया मास्केले सामान्य, फ्रेस कथाले मन छोएको प्रतिक्रिया दिइन्।
निर्देशक प्रदीप भट्टराईले गौचनले फरक तरिकाले कथा भनेको बताए। त्यस्तै निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँले मधेश प्रदेशले फिल्मलाई सहयोग गर्नुपर्ने बताए। उनले फिल्म विषयवस्तु र पर्यटकीय हिसाबले राम्रो बनेको उल्लेख गरे। अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक बनेको भन्दै निर्माण टिमलाई शुभकामना दिए।
फिल्मको मुख्य भूमिकामा नाजिर हुसेन र सृष्टि श्रेष्ठ छन्। फिल्मका लेखक तथा निर्देशक दीपेन्द्र गौचन हुन्। फिल्ममा अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।
फिल्ममा अन्य कलाकार सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिकामा देखिनेछन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह(कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्मातामा छन्। ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा बनेको छ।
अमर महर्जनको डीओपी रहेको फिल्म निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफीमा बनेको छ।