भारतमा रेलमा किचिएर तीन नेपालीसहित १३ जनाको मृत्यु

हिमाल प्रेस १० माघ २०८१ ११:०५
38
SHARES
भारतमा रेलमा किचिएर तीन नेपालीसहित १३ जनाको मृत्यु रेल दुर्घटनामा निधन भएकी कमला भण्डारी (बायाँ) र दुर्घटनाबारे सञ्चारमाध्यमलाई जानकारी दिँदै उनकी बुहारी राधा भण्डारी। तस्बिर स्रोत : आजतक

काठमाडौँ- भारतको महाराष्ट्रस्थित जलगाउँमा बुधबार साँझ रेलमा किचिएर तीन नेपालीसहित १३ जनाको ज्यान गएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनामा नेपालका ११ वर्षीय नन्दराम विश्वकर्मा, २३ वर्षी लच्छीराम पासी र ४३ वर्षीया कमला भण्डारीको मृत्यु भएको जनाइएको छ। उनीहरूको नेपालमा वतन खुलेको छैन।

कसरी भयो दुर्घटना?

लखनउबाट मुम्बईतर्फ गइरहेको पुष्पक एक्सप्रेसमा एकाएक आगलागी भएको अफवाह फैलियो। अत्तालिएर केही यात्रुले ट्रेनको चेन (आपतकालीन ब्रेक) ताने। त्यसपछि ट्रेन रोकियो। यात्रुहरू हतार गर्दै ट्रेनबाट ओर्लिए। ठिक त्यहीबेला छेउको ट्र्याकमा कर्नाटक एक्सप्रेस ट्रेन आइरहेको थियो। कर्नाटक एक्प्रेस ट्रेनमा किचिएर १३ जना यात्रुको मृत्यु भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

लखनउबाट हिँडेको पुष्पक एक्सप्रेस ट्रेन भारतीय समयअनुसार बुधबार साँझ ४:४२ बजे ४२५ किलोमिटर दूरी तय गरेर जलगाउँको पचोरा स्टेसननजिक पुगेपछि यो दुर्घटना भएको हो।

प्रत्यक्षीदर्शी यात्रुलाई उद्धृत गर्दै आजतकले जनाएअनुसार ट्रेनमा आगलागी भएको अपवाहमात्रै थियो। ट्रेनमा आगलागी नभए पनि विनाकारण अपवाह फैलिँदा दुर्घटना हुन पुगेको उनीहरूले बताएका छन्।

‘आमाले सुत्न भन्नुभयो। फेरि एक्कासि बोगीमा आगो लागेको छ भन्ने हल्ला फैलियो। मलाई पनि भाग्न भन्दै आमा अत्तालिएर ट्रेनबाट ओर्लिनुभयो। न आगो थियो, न धुवाँ। तल ओर्लिएर छेउको ट्र्याकतिर हेर्दा आमाको शव थियो,’ कमला भण्डारीकी बुहारी राधा भण्डारीले भारतीय सञ्चारमाध्यमसँ भनेकी छन्।

रेलवेका प्रवक्ता स्वप्निल नीलाले हामफालेका ती यात्रुहरूलाई छेउकै लिकबाट गुडिरहेको अर्को एक्सप्रेस रेलले ठक्कर दिएको थियो। ‘पुष्पक एक्सप्रेसका एउटा कोचमा ब्रेक जामका कारण धुवाँ देखिएको थियो, जसले गर्दा केही यात्रुहरू आतंकित भए,’ एक वरिष्ठ रेलवे अधिकारीले पीटीआईसँग भनेका छन्।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुर्घटनामा ज्यान गुमाएका परिवारलाई पाँच लाख राहत उपलब्ध गराउने घोषणा गरेका छन्। त्यस्तै रेलवेले मृतक परिवारलाई साढे एक लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई पाँच हजार नगद आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

प्रकाशित: १० माघ २०८१ ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast