
इटहरी– इलामको चुलाचुलीमा ‘तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव’ हुँदैछ। महोत्सव चुलाचुली रंगमञ्चको आयोजनामा माघ १४ र १५ गते चुलाचुली-३, शिवओरकमा हुन लागेको हो। रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले महोत्सवको तयारी भइरहेको बताए। भूमि, कला र पर्यावरणको मिश्रणमा चुलाचुली पाठशाला नाट्य महोत्सव आयोजना गर्ने गरी काम भइरहेको छ। ०७६ सालदेखि पाठशालालाई बुझाउने र विद्यालयमा नाटक बुझाउनुपर्छ भन्ने उद्देश्यले नाटक महोत्सव सुरु गरिएको उनले बताए।
‘शैक्षिक संस्थालाई रंगमञ्च कसरी बुझाउन सकिन्छ भन्ने अभ्यास गरेका छौँ। अभ्याससँगै नाटक मात्रै भन्दा पनि पर्यावरणबारे पनि बुझाउने हाम्रो प्रयास हो,’ उनी भन्छन्, ‘हामीले भूमि, कला र पर्यावरण कलाको समिश्रण नाट्य महोत्सवमा उधृत गरिएको छ ।’
आङथुपोका अनुसार नाट्य महोत्सव कुनै सभाहल वा थिएटरमा हुँदैन। खुला ठाउँमा महोत्सव आयोजना गरिने उनले बताए। जंगलमा महोत्सव गरिने तयारी गरिएको उनले बताए। ‘हाम्रो उदेश्य गाउँभित्रको खोज हो, मानिस जंगलभित्र बस्दै आएको पहिलेपहिले सुनिन्थ्यो। जंगलभित्र बस्ने नभए पनि जंगल संरक्षण गर्नुपर्छ भन्ने हो,’ उनले भने, ‘हामीले कि सिकाइरहेका छौँ वा भनौँ के सिकिरहेका छौँ भने कलालाई भूमि, पर्यटन, पर्यावरणसँग जोड्नुपर्छ भन्ने हो।’
स्थानीय, प्रदेश वा संघीय सरकारले पर्यटन क्षेत्रको घोषणा मात्रै गर्ने तर त्यसलाई संरक्षण नगर्दा समस्या हुने गरेको आङ्थुपोको तर्क छ। उनी भन्छन्, ‘हाम्रो समाजको समस्या पर्यटन क्षेत्र घोषित गरिदिन्छ तर त्यसको संरक्षण र पहिचान गर्दैन। हामीले नाटक मात्रै होइन, पर्यावरण र पर्यटनलाई कसरी जोड्न सकिन्छ भन्ने नै हो।’
गत वर्षदेखि समुदायसँग सहकार्य गरेर काम गर्दै आएको उनले बताए। समुदायको सीप कलामा जोडेको उनको भनाइ छ। समुदायसँग रंगमञ्च जोड्ने र स्थानीय ठाउँमा रहेका माटो, ढुंगा, पानी र विभिन्न वनस्पतिबाट स्टेज बनाइरहेको उनले सुनाए। प्राकृतिक चिजलाई कसरी कलात्मक बनाउने भन्ने अभ्यास गरिरहेको अध्यक्ष आङ्थुपो बताउँछन् ।
नाट्य महोत्सवका लागि सबैभन्दा भन्दा चुनौती स्थायी स्टेजको समस्या रहेको उनले बताए। ‘चुलाचुलीको ठूलो भूगोलमा पनि स्पेस भेटिँदैन। हरेक वर्ष हामीलाई स्पेसको च्यालेन्ज हुन्छ। जनशक्तिको कुरा पनि छ, राम्रो प्रस्तुति गर्नका लागि स्थानीय सरकारले सहयोग गरे पनि कलाको भाषा बुझ्दैन,’ उनी भन्छन्, ‘सरकारले विकासे काम गरिदियोस् भन्छ। कलाको भाषा बुझ्दैन। नयाँ अभ्यासलाई बुझाउन निकै गाह्रो हुन्छ।’
आङ्थुपोले सरकार र समाजलाई कलाको भाषा बुझाउन चुनौती रहेको सुनाए। पर्यावरण र हरियाली वातावरणमा चराकै गीतसँगै नाट्य महोत्सव हुने र रेडिमेड कुराको प्रयोग नगरिने उनको भनाइ छ। आर्थिक पाटो पनि मुख्य समस्या रहेको भए पनि नयाँ अभ्यास गरिएको र यो अभ्यासका लागि डेढ महिनाअघिदेखि नै खट्नुपरेको आङ्थुपो बताउँछन्।
‘एउटा किसान खेतबारीमा काम गर्न केके गरेको हुन्छ? हो त्यसरी नै माटोसँग मात्रै खेल्नुपर्ने अवस्था भइरहेको छ। दैनिक उत्पादनका लागि कृषकले खटेजस्तै अनुभूति भइरहेको छ । पर्यावरणसँग जोडिन खोजिरहेका छौँ,’ उनी भन्छन्।
ओपन स्पेसलाई लेन आर्टको स्टक्चर अनुसार इन्भारोमेन्ट आर्ट प्रस्तुत हुने र दर्शकहरू जंगल छेवैमा बाँसबाट बनेको प्यारापिटमा बस्ने भएकाले उक्त कुरा आकर्षित बनेको आङ्थुपो बताउँछन्। ‘यो ओपन चैँ नेपालमै पहिलोपटक गरिएको हाम्रो दाबी छ। अरूतिर लेन आर्टको प्राक्टिस नै भएको छैन,’ उनले भने, ‘सुरुआती दिनमा सामुदायिक हलमा फेस्टिबल गर्यौँ। प्राविधिक चिजको कठिनाई र खर्चिलो भएकाले ०७९ सालदेखि खुला रंगमञ्च गरिएको हो।’
आङ्थुपोले २०७० साल मंसिर २९ र पुस १ गते दुई दिवसीय नाटक उत्सव गरेको उनले स्मरण गरे। त्यसपछि ०७६, ०७९ मा चुलाचुली पाठशाला नाट्य महोत्सव गरिएको र ०८१ मा पनि सोही शृंखलालाई निरन्तरता दिइएको उनले जानकारी दिए। उनका अनुसार महोत्सवका रूपमा यो तेस्रो संस्करण हो।
चुलाचुली रंगमञ्चको विशेषता भनेको अरू रंगमञ्चभन्दा फरक रहेको आङ्थुपो बताउँछन्। रंगमञ्चको विषयमा शिक्षा, कलालाई कसरी जोड्न सकिन्छ भन्ने अभ्यास पनि रहेको उनको भनाइ छ। अघिल्लो वर्ष महोत्सवको समयमा लाइभ पेन्टिङ चित्र बनाइएको थियो। यस वर्ष पनि उक्त शृंखलालाई दोहोर्याइने उनले बताए।
‘कुन लोकेसनमा नाट्य महोत्सव हुन्छ। त्यही ठाउँलाई नियालेर चित्रकारहरूले चित्र बनाउनुहुन्छ। हामीले अघिल्लो वर्ष पाँच जना चित्रकारलाई चुनेका थियौँ,’ उनी भन्छन्, ‘त्यसबेला पोखरी, जंगल, रूखलगायतबारे पेन्टिङ भएको थियो। चित्रकारले स्वेच्छाले चित्र बनाउनुहुन्छ।’
यस वर्ष भने चुलाचुलीबाटै उत्पादन भएका स्थानीय चित्रकारलाई यो अवसर प्रदान गरिनेछ। जसले महोत्सवमा अर्को आकर्षण थप्ने विश्वास गरिएको छ। महोत्सवका समयमा दुई दिन नाटक कार्यशाला गरिने तयारी गरिएको छ। जसका लागि अनिल सुब्बाले कार्यशालामा सहभागी नाट्यकर्मीलाई प्रशिक्षण दिनेछन्। महोत्सवका लागि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय र चुलाचुली गाउँपालिकाले आर्थिक सहयोग गरेका छन्। यस वर्ष करिब साढे सात लाख खर्च हुने अनुमान गरिएको छ।
यस्तो छ कार्यक्रम तालिका
नाट्य महोत्सवको प्रकाशित तालिकाअनुसार पहिलो दिन बिहान ७ बजेदेखि १० बजेसम्म नाट्य कार्यशाला हुनेछ। १० बजे कार्यक्रम उद्घाटन, ११ बजे नाटक ‘भूमरी’ प्रस्तुत हुनेछ। चुलाचुली रंगमञ्चद्धारा प्रस्तुत हुने उक्त नाटक प्रवीण भण्डारीले निर्देशन गरेका छन्।
१२ बजे अर्को नाटक ‘उ जुनेली’ प्रस्तुत हुनेछ। सुविजिमुर मेमोरियल मावि सुन्दरहरैँचा, मोरङले प्रस्तुत गर्ने उक्त नाटक मौसम कार्कीले निर्देशन गरेका छन्। दिउँसो १ बजे नाटक ‘खुला चुनौती’ प्रस्तुत हुनेछ भने उक्त नाटक चेतना नाट्य समूह इलामले प्रस्तुत गर्ने तयारी छ।
दिउँसो २ बजे नाटक ‘डार्क स्याडो’ प्रस्तुत हुनेछ। कला क्रान्ति नाट्य समूह हेटौँडाले प्रस्तुत गर्ने उक्त नाटकका निर्देशक भावेश बानियाँ छन्। दिउँसो ३ बजे नाटक ‘मडी लुगा’ प्रस्तुत हुनेछ। उक्त नाटक पञ्चबुद्ध एकेडेमी चुलाचुली ४, इलामले प्रस्तुत गर्न लागेको हो भने रिचल राई निर्देशक छन्। दिउँसो ४ बजे प्यानल डिस्कसन गरिने तयारी रहेको आङ्थुपोले बताए।
दोस्रो दिन बिहान ७ देखि १० बजेसम्म नाट्य कार्यशाला हुनेछ। बिहान १० बजे खुला प्रस्तुति’(चारसिल नृत्य) प्रस्तुत हुनेछ। उक्त नृत्य नेपाल कुलुङ भाषा संस्कृति उत्थान चुलाचुलीले प्रस्तुत गर्नेछ।
बिहान ११ बजे नाटक ‘द ल्यान्ड अफ मङ्की’ प्रस्तुत हुनेछ। अमृत बोर्डिङ स्कुल चुलाचुली २ ले प्रस्तुत गर्ने नाटकको निर्देशक खेमराज धमला छन्। दिउँसो १२ बजे बालज्योति मावि चुलाचुली ४ ले नाटक ‘द रुट’ प्रस्तुत गर्नेछ। उक्त नाटकको जेम्स लिम्बूले निर्देशन गरेका हुन्। आयोजकका अनुसार दिउँसो १ बजे रिलायन्स अंग्रेजी मावि मिक्लाजुङ ७, मोरङले नाटक ‘मौनताको कथा’ प्रस्तुत गर्नेछ । उक्त नाटक अनुप बिकले निर्देशन गरेका हुन्।
अन्तिम नाटक दिउँसो २ बजे ‘वातावरण’ प्रस्तुत हुनेछ। जनता मावि चुलाचुली २ ले प्रस्तुत गर्ने उक्त नाटक दिप्सन विकले निर्देशन गरेका हुन्। सोही दिन दिउँसो ३ बजे प्यानल डिस्कसन र ४ बजे समापन कार्यक्रम गरिने जनाइएको छ।