ढुलमुले वामदेव : ओलीको उधारो आश्वासनमा पर्दा समाजवादीलाई धोका!

किरण पौडेल ९ माघ २०८१ २०:४६
60
SHARES
ढुलमुले वामदेव : ओलीको उधारो आश्वासनमा पर्दा समाजवादीलाई धोका! समाजवादीका नेताहरूसँग वामदेव गौतम।

काठमाडौँ– वामपन्थी राजनीतिमा इतिहास भइसकेका वामदेव गौतम यतिबेला थप आलोचित बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आश्वासन पाएर नेकपा एकीकृत समाजवादीलाई धोका दिएको आरोप उनीमाथि लागेको हो। समाजवादीमा प्रवेश गर्ने लगभग निश्चित भएका वामदेव एकाएक एमाले प्रवेश गर्न तयार भएका छन्। एमाले अध्यक्ष ओली भने वामदेवलाई तत्काल कुनै जिम्मेवारी दिन सहमत भएका छैनन्। त्यसैले वामदेवलाई पूर्वपार्टी नेकपा एमालेले पेन्डुलम बनाउन खोजेको छ।

गत पुस १७ मा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा पुगेर भनेका थिए, ‘अब म र माधव नेपाल एक हुने भयौँ।’ नेपालसँग छलफल गरेर बाहिर निस्किँदा वामदेवले समाजवादी प्रवेश गर्ने ‘अन्तिम तयारी’ मा रहेको बताएका थिए। उनी पुस १५ गते समाजवादीको कार्यालय पुगेका थिए। बारम्बार छलफल गर्दै वामदेव समाजवादीमा प्रवेश गर्ने निश्चित भएको थियो। उनका लागि समाजवादीले वरीयतादेखि पदीय जिम्मेवारीसमेत टुंग्याएको थियो।

वामदेव प्रवेश गराउनकै लागि माधव नेपालले वरिष्ठ नेता प्रमेश हमालको नेतृत्वमा कार्यदल गठन गरेका थिए। वामदेवले पनि आफूनिकट डीबी कार्कीको नेतृत्वमा कार्यदल बनाएका थिए। समाजवादीले पार्टीबाटै निर्णय गर्दै तेस्रो वरीयतामा वरिष्ठ नेता वामदेवलाई बनाउने निर्णय गरेको थियो। वरीयतामा नेपाल, सम्मानित नेता झलनाथ खनाल र त्यसपछि वामदेवलाई राख्ने निर्णय भएको समाजवादीका एक नेताले बताए।

वामदेवलाई प्रवेश गराउन अध्यक्ष नेपालको निकै जोडबल थियो। उनी गौतमलाई भेट्न भैँसेपाटीस्थित निवासमै पुगेका थिए। वामदेवले आफूबाहेक तीन नेतालाई पोलिटब्युरोमा र १७ जनालाई केन्द्रीय सदस्यमा लैजाने प्रस्ताव राखेका थिए। उनको त्यो प्रस्तावमा नेपाल सहमत भएनन्। समाजवादी सचिव सोमप्रसाद पाण्डेयका अनुसार तीन जनालाई मात्र केन्द्रीय समितिमा लैजाने भएपछि वामदेव भित्रिन नचाहेका हुन्।पाण्डेय वामदेवलाई पार्टीविहीन हुने अवस्थाको अन्त्य गर्न समाजवादी प्रवेश गराउन खोजिएको बताउँछन्।

‘उहाँ (वामदेव) सँग कार्यकर्ता थिएनन्। तर उहाँको इतिहास हेरेर हामीले प्रवेश गराउन चाहेका थियौँ’, समाजवादीका अर्का एक नेता भन्छन्। वामदेवले आफू मात्र होइन अन्य कार्यकर्ता ‘सेटल’ गर्न खोजे। समाजवादी निकट नेताहरूका अनुसार वामदेवसँग रहेका उनकी श्रीमती तुलसा थापा र डीबी कार्की मात्र केन्द्रीय स्तरका नेता हुन्। वामदेवले अन्य नेतालाई पनि केन्द्रीय कमिटीमा भाग मागेका थिए। ‘उहाँले अलि बढी माग्नुभयो। सबै पूरा सकिने अवस्था थिएन,’ समाजवादीका प्रचार विभाग उपप्रमुख दामोदर अर्याल भन्छन्।

सात दिनयता वामदेव एमाले प्रवेश गर्ने तयारीमा पुगेका छन्। वामदेवले भनेका छन्, ‘अब एमालेमा जाने भइयो।’ गौतमले एमाले अध्यक्ष ओलीसहितका नेताहरूसँग दुई चरणमा भेट भएर कुरा गरिसकेका छन्। उनी कहिले एमाले प्रवेश गर्छन् टुंगो छैन। न त उनले पाउने पदकै ग्यारेन्टी छ।

पछिल्लो एक साताको अदलबदलले वामदेवको ‘ढुलमुले स्वभाव’ देखाउँछ। उनीसँग सहकार्य गरेका नेताहरूका अनुसार उनमा अस्थिर स्वभाव र बदलिने बोली छ। एक महिनाअघि समाजवादी प्रवेश गर्ने तम्तयार रहेका वामदेव अहिले एमालेसँग नजिक छन्। उनले भनेजस्तो सजिलो एमाले प्रवेश देखिँदैन।

एमालेका केही नेताहरू तत्काल वामदेव एमाले प्रवेश गर्ने बताइरहेका छन्। वामदेवले पनि एमाले प्रवेश गर्ने प्रक्रिया पूरा भएको बताउन छाडेका छैनन्। एमालेको सचिवालय बैठकले मंगलबार वामदेवको प्रवेशको निर्णय गरेन। बैठकले वामदेवको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने मात्र भनेको छ।

वामदेवबारे एमालेले आधिकारिक रूपमा बोले पनि ‘औपचारिकता’ को भाषा मात्र सुनिन्छ। किनभने सहकार्य कसरी अघि बढ्ने भन्ने विषय खुलाइएको छैन। त्यसो त पार्टी एकताका लागि वार्ता कमिटी/कार्यदल बनाउने प्रचलन छ। सचिवालयले भने कार्यदल गठन गरेको छैन।

एमाले उपाध्यक्ष युवराज ज्ञवाली वामदेवलाई एमालेमा तत्काल प्रवेश गराउने विषयमा छलफल भएको बताउँछन्। ‘उहाँ (वामदेव) लाई प्रवेश गराउने छलफल भएको हो। तर पद के दिने भन्ने अन्योल भयो,’ ज्ञवाली भन्छन्, ‘अहिले प्रवेश गराउँदा पेन्डुलम बनाएजस्तो देखिने भएकाले सहकार्य गर्दै जाने निर्णय भएको हो।’

उनका अनुसार अब वामदेवको पार्टीसँग बिस्तारै छलफल हुँदै जान्छ। ‘हतार गरेर हुँदैन। उहाँ (वामदेव) लाई तत्काल ल्याए पनि फेरि जिम्मेवारी नपाउँदा समस्या पर्न जान्छ। त्यसो नगर्न खोजेको हो’, ज्ञवाली भन्छन्।

एमाले अध्यक्ष ओली वामदेवप्रति सकारात्मक थिएनन्। वामदेवले विगतबाटै एमाले गर्न चाहेका थिए। ‘मलाई एमालेले प्रवेशमा रोक लगाएको छ। महासचिव (शंकर पोखरेल) ले प्रवेश नदिने भन्नुभएको छ रे’, वामदेवले केही समयअघि भनेका थिए।

अहिले ओली एकाएक लचक बनेका छन्। यो समयमा ओली लचक बनेका छन्, जुन बेला वामदेव समाजवादी प्रवेश गर्ने तयारीमा थिए। कतिपयले वामदेवको समाजवादी प्रवेश गर्ने बुझेर ओलीले नै खेलेको बताइरहेका छन्। यता एमालेको निर्णय हेर्दा पनि त्यस्तै देखिन्छ।

‘वामदेव जत्तिका नेतालाई सचिवालयमा ल्याउनुपर्छ। त्यहाँ खाली छैन,’ ज्ञवाली भन्छन्, ‘अब विधान संशोधनपछि नयाँ पद सिर्जना गरेर उहाँ (वामदेव) लाई जिम्मेवारी दिनुपर्छ।’ मंगलबारको बैठकले एमालेले विधान सम्मेलन मिति तोकेको छ। आगामी भदौ २०, २१ र २२ मा ललितपुरको गोदावरीमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ। ज्ञवालीका अनुसार विधान सम्मेलनले नयाँ पद स्थापना गरेपछि वामदेवलाई जिम्मेवारी दिन सकिन्छ।

‘वामदेवजीलाई विभागीय जिम्मेवारी ल्याएर हुन्न। उहाँ सक्रिय छु भन्नुहुन्छ। मौजुदा कानुनले नयाँ पद स्थापना गर्न दिँदैन’, ज्ञवाली भन्छन्। यसैले पनि वामदेवलाई एमालेले भित्र्याउने योजना नबनाएको बुझिन्छ। अहिले अन्यतिर जान रोक लगाउने बाटोमा एमाले लागेको देखिन्छ। ‘वामदेवजी जत्तिको नेताले अब पद खोजेर हुन्न। उहाँ एमालेमा प्रवेश गर्नु नै जिम्मेवारी पाउनु हो’, उनले भने।

एमालेमा भने वामदेवले कसैको विषयमा कुरा गरेनन्। यतिसम्म कि आफ्नै पदका विषयमा समेत कुरा नगरी वामदेव प्रवेश गर्न तम्सिए। न थापाका विषयमा कुरा गरे, न त कार्कीका विषयमा। उनी निकट स्रोतका अनुसार ओलीले आश्वासन दिएकै भरमा एमाले प्रवेश गर्न लागेका थिए।

‘ओलीजीले म तपाईँलाई भूमिका दिन्छु भन्नुभएछ। अनि एकता हुन्छ भन्नेमा गौतमजी पुग्नुभयो’, गौतम निकट एक नेता भन्छन्। यसो त वामदेवको एमाले प्रवेश गर्ने चर्चाले पार्टी (एकता अभियान) नै विभाजित बनेको छ।

अभियानका केन्द्रीय उपाध्यक्ष महेन्द्र अर्याल, कर्णाली प्रदेश इन्चार्ज डिल्लीराज भट्टराई, कोशी प्रदेश इन्चार्ज इन्द्र सुब्बा र मधेश प्रदेश इन्चार्ज हरि काफ्लेलगायतका नेताले आफूहरू माओवादीमा जाने तयारीमा रहेको बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast