काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानूनमा समावेश हुने बताएका छन्। बुधबार काठमाडौँस्थित शसस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गरे।
उनले सम्पूर्ण अधिकृतदेखि जवानहरूसमेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको उल्लेख गरे। उनले आफू गृहमन्त्री बनिसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरामा जोड दिइरहेको बताए।
सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसद्मा दर्ता गर्ने उनले आश्वासन दिए। गृहमन्त्री लेखकले भने, ‘म गृहमन्त्रीको जिम्मेवारीमा आइसकेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई नीतिगत तथा कानुनी स्थिरतामार्फत थप प्रभावकारी, व्यवसायिक र वृत्ति विकासलाई सुनिश्चितता प्रदान गर्ने कुरालाई जोड दिँदै आएको छु। सम्माननीय प्रधानमन्त्रीज्यूलगायत सबै साथीहरूको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रुपमा संसद्मा दर्ता गर्ने सबै तयारी भइ अन्तिम रुप हामीले दिइसकेका छौँ।’
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए। सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखी कार्य सञ्चालन गरिरहेको उनले बताए।
हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगन सम्पन्न गरिसकेको अर्यालले जानकारी दिए। सीमा क्षेत्रका समकक्षी सुरक्षा निकायहरूसँग नियमित बैठक आयोजना गरी सौहार्दपूर्ण सांगठनिक समन्वयका साथ सहकार्य गरिरहेको उनको भनाइ थियो।