खेती किसानी

कृषिकर्ममा रमाउँदै पूर्वपालिका प्रमुख गौतम

रमेश भारती ९ माघ २०८१ १३:५५
254
SHARES
कृषिकर्ममा रमाउँदै पूर्वपालिका प्रमुख गौतम

काठमाडौँ- अर्घाखाँची पाणिनि गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमको दिनचर्या खेती किसानीमा बितिरहेको छ। उनले फलफूल र तरकारी खेती गरेका छन्। कुखुरा, गाईभैँसी र बाख्रा पालन गरिरहेका छन्। उनको ‘गौतम कृषि तथा पोल्टी फार्म’ सञ्चालनमा छ। गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा चुनिएका थिए। उनी अहिले राजनीतिभन्दा खेती किसानमा रमाइरहेको बताउँछन्।

गौतमले यसपालि बगानबाट प्रतिकिलो ७० देखि ८० रुपैयाँमा सुन्तला बिक्री गरिरहेको बताए।  उनले भने, ‘गत वर्ष दुई लाखको सुन्तला उत्पादन भएको थियो। यसपटक तीन लाखभन्दा बढीको सुन्तला बिक्री गरेँ। बगानमा पाँच सय बोट सुन्तला रोपेकोमा यस वर्ष ७०-८० बोटमा फलेका थिए। अबको तीन वर्षपछि २३ लाखभन्दा बढीको सुन्तला उत्पादन हुने अनुमान छ।’

फार्ममा एक करोड ५० लाखभन्दा बढी लगानी गरेको उनले ४० लाख रुपैयाँ सरकारी अनुदान लिएका छन्। गौतमको फार्ममा ३ हजार ५ सय बोइलर कुखुरा छन्। एक हजार पाँच सय लेयर्स कुखुराले दैनिक अण्डा पार्ने गरेको उनले बताए।  उनले फार्ममा बोयर बाख्रा, गाई र भैँसी पालन गरेका छन्। गौतम मौसमी फलफूलसहित दैनिक रूपमा अन्डा, मासुका लागि बोइलर र खसी तथा दूध बिक्री हुने गरेको बताउँछन्। फार्मबाट गौतमले मासिक तीन लाख जति बचत हुने गरेको जानकारी दिए। उनले भने, ‘नियमित रूपमा तीन जना कामदार छन्। केही मौसमी कामदारसमेतलाई तलब दिएर मासिक सरदर तीन लाख बचत हुन्छ।’

गौतमले ०६८ सालदेखि कृषिलाई निरन्तरता दिएका हुन्। राजनीति गर्नेले कृषिमा जोड दिनुपर्ने उनको बुझाइ छ। उनले भने, ‘राजनीतिसँग कृषिकर्म गर्दा जनतामा सकारात्मक सन्देश जान्छ। अनि मात्र कृषि क्रान्ति सफल हुन्छ।’ स्थानीय तहको नेतृत्व गर्दा आफूले कृषि क्षेत्रको विकासमा जोड दिएको दाबी उनको छ। गौतमले भने, ‘हाम्रो गाउँपालिकामा कृषिमा किसानसँगै युवा व्यवसायीको आकर्षण बढ्न थालेको छ।

राजनीति र कृषि उत्पादन सँगसँगै अघि बढाउने हो भने नेपालले कृषिमा फड्को मार्ने सजिलो हुने उनको भनाइ छ। विश्वमा राजनीतिबाट बनेकै योजनाका आधारमा कृषि विकास भएको उनी बताउँछन्।

गौतमका अनुसार कृषि अनुदानबाट साना र मध्यम किसानहरूले फाइदा लिन नसकेको बताए। उनले भने, ‘कृषिको समस्या प्राविधिकभन्दा बढी अर्थनीतिसँग सम्बन्धित छ। यस विषयमा हामीले किसानसँग बहस गर्न सकेका छैनौँ। सोही कारण युवा पलायन भइरहेका छन्।’

कृषिमा संलग्न किसान हीनताबोध पालेर बसेको अनुभव उनको छ। सरकारले यसको अन्त्य गर्न पहल गर्नुपर्ने उनले बताए। कृषिमा समस्या नै प्रविधिको रहेको गौतम बताउँछन्। कृषि उत्थानका लागि प्रविधि भित्र्याउनुपर्छ भनेर योजना बनाए पनि काम हुन सकेको छ। उनले भने, ‘राज्यले यस्तो समस्या चाँडै सम्बोधन गर्नुपर्छ।’  कृषि युवा आकर्षण नबढाउने हो भने यसको भविष्य राम्रो नरहेको गौतमको बुझाइ छ। उनले भने, ‘कृषि क्षेत्रलाई बूढाबूढीले कहिलेसम्म थेग्ने? कृषिमा सबैभन्दा ठूलो समस्या यही हो।’

कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, औद्योगीकरण गर्दै कृषिजन्य वस्तुको उत्पादन तथा उत्पादकत्वसँगै रोजगारीका अवसर सिर्जना गर्न हरेक वर्ष योजना ल्याउनुपर्ने उनले बताए।

गौतमले भने, ‘कृषिमा राजनीतिक तहबाटै क्रान्ति हुनुपर्छ। कृषिमा आधारित उद्योग सञ्चालन गर्नुपर्छ। नेपालमा सबै किसिमको हावापानी पाइने भएकाले यहाँ सबै किसिमका कृषि उत्पादनमा जोड गर्नुपर्छ।’

जमिनलाई मलजल गरी लगानी श्रम, पुँजी र नयाँ योजना ल्याएर उत्पादनमा फरक क्रान्ति ल्याउन सकिने गौतमले जानकारी दिए।  पाणिनि गाउँपालिकामा धान, गहुँ, कोदो, मकै भन्दा सुन्लताखेतीबाट राम्रो आम्दानी हुन थालेपछि अरू खेती गर्ने छोडेर सुन्तला खेती गर्नेको संख्या हरेक वर्ष बढिरहेको उनले बताए।

गाउँबाट गत वर्ष एक करोड भन्दा बढी सुन्तला बिक्री भएकोमा यस वर्ष दोब्बर बढ्ने उनको अनुमान छ। बेमौसमी सुन्तला बिक्री गर्नका लागि पाणिनिमा सुन्तला भण्डारणसमेत सुरु भएको छ। गौतमले भने, ‘व्यावसायिक रूपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ। सुन्तला हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यस खेतीबाट वृद्धवृद्धाका लागि बाँच्ने आधार पनि हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast