संघीयता खारेजीको माग गर्दै जनमोर्चाले आन्दोलन गर्ने

हिमाल प्रेस ८ माघ २०८१ १९:४२
18
SHARES
संघीयता खारेजीको माग गर्दै जनमोर्चाले आन्दोलन गर्ने

लुम्बिनी- राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ। जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म प्रदेश खारेजको विषयलाई राजधानी केन्द्रीत बनाएर आन्दोलन गर्ने जनाएको हो।

पत्रकार सम्मेलनमा बोल्दै पूर्वमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता विरुद्धको आन्दोलन राष्ट्रिय जनमोर्चाले आह्वान गरे पनि यो आन्दोलन आम देशभक्त नेपाली जनताको आन्दोलन भएको जिकिर गरे। उनले संघीयता देशको हितमा नभएको बताउँदै संघीयता भिडाउनेको भन्दा भिर्नेहरूबाट नै संघीयताको नामले नेपाली जनताले बलिदान गरेर ल्याएको गणतन्त्र र लोकतन्त्रलाई सिध्याउँछन् कि भन्ने खतरा बढेको बताए।

उनले देश बचाउनका लागि संघीयता विरुद्धको आन्दोलन गर्न थालिएको बताए। अध्यक्ष केसीले प्रदेश संरचनाका कारण अर्बौं रकम मुख्यमन्त्री र मन्त्री सांसद पाल्नमा खर्च भएको बताउँदै यसको खर्चले शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन सकिने बताए। ‘अर्बौँ खर्च गरेर मुख्यमन्त्री, मन्त्री र सांसद पाल्न परेको छ, ऋणको भारी बोकेर प्रदेशका सेता हात्ती पाल्न सकिँदैन,’ उनले भने।

संघीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनको पक्षमा रुपन्देहीमा राजनीतिक वातावरण तयार पार्न जिल्लाव्यापी पर्चा वितरण, जनभेटघाट, भित्ते लेखन जस्ता कामलाई तीव्रता दिइने र जिल्लास्तरीय दुईवटा अन्तर्क्रिया कार्यक्रम यही माघ ५ गते गर्ने उल्लेख गरिएको छ। माघ १० गतेदेखि १२ गतेसम्म जिल्लाव्यापी घुम्ती कोणसभाको आयोजना गरिने जनाइएको थियो।

फागुन ३ गते बुटवलदेखि बेलहियासम्म मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र राजधानीमा हुने संघीयता विरुद्धको आन्दोलनको पक्षमा वातावरण तयार पार्न विभिन्न प्रचार कार्यक्रम तय गर्नुको साथै पुस २१ देखि संगठानात्मक अभियानलाई जोड दिइएको रुपन्देही अध्यक्ष टानबहादुर केसीले बताए।

प्रकाशित: ८ माघ २०८१ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast