काठमाडौँ– पुसमा माग भएर पनि १२ हजार श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन नसकिएको पाइएको छ। वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष डिकबहादुर कार्कीले विदेशस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण समयमा नहुँदा पुसमा १२ हजार कामदार पठाउन सकिएको बताए।
उनका अनुसार पुसमा ७६ देशमा वैदेशिक रोजगारीमा कामदार पठाउन सकिएन। मंसिरमा ९३ देश कामदार पठाएका म्यानपावरले पुसमा १७ वटा देशमा मात्र श्रम स्वीकृति लिएर कामदार पठाएका हुन्।
पुसमा म्यानपावर कम्पनी (संस्थागत) मार्फत २९ हजार ३ सय १६ जना नेपाली कामदार १७ देश गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। मंसिरमा संस्थागत ४१ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा ९३ देश गएका थिए। संघका उपाध्यक्ष कार्कीले विदेशस्थित नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण समयमा नहुँदा पुसमा १७ देशमा मात्र कामदार पठाउन सकिएको बताए। उनले भने, ‘मागपत्र प्रमाणीकरणको समस्याका कारण पुसमा १२ हजारभन्दा बढी डिमान्ड गुमाउनुपरेको छ।’
दूतावासबाट मागपत्र प्रमाणीकरणका लागि सहजीकरण नगर्दा युरोप र अफ्रिकी देशमा कामदार पठाउन समस्या भइरहेको उनले बताए। ‘पुसमा ७६ देशमा म्यानपावर कम्पनीले कामदार पठाउन सकेनन्। यसमा राज्यको कमजोरी हो। मागपत्र प्रमाणीकरणको समस्या रहिरहे कामदार पठाउने देशको संख्या अझै घट्छ’, उनले भने। उपाध्यक्ष कार्कीले युरोप र अफ्रिकी देशको करिब १२ हजार रोजगारी गुमेको बताए।
युरोपेली देशमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर धेरै कामदार जाने गरेका छन्। यसको मुख्य कारण मागपत्र प्रमाणीकरणकै समस्या भएको व्यवसायीहरू बताउँछन्। सोही कारण मंसिर महिनाको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या घटेको व्यवसायीको भनाइ छ।
पुसमा म्यानपावर कम्पनीले यूएईसहित बहराइन, साइप्रस, जापान, जोर्डन, कुवेत, मलेसिया, मरिसस, ओमान, कतार, रोमानिया, सर्बिया, साउदी अरब, बेलायत र टर्कीमा कामदार पठाएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीले सरकार मागपत्र प्रमाणीकारणका लागि सहजीकरण गर्न लागिपरेको बताए। युरोपमा रहेका नेपाली दूतावास र कन्सुलर कार्यालयले नेपाली कामदारको रोजगारको मागपत्र (डिमान्ड लेटर) स्वीकृतिमा सहजीकरण गर्न नसकेको मन्त्री भण्डारीको भनाइ छ। उनले भने, ‘समयमा मागपत्र प्रमाणीकरण नहुँदा युरोपमा व्यक्तिगत श्रम स्वीकृतिमा कामदार गइरहेका छन्। सेटिङमार्फत दलालले धेरै पैसा लिएर कामदार पठाइरहेको गुनासे पनि छ,। यो समस्या समाधान गर्न परराष्ट्र मन्त्रालयसँग छलफल भइरहेको छ।’
मलेसिया, खाडीका देश, युरोप र अफ्रिकी देशबाट आउने डिमान्ड प्रमाणीकरण गर्ने काम चाँडै हुने उनी बताउँछन्। उनले भने, ‘वैधानिक रूपमा इजाजत लिएर काम गरिरहेका म्यानपावरले भोगिरहेको मागपत्र प्रमाणीकरणको समस्या चाँडै समाधान हुनेछ।’
सन् २०१७ देखि पूर्वी युरोपियन देश रोजगारीमा जाने कामदारको संख्या बढ्न थालेको छ । यसअघि वार्षिक २-३ हजार युरोप रोजगारीमा जाने गरेका थिए।
गत आर्थिक वर्षमा ६० हजारभन्दा बढी नेपाली युरोपका ११ वटा देश रोजगारीमा लागि गएका थिए। चालु आर्थिक वर्षको ६ महिनामा ३५ हजारभन्दा बढी नेपाली रोजगारीमा लागि युरोपका देश पुगेका छन्।
व्यवसायीले औपचारिक, नियन्त्रित र सुरक्षित रूपमा युरोपका देश कामदार पठाउन सम्बन्धित देशमा रहेका नेपाली दूतावास, नियोग तथा निकायबाट माग प्रमाणीकरणमा सहजीकरण गर्न श्रम मन्त्रालयसँग माग गर्दै आएका छन्।