काठमाडौँ- काठमाडौँ उपत्यकामा १६० वटा सवारी साधनको प्रदुषण जाँच गर्दा सयवटा फेल भएको पाइएको छ। काठमाडौँ महानगरले गरेको प्रदुषण जाँचमा यो संख्यामा सवारी साधन फेल भएका हुन्।
महानगरले पुस २९ गतेबाट प्रदुषण चेकजाँच सुरू गरेको हो। पुस २९ देखि सोमबारसम्म महानगरले डिजेलबाट चल्ने १४० र पेट्रोलबाट चल्ने २० गरी १६० सवारी साधनको जाँच गरेको छ। जसमध्ये डिजेलबाट चल्ने ९४ र पेट्रोलबाट चल्ने ६ वटा सवारी फेल भएका छन्।
सोमबारमात्रै ४० डिजेल सवारी साधनको प्रदुषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात ३१ वटा फेल भएको पाइएको महानगरले जनाएको छ। महानगरले सोमबार चक्रपथ सुकेधारा भएर गुडिरहेका सवारी साधनको प्रदूषण चाँज गरेको थियो।
माघ ६ गते टेकुमा चेकजाँच गरिएको ४० वटा सवारी साधानमध्ये ३३ वटा फेल भएका भेटिएका थिए। त्यस्तै माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारी साधान चेकजाँच गर्दा १० वटा प्रदुषण मापदण्डबाहिर पाइएको महानगरले जनाएको छ।
माघ २ गते जमल क्षेत्रमा २० वटा सवारी साधन चेकजाँच गर्दा ६ वटा फेल थिए। पुस २९ गते बबरमहलमा २० वटा सवारी साधन चेकजाँच गर्दा ६ वटा फेल भएको पाइएको महानगरले बताएको छ।
परीक्षणका क्रममा प्रदुषण मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न महानगरले कवुलियतनामा गराएको छ।
वायु प्रदुषण नियन्त्रणका प्रयासमध्ये सावरी साधनबाट निस्कने प्रदुषक तत्व न्यूनीकरण तथा नियन्त्रणकाा लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ।