काठमाडौँ- मलेसिया जान खोज्ने एक हजार दुई सय कामदारको अन्तर्वार्ता रद्द भएको छ। श्रम स्वीकृति लिई सूचना जारी गरेपछि मलेसियाका कम्पनीले अन्तर्वार्ता रद्द गरेको म्यानपावर व्यवसायीले बताएका छन्। मलेसियास्थित प्रतिष्ठित फेल्डा प्लान्टेसनको अन्तर्वार्ता प्रक्रिया रद्द भएको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष डीकेबहादुर कार्कीले बताए।
म्यानपावर कम्पनीले प्रतिकामदार चार लाख रुपैयाँसम्म मागेपछि जनवरी ११ देखि २१ सम्म तय भएको अन्तर्वार्ता प्रक्रिया रोजगारदाता कम्पनीले रद्द गरेको एक म्यानपावर व्यवसायीले जानकारी दिए। उनका अनुसार आरोही एचआर, मा पद्मा प्लेसमेन्ट, रियल रेडियन्टल इन्टरनेसनल, क्लासिक ओभरसिज, सागर रिक्रुटमेन्ट, ग्रिनल्यान्ड, लक्की एचआर, एएनएस, खोजु रिकुटम्यान्ट, अल सिडिल रिकुटम्यान्टलगायत १२ वटाभन्दा बढी म्यानपावर कम्पनीले ल्याएको डिमान्डको अन्तर्वार्ता रद्द भएको छ।
तीमध्ये क्लासिक ओभरसिज र ग्रिनल्यान्ड म्यानपावरले विज्ञापन गरेर कामदारलाई अन्तर्वार्तामा डाकेका थिए। मलेसिया कामदार लैजाने डिमान्ड ल्याए पनि म्यानपावर कम्पनीले एजेन्टमार्फत चार लाख रुपैयाँसम्म लिन खोजेको उजुरी फेल्डामा परेको थियो। त्यसपछि फेल्डाले प्लान्टेसनअन्तर्गतका सबै भर्ना प्रक्रिया तत्काल रोकेको हो। ‘म्यानपावरले कामदारसँग चार लाखसम्म शुल्क मागिएको रिपोर्ट फेल्डा पुगेको रहेछ’, ती व्यवसायीले भने।
रोजगारदाता कम्पनीले कामदार लैजाँदा निश्चित कमिसन दिए पनि मलेसिया र नेपालमा बिचौलियासँग मिलेर म्यानपावर कम्पनीले कमाउन खोज्दा एक हजार २ सय कामदार डिमान्ड गुमेको उनको भनाइ छ।
एजेन्टहरूसँग जोडिएका कामदारले पनि प्लान्टेसनमा काम गर्न पनि चार लाख मागिएको गुनासो गरेका छन्। यस विषयमा म्यानपावर सञ्चालनकहरू बोल्न चाहँदैनन्।
व्यवसायी कुमुद खनाल मलेसियाली एजेन्टसँग नेपालका म्यानपावर कम्पनी सञ्चालकले ठूलो रकम दिएर भिसा किन्ने गरेको दाबी गर्छन्। उनका अनुसार सोही कारण मलेसियाका रोजगारदाता कम्पनीले दिएको सुविधा कामदारले पाएका छैनन्। नेपालका एजेन्टले डिमान्ड किनेर ल्याउँदा कामदारमाथि आर्थिक भार थप्ने गरेका छन्। यस विषयमा सरकार र म्यानपावर व्यवसायीले ध्यान दिनुपर्ने उनले बताए। ‘एजेन्टको भरमा कतिपय व्यवसाय चलेको छ। जसका कारण ठगी बढेको हो। डिमान्ड किन्ने प्रतिस्पर्धा हुँदा कतिपय म्यानपावरले ठूलै रकम हिनामिना गरेको पाइएको छ’, उनले भने।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदी फेल्डा प्लान्टेसनबाट ल्याएको डिमान्डका लागि केही म्यानपावरले विज्ञापन गरेको जानकारी दिए। फेल्डा प्लान्टेसन कम्पनीले अन्तर्वार्ता रद्द गरेको सुने पनि विभागमा सूचना नआएको उनले बताए।
वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष कार्कीले मलेसियाका रोजगारदाता कम्पनीले कामदारको माग गर्ने प्रक्रियासमेत गलत देखिएको बताए। उनले भने, ‘मलेसियाको १२ सय रोजगारी गुम्नु सामान्य विषय होइन। विज्ञापन भएपछि अन्तर्वार्ता रद्द हुँदा रोजगारदाता कम्पनीको विश्वास समेत गुम्छ’, उनले भने।
मलेसियाको रोजगारी आंशिक रुपमा खुल्दै यो समस्या आउनु राम्रो पक्ष नभएको उनको भनाइ छ। उनले भने, ‘सामान्य रोजगारीका लागि चार लाख लागत खर्च लिनु लगत हो। यस विषयमा वैदेशिक रोजगार व्यवसायी संघले समेत अनुसन्धान गर्नेछ।’
गत वर्षको मार्चदेखि बन्द मलेसिया रोजगारी दुई महिना अघिदेखि आंशिक रूपमा खुलेको छ। आगामी महिनादेखि मलेसिया रोजगारी पूर्ण रूपमा खुल्दै छ।