काठमाडौँ- निर्देशक दीपेन्द्र लामाले यौन स्वास्थ्यको विषयमा फिल्म ‘दुःखी आत्मा’ निर्माण गरेका छन्। फिल्मको प्रचारप्रसारका क्रममा निर्देशक लामाले यौन स्वास्थ्यका विषय फिल्ममा आउनुपर्ने महसुस गरेरै फिल्म तयार गरेको जानकारी दिए।
‘यौन स्वास्थ्यका विषयमा विदेशमा प्रशस्तै फिल्म बनेका पाइए पनि नेपालमा निर्माण भएकाे छैन। त्यसैले यो फिल्म तयार गरेको हुँ।’ उनले भने। निर्देशक लामाले विषय गम्भीर सुनिए पनि प्रस्तुतीकरण मनोरञ्जनात्मक नै रहेको बताए।
फिल्मको टिजर र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ। अन्य फिल्मको भन्दा यसको प्रचार शैली भिन्न देखिएको छ। फिल्मको मुख्य पात्र कवि रहेकाले उनको प्रस्तुतिकरणलाई साहित्यक हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
‘यो बिहे गर्ने उमेर भएर पनि अविवाहित रहेका कविको मनोविज्ञानबाट भनिएको कथा हो। समस्यालाई व्यक्त गर्न नसक्दा आइपर्ने जोखिम र सामाजिक भयको मिश्रणले निम्त्याउने घटनाक्रमलाई फिल्ममा देखाएका छौँ। फिल्मले मनोरञ्जनमै भए पनि केही सिकाउँछ। दर्शक फिल्म सकेर हलबाट फर्किँदा केही फरकपन पक्कै महसुस गर्नुहुनेछ’ निर्देशक लामाले भने।
‘एडल्ट ड्रामा’ भनिएको फिल्म आगामी फागुन २ मा प्रदर्शन हुनेछ। फिल्ममा दयाहाङ राई, आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।
हिमाल कडरिया निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादनमा बनेको छ।