इटहरी- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्वव थापामाथि झापामा आक्रमण भएको छ। नेपाली कांग्रेस कोशी प्रदेश सभापतिसमेत रहेका थापामाथि शनिबार साँझ साढे ५ बजेतिर आक्रमण भएको हो।
नेपाल प्रेस युनियन झापाको साधारणसभामा सहभागी भएर फकिँदै गरेका थापामाथि जामुनबारी चोकस्थित जुकेखाडी नजिकै आक्रमण भएको कांग्रेस झापा सचिव कृष्ण हुमागाईँले बताए।
थापा बा१झ ६५३ नम्बरको गाडीमा सवार थिए। थापासँगै गाडीमा रहेका हुमागाईंका अनुसार बा१ञ १८७० का चालक भक्त कटवालले आक्रमण गरेका हुन्।
‘हामी साधारणसभाबाट फर्किदैँ थियौँ,’ हुमागाईँले फोनमा भने, ‘बाटोमा गाडीले छेकिरहेपछि साइड दिनका लागि रिक्वेस्ट गर्यौँ। साइड नदिएपछि हामी साइड लिएर अगाडि बढिरहेका थियौँ। अचानक स्पिडमा ल्याएर अगाडि बाटो छेकेपछि सभापतिज्यूले पुनः साइड दिन आग्रह गर्नुभयो। यसै बेला अचानक बक्सिङले हिर्काए।’
कटवाल झापाकै शिवसताक्षी ११ निवासी रहकेको बताइएको छ। कटवालले दाहिने हातको बक्सिङले हिर्काउँदा थापाको देब्रे आँखाको माथिपट्टि चोट लागेको छ। कटवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनापछि थापा उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना भएका थिए। उनी सामान्य उपचारपछि घर फर्किएका छन्। गृह जिल्ला झापा गएकै बेला आक्रमणमा परेपछि थापा निकटहरूले घटनामा संलग्नलाई कारबाहीको माग राखेका छन्। पक्राउ परेका कटवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।