काठमाडौँ- मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशलाई अधिकार सम्पन्न बनाउन अझै संघर्ष जरुरी रहेको बताएका छन्। मधेशी सहिद प्रतिष्ठानले बलिदानी दिवसको अवसरमा शनिबार जनकपुरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुकले संघीयता पाएको र बाँकी अधिकार प्राप्तिका लागि अझै संघर्ष जरुरी रहेको बताएका हुन्।
प्राप्त उपलब्धिलाई संस्थागत गर्दै चरणबद्ध रुपमा बाँकी अधिकारका लागि संघर्ष गर्नुपर्नेमा उनको जोड छ। मुख्यमन्त्री सिंहले मधेश आन्दोलनको बलमा मुलुक संघीयतामा प्रवेश गरे पनि प्रहरी प्रशासन तथा ठूलठूला काम गर्न संघकै मुख ताक्नुपर्ने बाध्यताका कारण समस्या सिर्जना भइरहेको बताए।
त्यस्तै उनले सहिदहरुको परिवारको सम्मानमा प्रदेश सरकारले कुनै कमी नराख्ने प्रतिबद्धता जनाउँदै सहिद परिवारका लागि रोजगारीको सिर्जना गर्न कानुन बनाएर अगाडि बढ्ने बताए।