विमर्श ‘हिँड्न बाँकी बाटाहरू’को, चिन्तन काव्यिक मूल्य र अभिव्यञ्जनाको

हिमाल प्रेस ५ माघ २०८१ ९:२४
44
SHARES
विमर्श ‘हिँड्न बाँकी बाटाहरू’को, चिन्तन काव्यिक मूल्य र अभिव्यञ्जनाको

‘आज साँच्चै कवितामाथि बहस भयो। कविताको गुदीमा पुगेर समालोचना भएको छ। कवितालाई हेर्ने दृष्टिकोण बदलिएको पुष्टि भएको छ यो कार्यक्रमले’, यो भनाइ हो साहित्यकार नवराज लम्सालको। लोकप्रिय सञ्चारकर्मी एवम् मदन पुरस्कार विजेता लम्सालले कवि अर्जुनबाबु दाहालको सद्य प्रकाशित कवितासंग्रह ‘हिँड्न बाँकी बाटाहरू’ माथि दुईजना समीक्षकका विश्लेषण सुनेपछि यस्तो प्रतिक्रिया दिएका हुन्।

राजधानीमा बुधबार आयोजित कार्यक्रममा कृतिमाथि भारती न्यौपाने र चन्द्र ढकालले समीक्षा गरेका थिए। लम्साल यस्ता कवि हुन् जो प्रायः समालोचकलाई कटाक्ष गर्न पछि पर्दैनन्। उनी भन्ने गर्छन्, ‘समालोचकहरूसँग सधैँ गुनासो गर्ने कविमध्ये म एक हुँ।’ कविताको भाव नबुझी समालोचकले कवितामा अलिकति माया छ, अलिकति प्रेम छ, अलिकति देशभक्ति छ, अलिकति समर्पण छ, अलिकति विश्वास छ, नारीका कुरा छ, मुक्तिका कुरा छ जस्ता सामान्य टिप्पणी गर्दा कविहरूको मन दुख्ने गरेको लम्साल बताउँछन्।

सधैँभरि यही कोणबाट समीक्षा हुने गरेकोमा ‘हिँड्न बाँकी बाटाहरू’ माथि समीक्षकद्वय न्यौपाने र ढकालले कविताको वर्णनात्मक र ध्वन्यात्मक तहसम्म पुगेर चिरफार गरेको लम्सालको बुझाइ छ। उनले भने, ‘अब मलाई आशा के पलायो भने माधव घिमिरेले १०० वर्ष बाँच्छु बाबु भन्नुभएको थियो। उहाँले भनेअनुसार अब ४४ वर्ष बाँच्न बाँकी छ। मैले अब कवितालाई साँच्चै ध्वन्यात्मक, वर्णनात्मक र अनुभूतिको तहमा पुगेर समीक्षा गर्ने समालोचक पाएको छु। उहाँहरूलाई स्यालुट छ। हामीले खोजेको समालोचक यस्तै हो।’ बाँचेको समयका बिम्बहरू मिठासपूर्ण अभिव्यक्तिमा उतारिएकाले अर्जुनबाबुका दाहालका कविता लालित्यपूर्ण रहेको लम्सालले बताए। उनले भने, ‘आज अर्जुनबाबु दाहालले हामी सबैलाई एउटा गुन के लगाए भने अब कवितालाई हेर्ने दृष्टिकोण बदलिएछ।’

आफ्नै माटोको स्पर्श पाएँ : समीक्षक भारती न्यौपाने

‘हिँड्न बाँकी बाटाहरू’ भित्रका कविता पढ्दा गाउँमै पुगेँ, आमाको काखमा पुगेँ। कविता पढेपछि आमाको काख र गाउँ उस्तै रहेछ भन्ने बोध भयो। कवि र कविसँग भावना मिल्दो रहेछ। दाहालका कविता पढ्दा म त थांग्रामा झुन्डिएको सिमी टिप्न पुगेँ। बारीमा फक्रिरहेको काउलीको बोटमा पुगेँ। आफ्नै आँगनको तुलसीको मोठ वरिपरि घुम्न पो पुगेँ। आँगनमा पात झरेर फोहोर पारेको नीमको बोटमा पुगेँ। त्यो तितो नीमले प्राकृतिक उपचार गराउँछ। किनभने कवि दाहाल आफैँ प्राकृतिक चिकित्सक हुनुहुन्छ। उहाँले कवितामा यस्तैयस्तै सन्दर्भ ल्याउनुभएको छ।

परम्परागत रूपमा जुन कविता पढ्दै आएका थियौँ, त्यस्तो नभए पनि यसभित्रका कविताले भावगत सौन्दर्य बोकेर आएका छन्। त्यो सन्दर्भलाई बुझ्दै जाने हो भने यो कृति कविताको पाखनभेद हो, यहाँ हामीले जेठी मधु भेट्टाउँछौँ, यहाँ हामीले यार्सागुम्बा भेट्टाउँछौँ।

कविताको भावलाई कुनै तर्कले ओतप्रोत गरिएको छैन। कवितामा विचारलाई बाहिर निकालेर कुनै पनि सौन्दर्यलाई लिपपोत गरिएको छैन। शृंगार गरिएको छैन। यहाँ मौलिक र अर्गानिक कविता छ। सुरुमा त यस्तो काँचो पनि कविता हुन्छ त जस्तो लाग्यो। पढ्दै जाँदा कविता गाउँको माटो रहेछ भन्ने संग्रहका कविताबाट अनुभूत हुन्छ।

कविता गाउँमा उम्रिएको झारमा रहेछ। औषधिका लागि हामीले प्रयोग गर्ने बोटबिरुवामा रहेछ। आमाले दाउरामा पकाउँदै गरेको माटाको हन्डीमा रहेछ कविता त। अनि गाउँघरबाट बाध्यताले सहर पसेका बाध्यताका मनहरूमा कविता रहेछ।

कविताका लागि हामीले ठूलो विषयवस्तु हेर्नै पर्दाे रहेनछ। कविता लेख्न डोनाल्ड ट्रम्पलाई हेर्ने नै होइन, हाम्रो त आँगनको तुलसीको मोठको कविता होस्, आँगनमा रोपिएको सयपत्रीको कविता होस्।

मलाई त्यस्तो लाग्यो यो कविता पढ्दाखेरि यहाँ त जमिनबाट उठेको विषयवस्तु छ। यसैले यो कवितामा मैले सबैभन्दा बढी भाव पक्ष पाएँ। यहाँको भाव सान्दर्यलाई हेर्ने हो भने यो कविताबाट हामीले दसौँ कृति निकाल्न सक्छौँ। कविता सानासाना छन् लामा पनि छैनन्। भावहरूलाई अलगअलग पारेर टुक्राटुक्रा पारिदिने हो भने अनेकौँ कविता बन्छन्। कविताका पंक्तिपंक्तिमा भाव पाइन्छ।

त्यसैले म भन्छु, यो कविता काँचो कविता हो। यहाँभित्र काँचा कविता छन्। उहाँको कविताको कमजोर पक्ष नै यही हो। जसरी प्राकृतिक चिकित्सामा उहाँले काँचा चिजहरूलाई संकलन गरेर उपचार गर्नुहुन्छ, कविता पनि त्यस्तै छन्।

कविताका हरेक पंक्तिले तानेका छन्। तर्कले पोतेको कविता के कविता? यहाँभित्र त आफ्ना अभिव्यक्ति धेरै भेट्टाएँ। यहाँभित्र धेरै आत्मिक अभिव्यक्ति छन्। यहाँ कुनै तर्कले शृंगार गरिएको छैन। त्यसैले गर्दा मैले यो कविता संग्रहलाई निकै महत्त्वपूर्ण रूपमा लिएकी छु। यो कविता संग्रहमा आफ्नै माटोको स्पर्श पाएकी छु। अब कविता सरलभन्दा सरल लेखिनुपर्छ भन्ने बोध दाहालका कविताबाट पाइन्छ।

मलाई लाग्छ, दाहालले यो कविताभित्र हिँड्न बाँकी बाटाहरू लेख्नुभएको छैन, हिँडिसकेका बाटा लेख्नुभएको छ। समाजमा अरू पनि दाहाल छन्, जसले यस्तो बाटो हिँडिसकेका छन्। हामी प्रत्येकले हिँडेका छौँ यस्ता बाटा। कवितामा अभिव्यक्त बाटाहरू हामी सबैले छोएका छौँ। यी बाटाहरू सबै महसुस गरेका छौँ। यहाँ खुसीका बाटाहरू छन्, यहाँ रोएका बाटाहरू छन्, धिक्कारेका बाटाहरू छन्। यी सबै बाटाहरूलाई मैले महसुस गरेँ। यी बाटाहरू मैले पनि हिँडेकी छु, जसरी अर्जुनबाबु दाहालले महसुस गर्नुभएको छ।

समयको जालझेल, आफन्तहरूको अविश्वासजस्ता समाजका सानातिना कुराहरूले निकै घतलाग्दो गरी छोएका हुन्छन्। कहिलेकाहीँ एउटा शब्दले पनि हामीलाई बिझाउँछ। त्यस्ता शब्दले हाम्रो जीवन परिवर्तन गर्न सक्छ। कवितामा त्यस्तै कुरा अभिव्यक्त भएका छन्। विपन्न मान्छेहरू कसरी बाँचेका हुँदा रहेछन् भन्ने कुरा राम्ररी आएको छ। जीवनमा सबैभन्दा ठूलो कुरा संघर्ष गर्नुपर्दो रहेछ।

जातीय पहिचान र वर्गीय पहिचान अभिव्यक्त गर्दै दार्शनिक चेतसम्म प्रस्तुत भएका छन् दाहालका कवितामा। कविताका बिम्ब सामान्य लागे पनि बुझदै जाँदा गहकिला लाग्ने खालका छन्।

वैयक्तिक चेतमा दाहाल सफल हुनुभयो : चन्द्र ढकाल

अर्जुनबाबु दाहाललाई आज पहिलोपटक भेटेको हुँ। बोलचाल पनि भएको छैन। उहाँलाई मैले कविताबाट चिनेँ। उहाँको यो कविता संग्रहमा ५६ वटा कविता समेटिएका छन्। त्यसलाई मैले तीन तहमा राखेर समीक्षा गर्दछु– वस्तुविधान, शिल्पको कुरा र कविताको मूल्य।

कविले ५६ वटा कवितामा मुख्य सात वस्तुको संयोजन गर्नुभएको छ। पहिलो हो, अतीत मोह, यसमा जीवनप्रतिको मोह, ग्रामीण अवस्थाप्रतिको मोह छ। कवितामा डायस्पोरिक पक्ष पनि छन्।

व्यवस्थाप्रति आस्था र विश्वास दोस्रो सशक्त विषय हो। व्यवस्था सञ्चालकप्रति होइ उहाँको व्यवस्थाप्रति सम्मान र झुकाव छ। हामीले जुन परिवर्तन पाएका छौँ, त्यसमा दाहाल सन्तुष्टि देखिनुभएको छ।

नैतिकता अर्को विषय हो, नैतिकता समयसापेक्ष हुनुपर्छ भन्ने स्वर दाहालका कवितामा पाइन्छ। वर्तमान मानिसका नीच प्रवृत्ति कविताका चौथो विषय हो। सबै कविता यही सेरोफेरोमा छन्।

जीवनवादी दृष्टि दाहालका कवितामा पाइने अर्को विषय हो। सबै कविताको सार जीवनवादी रहेको पाइन्छ। यो चेतना व्यक्तिवादी चेतना हो। जीवन छ र त सबै थोक छ भन्ने रहस्यवादी चेतना पाइन्छ। सबैतिर विकृति रहे पनि जीवन अघि बढाउनुपर्छ भन्ने स्वर दाहालका कवितामा पाइन्छन्। यसैगरी यस संग्रहका कवितामा वैयक्तिक चिन्तन बढी छन्। प्रेम र स्वानुभूतिका विषय छन्। राष्ट्र र प्रकृतिप्रति प्रेमको चेतना पनि केही कवितामा अभिव्यक्त भएका छन्।

शिल्पअन्तर्गत शैली र विषयवस्तुको संयोजन पर्छन्। ‘नमस्कार’, ‘प्रिय दुश्मन’ शीर्षकका कवितामा व्यंग्यात्मक शिल्प प्रयोग गरिएको छ। हिँड्न बाँकी बाटाहरूमा प्रयुक्त दोस्रो शिल्प हो प्रतीकात्मकता र वर्णनात्मक अभिव्यञ्जना सिलसिलाबद्ध रूपमा प्रस्तुत भएका छन्। अभिव्यञ्जनामा आदि, मध्य र अन्त्यको संयोजन गरिएको छ। कविता सबै गद्य शैलीमा रचना गरिएका छन्। गद्य कवितामा विराम चिह्न बढी महत्त्वपूर्ण हुन्छन्। यस संग्रहका कवितामा प्रश्न चिह्न बढी आएका छन्, विस्मय चिह्न भएको भए अझै स्वादिला हुन्थे।

‘हिँड्न बाँकी बाटाहरू’ भित्रका कविता समसामयिक र व्यक्तिपरक छन्। वर्गीय चेत, जातीय चेत, लैंगिक चेत, सांस्कृतिक चेत अन्त्य हुँदैछ। यिनको ठाउँमा अब वैयक्तिक चेत बलियो भएर आएको छ। अबको समाज व्यक्तिपरक भइसकेको छ। जसले व्यक्तिपरक कुरा ल्याउँदै त्यो रूढिवादी हुन्छ। अब हिँड्ने बाटो भनेको व्यक्तिपरक बाटो हो। अबको कविता भनेको प्रविधि र व्यक्ति प्रवृत्तिको हुनुपर्छ। यसमा अर्जुनबाबु दाहाल सफल हुनुभएको छ।

पाठकीय प्रतिक्रियामा कसले के भने?

कार्यक्रममा नियात्राकार एवम् २०६५ सालमा ‘एक हातको ताली’ नियात्रा संग्रहका लागि मदन पुरस्कार विजेता युवराज नयाँघरेले आफूले नियात्रा र निबन्धमा लेख्दै आएका विषयलाई दाहालले कवितामार्फत जोडेकोमा खुसी व्यक्त गरे। उनले भने, ‘मैले लेखिरहेका आँगन, पिँढी, बार्दलीका कुरामा उहाँ पनि जोडिनुभएछ। मैले लेख्ने निबन्धका विषय पनि तिनै हुन्। उहाँले त्यसलाई काव्यिक रूप दिनुभएछ।’

समालोचक एवम् सञ्चारकर्मी हेम भण्डारीले पाठकीय प्रतिक्रिया दिँदै संग्रहभित्रका कविता सामान्य लागे पनि पढ्दै गएपछि मार्मिक रहेको बताए। उनले भने, ‘कविता के हो भन्नेबारे नयाँ विमर्श भएको छ। कविता विषय हो कि विचार हो कि शैली हो कि? फरकफरक दृष्टिकोणले हेरिँदो रहेछ।’ आफूले शैलीलाई बेवास्ता गर्ने र विचार आयो भनेमात्र कविता हुन्छ भन्ने मान्यता राख्ने उनको भनाइ छ।

भण्डारीले भने, ‘अर्जुनजीको कविता पाइने अर्को सबल पक्ष भनेको कविताभित्र आयुर्वेदिक संकथनको खोजीको ढोका खुला गरेको छ। हामीले अब यतातिर चिन्तन गर्नुपर्छ। यसले हाम्रो मौलिकताको संरक्षण गर्छ।’ अर्जुनबाबु दाहालका कविता शिखरनाथको भाष्य सम्झाउने खालका रहको भण्डारीले बताए। उनले भने, ‘कवि दाहालले कवितामार्फत नेपाली समाजलाई धेरै कुरा सिकाएको छ। अब आयुर्वेदिक संकथन कसरी गरिएको छ भन्ने कुराको खोजीमा ढिलाइ गर्नु हुँदैन।’

नाट्यकर्मी पुरु लम्सालले समकालीन नेपाली कविताका धेरै बाटा रहेका औँल्याउँदै अर्जुनका कविताले फरक बाटो रोजेको बताए। उनले दाहाललाई कविता प्रकाशनमा हौस्याएको सम्झिए। लम्सालले भने, ‘कवितामा विदेशी बिम्ब छैनन्। कविता सलल बगेका छन्। कविता पढ्दा मेरै लागि लेखेको जस्तो लाग्छ।’ पहिलो कविता संग्रहमा दाहाल बलिया कविता लिएर आएको उनको भनाइ छ।

समालोचक निमग्ना घिमिरेले कविताको बुझाइ र अर्थ व्यक्त गर्ने तरिका फरकफरक रहने बताइन्। उनले भनिन्, ‘कवि दाहालले हाम्रै सेरोफेरो र नेपाली माटोका कुरा कवितामार्फत व्यक्त गर्नुभएको छ।’ मान्छे क्षणिक स्वार्थका लागि आफूमात्रै अघि बढ्ने खोज्ने भाव यसमा व्यक्त भएको छ। उनले कविता पढ्दा गाउँ छाड्दाको पीडा स्मरण हुने बताइन्। कविता जीवनप्रति आशावादी दृष्टिकोण पाइने घिमिरेले बताइन्।

कलमका साथीकी शोभा सरभले सबै व्यथा र शक्ति एउटै रहेछ, दुःखसुख उस्तै रहेछ, अनि किन केही नगर्ने त भनेर कलमका साथीमा आबद्ध भएको बताइन्। दाहालका कवितामा आफूलाई पनि भेट्टाएको उनको भनाइ थियो। उनले भनिन्, ‘दाहालका हाम्रै गाउँ, घर, समाज बोलेको छ। सामान्य भाषामा पनि गहन भाव व्यक्त गर्न सकिँदो रहेछ भन्ने उदाहरण दाहालका कवितामा पाइन्छ। अनुभवलाई काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ।’

कार्यक्रम सञ्चालकसमेत रहेकी समीक्षक अनिता कोइरालाले ‘हिँड्न बाँकी बाटाहरू’ भित्रका हरेक कविता मार्मिक र चोटिला रहेको बताइन्। उनले भनिन्, ‘मैले उहाँका कवितमा जीवनमा सकारात्मक पक्षलाई उजागर गरेको पाएँ।’

स्रष्टा अर्जुनबाबु दाहालले यसअघि आफूले धेरै कविता लेखेर फ्याँकेको स्मरण गर्दै भने, ‘धेरै कविता पढेर फ्याँकिदिन्थेँ। अहिले यो कार्यक्रम भइरहँदा ती कविताको सम्झिरहेको छु।’ उनले कविता प्रकाशन गर्न हौसला दिनेहरूलाई धन्यवाद दिए। कवि अर्जुनबाबु दाहाल गीतकार र समीक्षकसमेत रहेका कवि दाहाल आयुर्वेदिक चिकित्सक हुन्। उनी आयुर्दा आयुर्वेदका सञ्चालक छन्।

कार्यक्रममा कलमका साथीकी अध्यक्ष गीता रेग्मीले कृतिकार दाहाललाई माल्यार्पण गरेकी थिइन्। नियात्राकार युवराज नयाँघरेले कलमका साथीलाई पाँच हजार रुपैयाँ सहयोग गरेको जानकारी गराइएको थियो।

प्रकाशित: ५ माघ २०८१ ९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast