अछाममा फोन अवरुद्ध, बैंकिङ सेवासमेत प्रभावित

सागर रावल ५ माघ २०८१ १८:२२
60
SHARES
अछाममा फोन अवरुद्ध, बैंकिङ सेवासमेत प्रभावित

अछाममा पूर्वाधार विकासका गतिविधि बढ्दै गए पनि टेलिकम सेवाको विस्तार सुस्त रहेको गुनासो स्थानीय बासिन्दाले गरेका छन्। पञ्चदेवल विनायक नगरपालिकाका केही वडामा सञ्चार सुविधा सहज नभएको स्थानीय धीरेन्द्र सञ्ज्यालले बताए।

मोबाइल फोनको सेवा प्रभावकारी नहुँदा दुःख झेल्नपुरेको स्थानीय बासिन्दा बताउँछन्। उनीहरूका अनुसार आकाशमा बादल लाग्नै हुँदैन। हावाहुरी र पानी पर्नै हुँदैन नेटवर्क हराइसक्छ। सन्ज्याल भन्छन्, ‘नेपाल टेलिकमलगायत सञ्चारप्रदायक कम्पनीबाट उपलब्ध हुने सेवा मौसम खराब हुँदा बन्द हुन्छ।’ कतै टावर बनेका छैनन्। कतै बीचमा अलपत्र छाडिएका छन्। यस्तै कतिपय ठाउँमा टावरले नै काम गरेका छैनन्।

सञ्चार सुविधा नहुँदा बैंकिङ कारोबार समयमा नहुने र नगरपालिकाबाट हुने सेवा प्रवाहमा पनि विलम्ब हुने गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन।सञ्ज्याल भन्छन्, ‘बैंकिङ सेवा उपलब्ध नहुँदा टाढाबाट पैदल आएका वृद्धवृद्धा बैंकसम्म पुगेर रित्तो हात फर्कने गरेका छन्।’

जिल्लामा टेलिकमको सेवा विस्तारका लागि केन्द्रको भर पर्नुपरेको बताउँछन् जिल्ला समन्वय समितिका अध्यक्ष ललितबहादुर कुँवर। अघिल्लो सरकारका सञ्चारमन्त्री रेखा शर्मासँग अनुरोध गरेपछि सेवा विस्तारका लागि आश्वासन मिलेको थियो। उनले भने, ‘धनगढीबाट टेलिकमको विस्तारका लागि पूर्ण रूपमा काम अगाडि बढाउने र जीर्ण अवस्थामा रहेका टावर मर्मत कार्य अगाडि बढाउने कुराकानी भएको थियो। यस क्रममा पञ्चदेवल विनायक नगरपालिकामा वडा नं ९ भानकोटको चिल्तडामा टावर निर्माण गरिएको छ।’  ५२८ नम्बरको टावर बने पनि नेटवर्किङ समस्या भने समाधान हुन सकेको छैन।

‘समस्या समाधानका लागि न स्थानीय सरकारले चासो दिएको छ न त प्रदेश सरकारले नै गम्भीर छ’, सञ्ज्यालले भने। उनका अनुसार अछाममा जेठदेखि कात्तिकसम्म नेटवर्कको समस्या धेरै हुन्छ।

टेलिकम सेवा सहज बनाउन स्थानीय बासिन्दाले स्थानीय तह, प्रदेश र संघीय सरकारसँग धेरैचोटि ताकेता गरेका हुन्। तर कुनै पनि सरकार गम्भीर नभएको गुनासो उनीहरूको छ। सन्ज्यालले भने, ‘गाउँमा धेरै कुरा परिवर्तन भएको छ तर मोबाइलको नेटवर्क टिप्दैन।’

गाउँमा आर्थिक गतिविधि बढ्दै गएकाले फोनका प्रयोगकर्ता बढेका छन्। पञ्चदेवल विनायक–९ कालेकाँडा भाटगाउँमा २०७८ सालमा नेपाल टेलिकमको टावर निर्माण भएको थियो। तर सञ्चालन हुन सकेन।

नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका अनुसार अछामको मंगलसैन, जुम्लाको चन्दननाथ, हुम्लाको खार्पुनाथ र मुगुको खत्याडमा टावर बनाइएका मात्र छन्। तिनले तिनले कामका लागि उपयोगी छैनन्। कालेकाँडाको भाटगाउँमा बनेको टावर बनाउन खटिएका मजदुरले ढुवानी नपाएको गुनासो गरेका छन्। दैलेखको खिड्किज्युलाबाट अछामको पञ्चदेवल विनायक ९ कालेकाँडासम्म गरेको ढुवानी मजदुरले नपाएको भाटगाउँका जनकराज गिरी बताउँछन्। उनी भन्छन्, ‘ठेकेदारको लापरबाहीका कारण चार वर्षदेखि अलपत्र छ।’

पञ्चदेवल विनायक नगरपालिका मात्र नभई अधिकांश भूभागमा सूचना र सञ्चारबाट वञ्चित रहेको गिरीले बताए। उनले भने, ‘बरु २० वर्षपहिले ल्यान्डलाइनबाट फोन लाग्थ्यो। अहिल न मोबाइल छ न ल्यान्डलाइन।’

प्रकाशित: ५ माघ २०८१ १८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast