
काठमाडौँ– चीनको जनसंख्या घट्न थालेको छ। ६ दशकभन्दा बढीको वृद्धिपछि सन् २०२४ मा लगातार तेस्रोपटक चीनको जनसंख्या घटेको हो।
कुनै समय विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चीनलाई सन् २०२३ मा भारतले उछिनेको थियो र बेइजिङले अनुदान र प्रजनन पक्षधर प्रचारप्रसारमार्फत घट्दो जन्मदरलाई बढावा दिन चाहेको थियो।
सन् २०२३ मा एक अर्ब ४१ करोड जनसंख्या रहेको चीनको जनसंख्या सन् २०२४ को अन्त्यसम्ममा एक अर्ब ४० करोड ८० लाख पुगेको बेइजिङको राष्ट्रिय तथ्यांक विभागले जनाएको छ।
सन् २०२२ को तुलनामा यो गिरावट कम तीब्र रहेको तथ्यांकले देखाएको छ।
चीनले सन् १९८० को दशकमा अत्यधिक जनसंख्याको डरका कारण लागू गरेको ‘एक सन्तान नीति’ सन् २०१६ मा अन्त्य गरेको थियो र सन् २०२१ मा एक दम्पतीले तीन सन्तान जन्माउन पाउने बनाएको थियो।
तर यसले लामो समयदेखि आर्थिक वृद्धिको चालकको रूपमा आफ्नो विशाल श्रमशक्तिमा निर्भर रहेको देशको जनसांख्किीय गिरावटलाई उल्टाउन असफल भएको छ।
धेरैले जन्मदर घट्नुको मुख्य कारण जीवनयापनको बढ्दो लागतका साथै श्रमशक्तिमा जाने र उच्च शिक्षा हासिल गर्ने महिलाको बढ्दो संख्या रहेको बताएका छन्।
‘इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’ का अनुसार सन् २०३५ सम्ममा चीनको कूल जनसंख्याको करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथिको हुनेछ।
शुक्रबार सार्वजनिक गरिएको तथ्यांकअनुसार अहिले ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसंख्या ३१ करोड ३१ लाख पुगेको छ। यो देशको एक चौथाइभन्दा केही प्रतिशत मात्र कम हो र सन् २०२३ मा रेकर्ड गरिएको करिब २९ करोड ७० लाखभन्दा केही प्रतिशत बढी हो।
तथ्यांकले चीनको जन्मदर विश्वमा सबैभन्दा कम जन्मदर भएका मुलुकको अघिल्लो वर्षको तुलनामा केही बढेर प्रति एक हजार ६.७७ व्यक्ति पुगेको छ।
गत सेप्टेम्बरमा अधिकारीहरूले ६० वर्षको उमेरमा तोकिएको वैधानिक अवकाशको उमेर क्रमशः बढाउने बताएका थिए। यो दशकौंदेखि उठाइएको थिएन। यो नियम जनवरी १ देखि लागू भएको हो।
चीनको अघिल्लो सेवानिवृत्ति उमेर आर्थिक, पोषण, स्वास्थ्य र रहनसहनमा तीव्र सुधार ल्याउनुभन्दा पहिलेको व्यापक अभाव र गरिबीको समयमा तय गरिएको थियो।
हालैका वर्षहरूमा विश्वको दोस्रो ठूलो अर्थव्यवस्थाले सुस्त वृद्धिको सामना गर्नुपरेको छ।-रासस