मण्डलामा ‘मुक्कुमलुङ’ मञ्चन

हिमाल प्रेस ४ माघ २०८१ १३:१०
132
SHARES
मण्डलामा ‘मुक्कुमलुङ’ मञ्चन तस्बिर: मण्डला थिएटर

काठमाडौँ- थापागाउँस्थित मण्डला थिएटरमा माघ ४ (आज) देखि नाटक ‘मुक्कुमलुङ: चोःत्–लुङ अफ याक्थुङ’ को मञ्चन सुरु भएको छ। नाटक बेलुका सवा पाँच बजे मञ्चन हुनेछ।

माघ ४ देखि सुरु भएको नाटक २७ गतेसम्म चल्ने थिएटरले जनाएको छ। नाटक याक्थुङ समुदायको प्राचीन सभ्यता र परम्पराको धरोहर चोत्लुङ (पवित्र गुफा)सँग सम्बन्धित छ। उक्त गुफालाई याक्थुङ समुदायले आफ्नो सांस्कृतिकाे प्रतीकको रूपमा पुज्दै आएका छन्।

अहिले चोत्लुङ क्षेत्रलाई पाथीभराको नामले चिनिन्छ। जहाँ केबुलकार बनाउने भन्ने विषयमा विवाद चलिरहेको छ। याक्थुङ समुदायले आफ्नो पहिचान र संस्कृति अतिक्रमण भइरहेकाे भन्दै नो केबुलकार अभियान पनि चलाइरहेका छन्। रंगमञ्चमा कलाकारहरुले यिनै सांस्कृतिक धरोहर र इतिहास जाेगाउनुपर्ने सन्देश ‍दिन खाेजेका छन्।

मुन्धुमअनुसार पृथ्वीको पहिलो मान्छे  ‘मुजिङ्ना खेयङ्ना’ काे कथाबाट नाटक सुरु गरिएकाे छ। मुन्धुमदेखि वर्तमान समयसम्म आइपुग्दा मुक्कुम्लुङलाई पुँजीवादी विकासको प्रारूपले कसरी कुरूप बनाउन खोजिरहेको छ? आदिवासी याक्थुङ समुदायसँग मुक्कुम्लुङको सम्बन्ध के हाे?,  मुक्कम्लुङको नाममा भइरहेको दमनले भयावह युद्धको पूर्वाभास किन दिइरहेको छ? लगायतका प्रश्नहरूमाथि नाटकले बहस गर्ने प्रयास गरेकाे छ।

चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक एक थिएटर नेपालको सहकार्यमा बनेको छ। नाटक मञ्चनको पूर्वसन्ध्यामा माघ ३ मा विशेष सोको आयोजना गरिएको थियो। नाटक गीलु रातोस, अनिल सुब्बा र बिष्णु मोक्तानको संयुक्त लेखनमा बनेको छ। नाटकका परिकल्पनाकार र निर्देशक अनिल सुब्बा हुन्।

लेखक बिष्णुसहित नाटकमा वेदना राई र सुरज तमू प्रमुख पात्र बनेका छन्। सहायक भूमिकामा प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू सौजन सेनेहाङ, मणि के राई, भूमिका थारू, पवनकुमार गोले, अजय लामा, डेविड सुवेदी, सञ्जित थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजालीको अभिनय छ।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका सवा पाँच बजे र शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ।

प्रकाशित: ४ माघ २०८१ १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast