काठमाडौँ- बुधबार मात्रै नेपाली कांग्रेसका मन्त्रीसँग छलफल गरेका सभापति शेरबहादुर देउवाले आज (बिहीबार) तिनै मन्त्रीहरूसँग संसदीय दल कार्यसमितिमा छलफल गर्दैछन्। यसरी बारम्बार देउवाले सरकारमा रहेका मन्त्रीसँग कुराकानी गर्नुलाई अनौठो गरी लिइदैछ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक आज बिहान ८ बजे बस्नेगरी मन्त्रीहरूलाई छलफलमा बोलाइएको छ। बैठकमा दलबाट प्रतिनिधित्व गरेका मन्त्रीहरूको पनि ब्रिफिङ सुन्ने तयारी रहेको घिमिरेले बताए।
बैठकमा उपप्रधान तथा सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही तथा राज्यमन्त्रीहरू रुपा विक र पूर्णबहादुर तामाङलाई बोलाइएको हो।
यसबाहेक बैठकमा संसदीय दल कार्यसमितिका सदस्यहरू देउवासहित पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रहेनछन्। यस्तै राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुनेछन्।