काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्यवृद्धि गरेको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
प्रट्रोलमा प्रतिलिटर रू.२ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रू.३ वृद्धि गर्ने निर्णय भएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बुधबार मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमको भनाइ छ।
नयाँ तोकिएको मूल्य बुधबार राति १२ बजेदेखि लागु हुने निगमे जनाएको छ।
मूल्य वृद्धि भएसँगै पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्ज) मा पेट्रोल प्रतिलिटर रू. १६२.५० र डिजेल तथा मट्टितेल प्रतिलिटर १५३.५० पुगेको छ।
त्यस्तै दोस्रो वर्ग (सुर्खेत र दाङ) मा पेट्रोलको मूल्य प्रतिलिटर रू. १६४ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रू. १५५ हुने भएको छ। तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा पेट्रोलको मूल्य प्रतिलिटर रू. १६५ र डिजेल तथा मट्टितेल प्रतिलिटर रू. १५६ भएको छ।
यसअघि निगमले गत पुस १६ गते इन्धनको मूल्य वृद्धि गरेको थियो।