मकवापुर- बज्रबाराहीमा रहेकाे सुमार्गी भवनमा दोस्रो ‘थाहा फिल्म फेस्टिभल’ मा फिल्म समीक्षाबारे छलफल गरिएकाे छ। फेस्टिभल दोस्रो दिन ‘किन चाहिन्छ फिल्म समीक्षा’ शीर्षकमा तीन समीक्षकहरुबीच अन्तरसंवाद गरेका थिए।
छलफलमा समीक्षक श्रीजु सरल, प्रशन्न माली र प्रभाकर गौतम सहभागि थिए। अहिले फिल्म क्षेत्रमा आलाेचनात्मक समीक्षाको आवश्यकता बढेको उनीहरुकाे निष्कर्ष छ।
समीक्षक मालीले नेपालमा कोभिडपछिको समयमा इन्फ्लुएन्सल कल्चरले फिल्म समीक्षाको क्षेत्र प्रभावित भइरहेको तर्क गरे। उनले भने ‘सेलिब्रिटी तथा सोसल मिडिया इन्फ्लुएन्सरको माध्यमबाट फिल्म समीक्षा प्रभावित भइरहेको छ। अहिले फिल्ममा स्वतन्त्र र निर्भीक समीक्षाको खाँचो झन् बढेको छ।’
समीक्षक मालीको मतमा सहमती जनाउँदै अन्य दुईले पनि वर्तमान समयमा फिल्म समीक्षामा विश्वसनीयता र इमानदारी कायम राख्न समीक्षकहरू थप सचेत र प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे।
फिल्मले समग्र समाजको मानसिकतालाई आकार दिने सामर्थ्य राख्ने भएकाले यसको समीक्षा हुनु आवश्यक रहेको पत्रकार गौतमको तर्क थियो। ‘फिल्म समीक्षा गर्दा पर्दाभित्रका कुरामा मात्र सीमित हुनु हुँदैन्। पपुलर कल्चरका विभिन्न पक्ष र आयामबारेमा पनि समीक्षकहरुले ध्यान दिनु जरुरी छ।’ उनले भने।
समीक्षाका क्षेत्रमा विभिन्न भूमिकामा छरिएर रहेका सबैले सामूहिक हस्तक्षेप गर्न सकेमा मात्रै नेपालमा ‘रिभ्यू कल्चर’ले सार्थकता पाउने उनले बताए। फिल्मको मात्र नभई समीक्षक र समीक्षाको पनि समीक्षा हुनुपर्ने उनकाे तर्क थियो।
समीक्षक सरलले फिल्म भनेको संविधान र समीक्षा संसद रहेको तर्क गरिन्। ‘फिल्मले हामीलाई चराको आँखा दिन्छ। जसरी चराले माथिबाट हेर्दा भुइँको व्यापक दृश्य एकसाथ देख्न सक्छ फिल्म हेर्दा हामीले त्यस्तै दृश्य देख्न सक्छौँ।’ उनले भनिन्, ‘दैनिक जीवनमा आफूले गर्ने गल्ती, लिने निर्णयको असर कहाँ र कसरी परिरहेको छ हामी छुट्याइहाल्न सक्दैनौँ तर, फिल्मभित्रका हामीजस्तै पात्रहरूलाई हेरेर हामी आत्मसमीक्षा गर्न सक्छौँ र आफूलाई सच्याउन सक्छौँ। फिल्मको महत्त्व हुने भएकाेले फिल्म समीक्षाको पनि आवश्यकता हुन्छ।’
फिल्म समीक्षाको महत्त्व, प्रभाव, आवश्यकता र अवसरसम्मका साथै आममानिसले खाने भोजनदेखि लगाउने लुगासम्मको छनोटमा फिल्मले प्रभाव पार्ने उनीहरुले सुनाए।
अनलाइन पोर्टलमा समीक्षा गर्दै आएकी श्रीजु र स्वतन्त्र रुपमा युट्युबमा समीक्षा गर्दै आएका प्रशन्नले आफूले पाएको अवसर भोगका समस्या, चुनौतीबारे छलफल गरे। यस्तै, गौतमले लेखन अनुभवसँगै फिल्म समीक्षाका लागि नेपालमा भइरहेका सार्वजनिक प्रयासबारे आफ्ना धारणा राखे। अनौपचारिक रुपमा एक अर्कालाई प्रश्नोत्तर गर्दै तीनै जना वक्ता र सहजकर्ताको शैलीमा अन्तसंवाद भएको थियो।
प्रशन्न मालीले फिल्म मेकिङमा पनि संलग्न छन्। अन्तरसंवाद सेसनअघि फेस्टिभलमा उनकै छोटो फिल्म ‘अन्त वार्ता’ देखाइएको थियो।
गत पुस २८ देखि सुरु भएको फिल्म फेस्टिभल मंगलबार (आज) समापन हुँदैछ। फेस्टिभलमा सर्ट फिल्म, फिचर फिल्म र डकुमेन्ट्रीसमेत गरी जम्मा २० फिल्म प्रदर्शन गरिएको थियो। फेस्टिभलको पहिलो दिन ‘नेपाली फिल्मको विविधता’ विषयमा रंगकर्मी एवं फिल्मकर्मी सुलक्षण भारती र कलाकार नवीन न्यौपानेबीच प्रश्नोत्तर कार्यक्रम भएको थियो।
‘पर्यटनका लागि फिल्म’ को नारासहित आयोजना हुँदै आएको यस महोत्सवले फिल्ममार्फत् आन्तरिक पर्यटनलाई जोड्ने लक्ष्यसमेत आयोजक थाहा केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए।