काठमाडौँ- जुनिम गहतराजको निर्देशनमा बनेको फिल्म ‘ताण्डवम्’ आगामी फागुन ९ मा प्रदर्शन हुने भएको छ। फिल्मको पोस्टर सार्वजनिक गर्दे निर्माण टिमले फागुन ९ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्।
पोस्टरमा फिल्मका कलाकार पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अंकित खड्का, अनोज पाण्डे र जुनिम गहतराजको चरित्र प्रस्तुत गरिएको छ।
कलरिस्ट जुनिमको डेब्यु निर्देशनमा बनेको फिल्म हाे ‘ताण्डवम्’। उनले यसअघि ‘पानीफोटो’, ‘पशुपति प्रसाद २ः भष्मेडन’, ‘खुस्मा’, ‘चिसो मान्छे’ र ‘परस्त्री’ लगायतका दर्जन बढी सिनेमामा कलरिस्टको रूपमा काम गरिसकेका छन्।
‘ताण्डवम्’ धर्मसँग सम्बन्धित रहेको निर्माण टिमले जनाएको छ। टिमकाअनुसार फिल्ममार्फत पहिलो सन्तानको प्रतिक्षामा रहेका एक दम्पत्तिको जीवनमा आइपर्ने अकल्पनिय घटनाक्रमलाई प्रस्तुत गरिएको छ। फिल्म पारिवारिक तथा एक्सन थ्रिलर जनरामा बनेको छ। फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन्।
सिंहदेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन्। हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत छ।