
काठमाडौँ- नेपाल–भारतबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। रुपन्देही जिल्लाको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा संयुक्त सैन्य अभ्यास सम्पन्न भएको हो।
नेपाली सेना र भारतीय सेना सम्मलित संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ को १८ औँ संस्करण पुस १६ गतेदेखि सुरू भएको थियो।
नेपाली सेनाका बलाध्यक्ष रथी प्रदिपजंग केसीले सोमबार विशेष कार्यक्रमका बीच सैन्य अभ्यास समापन गरेका थिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै केसीले अभ्यासका क्रममा दुवै देशका फौजले प्रदर्शन गरेको व्यावसायिक दक्षता, उच्चस्तरको समर्पण र सामूहिक लगाव प्रशंसनीय रहेको उल्लेख गरे।
संयुक्त अभ्यास निर्देशक सहायक रथी सुरज गुरुङले अभ्यासबारे जानकारी गराएका थिए। त्यस्तै भारतीय सेनाको अभ्यास अब्जर्बर समूहका तर्फबाट बिग्रेडियर जनरल गोविन्द प्रविणले आफ्नो धारणा राखेका थिए।
विपद् व्यवस्थापन, प्रतिविद्रोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषयहरू समावेश गरी सञ्चालन भएको अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी निराजन कटवाल र भारतीय सेनाबाट कर्नेल जपेन्दरपाल सिंहको नेतृत्वमा दुवै देशका ६६८ सैनिक सहभागी थिए।
समापन कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी प्रेमबहादुर पुन, रथीवृन्द, अधिकृत, नेपालका लागि भारतीय सैनिक सहचारीलगायतको उपस्थिति रहेको थियो।
विसं. २०६७ सालबाट नेपाल र भारतमा आलोपालो सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यासले दुवै देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै सकल दर्जामा पेसागत सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।