कमल थापालाई एकताको ‘हतार’, लिङ्देनलाई छैन ‘वास्ता’

किरण पौडेल २९ पुष २०८१ २१:३६
82
SHARES
कमल थापालाई एकताको ‘हतार’, लिङ्देनलाई छैन ‘वास्ता’ पृथ्वी जयन्तीका दिन राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापानमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन। तस्बिर स्रोत : लिङ्देनको फेसबुक

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटघाटपछि पूर्वपञ्चहरूको दलमा नयाँ तरंग उत्पन्न भएको छ। उनीहरूबीच केही दिनअघि ‘राष्ट्रवादी’ शक्ति एक हुनुपर्नेमा कुरा भएको थियो। काठमाडौँकै एक होटलमा भएको भेटमा दुई नेताले वर्तमान राजनीतिक परिस्थितिका बारेमा जुट्नुपर्नेमा जोड दिएका थिए।

पार्टीमा एउटै पदका प्रतिस्पर्धी रहेर विभाजनमा पुगेका यी दुई नेता एकताका लागि जुट्न थालेपछि दुवै राप्रपाका कार्यकर्तामा चासो बढेको हो। राप्रपाका अध्यक्ष र राप्रपा अध्यक्ष थापाबीच केही वर्षयता राम्रो सम्बन्ध थिएन।

विगतमा एउटै पार्टीमा रहे पनि गत महाधिवेशनको एउटै पद (अध्यक्ष)मा भिड्न पुग्दा सम्बन्ध चिसिएको थियो। नतिजा लिङ्देनको पक्षमा आउँदा थापा हारेर पार्टीबाटै बाहिरिए। थापा राप्रपा नेपाल पार्टी खोलेर बसेका छन्। तिनै पुराना दुई प्रतिस्पर्धीबीच अहिले फेरि एकताको चर्चा चल्न थालेको छ। टुटफुट र एकताको आयाम चलिरहने राप्रपामा फेरि मिलन हुनुचाहिँ अनौठो होइन।

लिङ्देन-थापाबीच अहिले सबै कुरामा समानता छ। उनीहरू दुवैको एजेन्डा एउटै छ भने ‘स्कुलिङ’ फरक छैन। हारको पीडाले थापाले राप्रपा छाडेका थिए। अहिले तिनै थापाले राप्रपासँग एकताको कुरा उठाइरहेको नेताहरू बताउँछन्।

‘सामान्य कुराकानी भएको हो। एकतै भइहाल्ने किसिमको वातावरण बनेको होइन,’ राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला भन्छन्। राप्रपाका नेता भने एकता भइहाल्ने गरी कुरा नभएको बताउँछन्। ‘एकता भइहाल्छ भन्ने कुरा बजारमा आएको छ तर त्यो सम्भव देखिँदैन,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘सैद्धान्तिक रूपमा एकता हुनुपर्छ भन्ने त भइहाल्छ।’

एकताका विषयमा राप्रपामा खास कुरा उठेको छैन। राप्रपाका एक पदाधिकारीका अनुसार थापासँग एकता गर्नुपर्छ भन्ने विषयमा राप्रपामा दुई धार देखिन्छ। पार्टीभित्र पनि असन्तुष्ट पक्ष दह्रो बन्दै गएको छ। महामन्त्री धवलशमशेर राणालाई संगठन विभागबाट हटाएपछि थप असन्तुष्टि बढेको छ। यसैले पनि लिङ्देन थापासँग एकता गरिहाल्ने ‘मुड’ मा नपुगेको राप्रपा निकट नेताहरू सुनाउँछन्।

थापा भने एकताका पक्षमा लागेका छन्। यसपटक एकताको प्रस्ताव लगेको पनि थापाले हो। ‘हामी (राप्रपा नेपाल)ले नै एकताको प्रस्ताव लगेको हो,’ राप्रपा नेपालका महामन्त्री बर्तौला भन्छन्। राप्रपाका नेताहरूका अनुसार थापाले विगतमा आक्रोशित भएर राप्रपा छाडेर ‘गल्ती महसुस’ गरेको बताइरहेका छन्। उनले त्यसबेला राजाको एजेन्डा छाडेको बताएका थिए।

लिङ्देनसँग भिड्दा पूर्वराजा ज्ञानेन्द्र शाहले ‘हस्तक्षेप’ गरेको भन्दै उनले राजाको एजेन्डा छाडेका थिए। थापाले फेरि राजावादी एजेन्डा बोकेका छन्। यसपछि राप्रपा नेपाल स्थापना भए पनि उनीनिकट नेताहरूसमेत नयाँ पार्टी गएनन्। थापाको प्यानलबाट राप्रपामा चुनाव लडेका कुन्ती शाही, भुवन पाठक र ध्रुवबहादुर प्रधान थापाको पछि लागेनन्। कतिपय नेताहरू थापाको पार्टीमा गए त लामो समय टिकेनन्। यसले पनि थापा कमजोर बनेका छन्। ‘पाको उमेर, सानो पार्टी अब एकता गर्नुपर्छ भन्नेमा उहाँ (थापा) पुग्नु स्वाभाविक पनि हो’, राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्।

पृथ्वी जयन्तीका अवसरमा दुवै पार्टीले चियापान कार्यक्रम आयोजना गरेका थिए। दुवैको कार्यक्रममा दुवै नेतालाई निम्ता थियो। थापाको कार्यक्रममा लिङ्देन गएनन्। थापा भने लिङ्देनको कार्यक्रममा गएका थिए। यसले पनि एकतामा जोड थापाको रहेको राप्रपा नेताहरूको दाबी छ। राप्रपाको कार्यक्रममा गएर थापाले एकताकै पक्षमा कुरा गरेका थिए।

‘राप्रपा नेपालको कार्यक्रममा लिङ्देनबाहेक अन्य नेताहरू सहभागी हुनुहुन्थ्यो’, राप्रपा नेपालका महामन्त्री बर्तौला भन्छन्, ‘पशुपतिशमशेरसहितका नेताहरू हाम्रो कार्यक्रममा आउनुभयो। बरू लिङ्देनकै कार्यक्रममा राप्रपा नेताहरू थिएनन्।’

प्रकाशित: २९ पुष २०८१ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast