
काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को १३ औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
साधारणसभाले गत आर्थिक वर्षको आर्थिक कारोबारलाई स्वीकृत गर्दै १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको छ।
यस पश्चात एनसीएचएलको चुक्ता पुँजी रू. एक अर्ब २६ करोड ८२ लाख ७० हजार ९ बराबर हुने र अधिकृत पुँजी वृद्धि गरी रू.२.२५ पुर्याउन साधारणसभाले स्वीकृत गरेको छ।
कम्पनीले पुँजी वृद्धिमार्फत नेशनल पेमेन्ट स्वीच, नेशनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्ने एनसीएचएलले जनाएको छ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीबाट फछ्र्यौट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएसँगै खुद नाफा ६.२ प्रतिशतले वृद्धि भएको छ।
साधारणसभाले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरूलाई मनोनित गरेको छ। वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा हिमालयन बैंकका उपप्रमुख कार्यकारी अधिकृत उज्जवल राजभण्डारी, नेपाल इनभेष्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश ढकाल तथा सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि सुजन मल्ल मनोनित भएका हुन्।
सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका एक जना, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंक, फाइनान्स कम्पनी र स्वतन्त्र गरी क्रमशः १–१ जना रहेका छन्।
एनसीएचएलमा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।