दाङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देश विकासका लागि सामाजिक र सांस्कृतिक रूपान्तरण हुन जरूरी रहेको बताएका छन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी दाङको आयोजनामा आज (आइतबार) घोराहीमा भएको ‘नेपालको संविधान २०७२ दलित अधिकार तथा प्रभावकारी कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले त्यसका लागि दलित समुदाय आर्थिक, सामाजिकरूपमा सशक्तीकरण र आम रूपमा समाजिक जागरणको आवश्यकता रहेको बताएका हुन्।
महासचिव पोखरेलले धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराले सिर्जना गरेको संकीर्ण सोचका कारण समाजमा उचनिचको व्यवहार हुने गरेको भन्दै यसलाई भत्काउन जरूरी रहेको बताए। उनले धर्मका नाममा हुने विभेदलाई चिर्नका लागि सामाजिक आन्दोलन चाहिने जिकिर गरे।
‘संविधानमा लेखेर मात्रै यो समस्या समाधान हुँदैन। छुवाछूतजन्य व्यवहारमै परिवर्तन गर्न लाग्नुपर्छ,’ महासचिव पोखरेलले भने, ‘गलत संस्कृतिहरुलाई सामाजिक आन्दोलनका माध्यमबाट बदल्नुपर्छ। त्यसका लागि सबै लागौँ।’ दलित समुदायका पुर्ख्यौली पेसालाई आधुनिकीकरण गर्दै आर्थिक सशक्तीकरण गर्न सकेमा सामाजिक अवस्था सुधारमा योगदान पुग्ने उनको भनाइ थियो।