
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक कार्यक्रममा पटकपटक दिने गरेको अभिव्यक्ति हो, ‘हामी तत्काल पार्टी महाधिवेशनमा लाग्छौँ।’ उनी केन्द्रीय समिति बैठकबाट महाधिवेशन मिति तोक्ने बताउँथे। माओवादीको पुस २१ देखि पुस २४ सम्म बसेको केन्दीय समिति बैठकमा प्रचण्डले आफ्नो अभिव्यक्तिअनुसार महाधिवेशन मिति घोषणा गर्ने धेरैको अपेक्षा थियो।
महाधिवेशन मिति तोक्नुको सट्टा ६ महिना अभियान चलाउने घोषणा भएपछि प्रचण्ड तत्काल महाधिवेशन गर्ने पक्षमा नरहेको स्पष्ट भएको छ। यसबाट महाधिवेशनको आसमा रहेका कार्यकर्ता पनि हिस्स भएका छन्।
केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशनको पनि माग भएको थियो। माओवादी उपमहासचिव वर्षमान पुनले प्रतिपक्षमा, पार्टी नीति फेर्नुपर्नेजस्ता विषय उठाएर विशेष महाधिवेशन तोक्न अनुरोध गरेका थिए। यसैगरी कतिपय नेताले नवौँ महाधिवेशनको माग गरेका थिए।
माओवादी नेताहरूका अनुसार अब एक वर्ष पार्टी महाधिवेशन हुनेछैन। माओवादीले ६ महिना अभियान चलाउनेछ भने त्यसपछि बसेको केन्द्रीय समिति बैठकले मात्र महाधिवेशन मिति तोक्नेछ। तत्काल महाधिवेशन मिति नतोक्नुलाई माओवादीका नेताहरूले प्रचण्डको चतुर्याँइका रूपमा लिएका छन्।
प्रचण्ड किन महाधिवेशन धकेलिरहेका छन् त? महाधिवेशनबाट विमुख हुनुलाई माओवादी नेताहरू विभिन्न तरिकाले बुझिरहेका छन्। हुन त माओवादीमा अब कुन महाधिवेशन गर्ने भन्ने पनि अनिश्चितता छ।
यसअघि प्रचण्डले ‘पार्टी एकताको महाधिवेशन’ भनेका थिए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) सँग एकताका लागि महाधिवेशन तोकिने भएकाले प्रचण्डले एकताको महाधिवेशन भनेका थिए। यसका अतिरिक्त माओवादीभित्रकै नेता-नेताबीचको एकताको स्वरूप देखाउन पनि एकताको महाधिवेशन गर्ने प्रचण्डको भनाइ थियो।
यी हुन् प्रचण्डले महाधिवेशन नचाहनुका कारण :
पार्टी विवाद बाहिर ननिकाल्ने दाउ
प्रचण्डले महाधिवेशन धकेल्नुको मुख्य कारण हो, आन्तरिक विवाद। माओवादीमा प्रचण्डको दोस्रो स्तरका नेतासँग त्यति राम्रो सम्बन्ध नरहेको नेताहरू बताउँछन्। उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव जनार्दन शर्मा प्रचण्डसँग सन्तुष्ट छैनन्।
उपमहासचिव शर्माले स्थायी समिति बैठकमा ‘फरक मत’ राखेका थिए। त्यो विवाद केन्द्रीय समिति बैठकमा थोरै मात्र देखिएको नेताहरू बताउँछन्। यद्यपि माओवादी नेताहरू जनार्दन-प्रचण्ड टसल सकिएको भन्दा पनि सरेको अर्थमा बुझ्छन्।
‘जनार्दनजीले उठाएका विषयमा विवाद सकियो जस्तो लाग्दैन। तर उहाँ (जनार्दन) जीको पक्षमा जनमत कम भएकाले यसपटक उठेन’, माओवादीका एक पदाधिकारी भन्छन्, ‘यही विषयले महाधिवेशनमा ठूलो रूप देखिन सक्ने भय प्रचण्डमा छ।’ प्रचण्डसँग जनार्दन-वर्षमान टसल आठौँ महाधिवेशनबाट ‘औपचारिक रूपमा’ थालनी भएको हो। दुवैले महासचिव दाबी गर्दा प्रचण्डले तेस्रो व्यक्ति (देव गुरुङ) लाई अघि सारेका थिए।
पछिल्लो अवस्थामा माओवादीमा जनार्दन-वर्षमान ‘मिलेको’ कुरा माओवादीका एक नेता बताउँछन्। यस्तो भएमा पनि प्रचण्डमाथि दबाब बढ्ने अनुमान छ। जनार्दनलाई छल्न पनि प्रचण्डले महाधिवेशन धकेलेको ती पदाधिकारीको दाबी छ।
चुनावमा गए अर्को विवाद
माओवादीमा अबको महाधिवेशनमा चुनाव गर्नुपर्ने दबाब देखिन्छ। किनभने २५ जना पदाधिकारी व्यवस्थापन गर्न प्रचण्डलाई सहज छैन। अध्यक्षमा आफैँ दोहोरिने भए पनि अन्य पदमा पार्टीका नेतालाई जिम्मेवारी दिन सहज नरेहको ती पदाधिकारी बताउँछन्।
विद्यार्थीको राजनीतिबाट बिदा भएकालाई पार्टी जिम्मेवारी दिनुपर्ने बाध्यता छ। ‘यसअघि चुनाव गराइएन तर अब जसरी नै चुनाव गराउनुपर्ने देखिन्छ’, माओवादी केन्द्रीय सदस्य रन्जित तामाङ भन्छन्, ‘यतिबेला आन्तरिक विवाद देखाउनु हुन्न भन्ने हो। किनभने चुनावमा जाँदा सामान्य तिक्तता देखिन्छ नै। अहिले हामी माओवादी एकजुट भएर सरकारविरुद्ध लाग्नुपर्नेछ’, तामाङ भन्छन्।
यति बेला विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा पनि उमेर हद विवाद उत्कर्षमा छ। पार्टीमा चुनाव गराए पनि यही हालत देखिने अनुमान माओवादी नेताहरूले गराएका छन्।
‘पुरानै पदाधिकारी धेरै छन्। नयाँ पनि पदाधिकारीमा लैजानुपर्यो। यो चुनावबिना सम्भव छैन’, माओवादीका अर्का एक नेता भन्छन्, ‘यी सबै विवादलाई एकैपटक समाधान गर्न अध्यक्षज्यूलाई तत्काल सजिलो छैन।’
पदीय भागबन्डामा जटिलता
महाधिवेशन भइहाले माओवादीभित्रकै नेताको पदीय भागबन्डा व्यवस्थापन ‘महाभारत’ बन्ने निश्चित छ। महासचिवमा जनार्दन, वर्षमानलगायतका नेताले दाबेदारी गर्नेछन्। प्रचण्ड दुवै नेतालाई ‘समान, समर्थन’ गर्ने अवस्थामा नरहेको ती नेताले बताए। माओवादी नेताहरूका अनुसार पछिल्लो समय त अन्य पदमा पनि जटिलता देखिएको छ।
पूर्वउपराष्ट्रपति रहेका नन्दबहादुर पुन ‘वरिष्ठ उपाध्यक्ष’ बन्न चाहिरहेका छन्। वरिष्ठ उपाध्यक्ष रहेका नारायणकाजी श्रेष्ठलाई उचित पद दिनुपर्ने हुन्छ। माओवादी नेताहरूका अनुसार चुनाव भएमा ‘जनयुद्ध नलडेका’ नारायणकाजी पछारिने भय छ। यसैले पनि प्रचण्डमाथि दबाब पर्ने छ। माओवादी नेताहरूका अनुसार नारायणकाजी माओवादीमा टिकेकै ‘प्रचण्डको आडभरोसाले हो।
उपमहासचिव, सचिवलगायतका पदमा पनि आकांक्षीको लर्को लाग्नेछ। यस्तै, स्थायी समिति र पोलिट्ब्युरोमा समेत समेत प्रचण्डका लागि सहज व्यवस्थापन देखिँदैन। ‘सबै पदमा चुनाव गराउनैपर्छ। यसले गर्दा असन्तुष्टि देखिन्छ नै,’ माओवादी नेता राम कार्की भन्छन्, ‘यो जटिलता महाधिवेशनले ल्याउन सक्छ। त्यसैले सकस छ।’
विप्लव र महिन्द्रलाई के दिने?
माओवादीसँग तत्काल एकता गर्न चाहने दुई पार्टी हुन्, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र महिन्द्रराय यादव नेतृत्व नेपाल समाजवादी पार्टी (नेसपा)। महिन्द्र त एकताकै लागि डा.बाबुराम भट्टराईबाट फुटेर आएका छन्। उनी तत्काल एकता गर्न माओवादीमा दबाब दिइरहेका छन्।
नेसपा सहअध्यक्ष गंगानारायण श्रेष्ठका अनुसार एकताको विषय दुवै पार्टीमा चलिरहेका छ। महिन्द्रलाई कुन पद दिने भन्ने निक्र्योल हुन सकेको छैन। श्रेष्ठ पदीय व्यवस्थापनबारे माओवादी नेतृत्वसँग संवाद भइरहेको बताउँछन्।
महिन्द्र निकट स्रोतका अनुसार महिन्द्र र गंगानारायण दुवै माओवादीको पदाधिकारी दाबी गरिरहेका छन्। उपमहासचिव हरिबोल गजुरेलले विधानविपरीत बनेको पदाधिकारीबाट सामूहिक राजीनामा दिनुपर्ने प्रस्ताव पदाधिकारी बैठकमा राखेका थिए। यसले गर्दा पनि प्रचण्डलाई महाधिवेशनमा पदीय व्यवस्थापन सहज छैन।
कार्यदल बनाएर प्रचण्डले अल्झाए ‘पार्टी एकता’
विप्लव र महिन्द्र माओवादीले एकता प्रस्ताव ल्याउने आसमा थिए। तर माओवादी बैठकमा एकताबारे ठोस निर्णय भएन। ‘सबै पार्टीसँग एकताको ढोका खोलेको’ भनिए पनि एकताबारे प्रचण्डले चासो देखाएनन्। हुन त प्रचण्डकै कारण एकता नभएको आरोप विप्लवले लगाइसकेका छन्।
यसपटकको केन्द्रीय समिति बैठकमा माओवादीमा एकताबारे खास निर्णय भएन। बरु एकताका लागि कार्यदल बनाउने निर्णय गरेर प्रचण्ड पन्छिए। एकताका लागि तयार रहेका दलले पनि अब कार्यदलसँग संवाद गर्नुपर्नेछ। हालै सम्पन्न केन्द्रीय समिति बैठकमा पार्टी एकताबारे छलफल नभएको नेताहरू बताउँछन्।
‘माओवादीभित्रकै आन्तरिक जीवन सकस छ। बाहिरका दलसँग एकता गर्दा झनै गाह्रो भएर कुरा उठेन’, माओवादीका अर्का एक पदाधिकारीले भने।