काठमाडौँ- कार्यालय समयअगावै जिल्ला अदालत काठमाडौँ पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान बल्ल सुरु भएको छ। सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका रास्वपाका सभापति लामिछानेको बयान सुरु भएको हो। न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बयान सुरु भएको अदालतले जनाएको छ।
बयान सकिएसँगै आजै थुनछेक बहस पनि सुरु हुनेछ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको भन्दै अभियोग पत्र दायर भएपछि उनी आइतबार आफैँ अदालतमा हाजिर भएका हुन्। गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। रविलाई सरकारी वकिलले सो ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदाबी गरेको छ।
अभियोग पत्रमा उल्लेख भए अनुसार ७५ लाख १० हजार २ सय रुपैयाँ रेमिट मार्फत विदेश पठाएको फेला भेटिएको छ। २०२१ र २०२२ मा सो रकम गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ। सो रकम रवि लामिछानेको नामबाट विदेशमा पठाएको भेटिएको छ। कास्की अदालतले धरौटीमा रिहा गरेपछि ८४ दिन कास्की प्रहरीको हिरासतबाट निस्केर शनिबार उनी काठमाडौँ आइपुगेका थिए।