वैदेशिक रोजगार : अब जुन देशमा जाने, त्यही देशको भाषामा तालिम

हिमाल प्रेस २८ पुष २०८१ ११:५०
6
SHARES
वैदेशिक रोजगार :  अब जुन देशमा जाने, त्यही देशको भाषामा तालिम

काठमाडौँ- सरकारले आगामी माघ १ देखि वैदेशिक रोजगारीमा जाने कामदारलाई सम्बन्धित देशको भाषामा तालिम दिने भएको छ। वैदेशिक रोजगार विभागले देशगत रूपमा भाषागत अभिमुखीकरण तालिम सञ्चालन गर्न सम्बन्धित संस्थालाई निर्देशन गरेको हो।

विभागले फेसटाइम एटेन्डेन्स तथा आइरिस रिकग्निसन सिस्टम गत ३ पुसदेखि लागू गरेको थियो। वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले माघ १ गतेदेखि वैदेशिक रोजगारीमा जाने कामदारका हकमा भाषा र देशगत तालिम अनिवार्य गरिएको जानकारी दिए। उनका अनुसार पहिलो चरणमा देश र त्यसपछि भाषागत अभिमुखीकरण तालिम सञ्चालन हुन्छ।

वैदेशिक रोजगारीमा जाने कामदारले अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम कक्षामा उपस्थित हुनुपर्ने उनले बताए। ‘आइरिस सिस्टम लागू भएपछि देशगत क्लस्टर लागू गर्ने सम्बन्धमा दुईबुँदे निर्देशन जारी भइसकेको छ। देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि तालिम सञ्चालन हुन्छ’, उनले भने।

वैदेशिक रोजगारीमा जाने कामदारलाई देश र भाषागत तालिम सञ्चालन गर्दा रोजगारदाता देशमा समस्या नहुने दाबी सरकारको छ। यसका लागि खाडी देश, मलेसिया, जापान, दक्षिण कोरिया युरोप र अन्य गरी ६ वटा क्लस्टर तोकिएको छ। देशगत क्लस्टर तोकिएपछि अभिमुखीकरण तालिमका लागि संस्था खोज्दै हिँड्नुपर्ने  झन्झट नहुने व्यवसायी बताउँछन्।

अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले सरकारी निर्णयको स्वागत गर्दै अभिमुखीकरण तालिम प्रदायक संस्था तयार छन् कि छैनन् भनेर अध्ययन आवश्यक रहेको उनले बताए। ‘सरकारले देशगत अभिमुखीकरण तालिम सञ्चालन गर्नु राम्रो पक्ष हो तर लागत खर्च र अन्य सुविधामा पनि ध्यान दिनुपर्छ’, उनले भने।

विभागका अनुसार देशगत क्लस्टर सञ्चालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिए पनि छनोट नभएका संस्थाले २८ पुसभित्र सञ्चालनका लागि दाबी गर्ने पाउनेछन्।

प्रकाशित: २८ पुष २०८१ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast