
काठमाडौँ- गायक प्रकाश सपूतको परिचय संगीतकार, गीतकार, अभिनेता र निर्देशकका रूपमा स्थापित छ। गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहेका गायक सपूतले फिल्म निर्माण गरेका छन्।
एकै व्यक्तिले यति धेरै भूमिका निर्वाह गर्न कठिनाइ हुँदैन त? यस जिज्ञासामा गायक सपूतले आउँदा दिनमा एक विधामा मात्र केन्द्रित हुने प्रतिक्रिया दिए।
उनी निर्देशित पहिलो फिल्म ‘वसन्त’मा समावेश पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ को गीत र श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार साँझ दरबारमार्गमा रहेको एक फिल्म भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा गायक सपूतले आफ्नो समूहका कारण यसपटक सफल भए पनि आउँदा दिनमा एक विधाबाहेक अरुको जिम्मेवारी नलिने बताए।
उनले भने, ‘आफैँले सबै काम गर्दा गाह्रो नै हुनेरहेछ। विशेषतः निर्देशन र अभिनय एकैपटक गर्दा दुवैमा ऊर्जा बाँडिएको महसुस भयो । त्यसैले आउँदो फिल्ममा म निर्देशक भएमा आफ्नो दृश्यलाई निकै कम राख्छु, नत्र सुनिल विकलाई निर्देशनको जिम्मेवारी दिन्छु र म अभिनयमा मात्र केन्द्रित हुन्छु । किनकि मेरै पछिल्ला कामभन्दा कमजोर नहोस् भन्ने मेरो प्रयास रहन्छ।’
यस विषयमा अभिनय र निर्देशनसँगै गरिरहेका निश्चल बस्नेत, अर्पण थापालगायतसँग छलफल गरेको गायक सपूतले बताए । उनले गायनमै व्यस्त हुँदा फिल्म निर्देशनमा आउनु कथालाई धेरै दर्शकसम्म पुर्याउने चाहना भएको बताए ।
‘भोगाइ, देखाइसहितका आफ्ना कथा गीतमार्फत व्यक्त गरिरहेको थिएँ। मलाई ती कथा गीतमै सकाउँछु कि भन्ने लाग्यो । त्यही भएर फिल्म बनाउने योजनालाई मूर्तरूप दिएको हुँ । यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो’, उनले भने । यो फिल्मको कथामा आफ्नो बालापन र भोगाइ भए पनि आफ्नै जीवनी भने नरहेको गायक सपूतले स्पष्ट पारे ।
अभिनेत्री स्वस्तिमा खड्काले गायक सपूतले एउटा परिपक्व फिल्मकर्मी भएर काम गरेको बताइन्। उनले भनिन्, ‘गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उनको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ। यो फिल्ममा जोडिएर शान्ति नामक पात्र बाँच्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु । यो मलाई वर्षौँसम्म सम्झिने पात्र बन्ने छ।’
सार्वजनिक गरिएको ‘साँझ पर्यो झमक्कै’ गीतमा शब्द, संगीत र स्वर सपूतकै रहेको छ भने गायनमा शान्तिश्री परियारले साथ दिनुभएको छ। फिल्ममा प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्।
आर्थिक रूपमा विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षलाई फिल्मको विषय बनाइएको निर्माण पक्षले जनाएको छ। यो फिल्म आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ ।