नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपुर्ण छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस २७ पुष २०८१ १९:२६
14
SHARES
नेपालको कृषिको विकासका लागि चीनको सहयोग महत्वपुर्ण छ : कृषिमन्त्री अधिकारी

काठमाडौँ – कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना भएकाले चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण हुने बताएका छन्।

मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र यसका लागि चीन सरकारबाट अवश्यक सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरेका छन्।

फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एण्ड स्टडिज (फाउन्टेन्स) ले शनिबार काठमाडौँमा आयोजना गरेको ‘आजको बीआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी विषयक संवाद कार्यक्रम लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई साकार पार्ने र यी सबैका लागि जनशक्तिको विकास गर्ने लक्ष्य सरकारले राखेका उल्लेख गर्दै यसका लागि मित्र राष्ट्र चीनको सहयोग र साथको अपेक्षा व्यक्त गरे।

मन्त्री अधिकारीले सन २०२३ को डिसेम्बर १८ देखि ३० सम्म चीनमा भएको नेपाली सांसदहरुको कार्यशाला गोष्ठीमा नेपाली प्रतिनिधीमण्डलमा आफू पनि सहभागी भएको र त्यस क्रममा कुईयाङ्ग प्रान्तको वेन्जिङ्ग गाउँमा स्ट्रवेरी फार्मले प्रभावित पारेको पनि बताए।

नेपाल र चीनबीच कृषि क्षेत्रमा भएगरेको सहकार्यमार्फत दुवै देशले लाभ लिन सक्ने र यसको कार्यान्वयनबाट नेपालको कृषि उपजले चीनको बजारसम्म पहुँच कायम हुने विश्वास व्यक्त्त गरे।

चीन र नेपाल सरकारबीच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रको समझदारीपत्रमा सन् २०२३ मा हस्ताक्षर भएको थियो।त्यस्तै नेपालबाट औषधिजन्य वनस्पति निर्यात गर्नको लागि फाइटोसेनिटरी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ। त्यस्तै नेपालबाट सुन्तलाजातका फलफूल निर्यात गर्नको लागि फाइटोसेनिटरी प्रोटोकलमा नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच ३० अक्टोबर २०१९ मा हस्ताक्षर भएको थियो।

नेपालबाट चीनमा हाईलेज निर्यातको लागि सुरक्षा र स्वास्थ्य अवस्थासम्बन्धी प्रोटोकलमा दुई सरकारबीच हस्ताक्षर भएको छ र निर्यातको सुरुवात पनि भएको छ। नेपालबाट चीनमा थर्मल प्रशोधित भैँसीको मासु निर्यात गर्ने सम्बन्धमा
पनि हस्ताक्षर भएको छ। यसले अब नेपालबाट चीनमा थर्मल प्रशोधित भैँसीको मासु निर्यात गर्ने बाटो खुलेको छ भने व्यवसायिक राँगा भैँसी पालनको संभावना पनि बढेको छ।

औषधिजन्य वनस्पति निर्यातका लागि चीनको भन्सार प्रशासनसँग समन्वय भएको छ भने याक र चौरीको नश्ल सुधार तथा मूल्य श्रृंखला प्रवर्द्धन गर्न चीन सरकारसँग अनुरोध गरिएको छ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा जारी संयुक्त बक्तव्यमा कृषि औद्यौगिक प्रदर्शनी पार्कका लागि पनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट प्रारम्भिक अध्ययन सुरु भएको उल्लेख छ।

कृषि औद्यौगिक प्रदर्शनी पार्क स्थापना र सञ्चालनका लागि यसअघि नै चीन सरकारलाई नेपालले अनुरोध गरेको थियो। हिमाली क्षेत्रमा निर्यातमुखी व्यवसायिक आलु तथा तरकारी, याक, चौरीको नश्ल सुधार, भेडाको नश्ल सुधार, पशुपन्छी स्वास्थ सुधार तथा सवलीकरण र वहुकार्यात्मक प्रयोगशाला स्थापना तथा स्यानीटरी फाईटोस्यानटरीको क्षेत्रमा क्षमता विकास सम्बन्धि आयोजनाहरुमा सहयोग तथा सहकार्य गर्न ५ वटा अवधारणा पत्रहरु नेपालले चीन सरकार समक्ष २०२३ मा पेश गरेको छ।

यी आयोजनाहरु सञ्चालन गर्न सकेमा दुई देशबीच कृषि क्षेत्रको सहकार्यमा थप ईँटा थपिने आशा मन्त्री अधिकारीले लिएका छन्। कृषि प्राविधिकहरुलाई चीनमा तालिमका लागि पठाउने , दुई देशबीच भएको समझदारीपत्र र अन्य विषयहरुमा संयुक्त कृषि कार्यदलको बैठक आयोजना गरी थप प्रभावकारी कार्यान्वयन गर्ने सम्भावना रहेको मन्त्री अधिकारीले उल्लेख गरे।

कृषि क्षेत्रको विकासका लागी नेपालमै हाइव्रिड विउविजनहरुको उत्पादन उन्नत जातहरुको आदान प्रदान, जैविक विषादीहरुको उत्पादन, मिश्रित रासायनिक मलको उत्पादनको क्षेत्रमा चिनियाँ लगानी र प्रविधि निकै महत्वपूर्ण हुने अपेक्षा पनि मन्त्री अधिकारीले व्यक्त गरे।

प्रकाशित: २७ पुष २०८१ १९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast