काठमाडौँ– गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोधन गरेको बताएका छन्।
शनिबार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले बढी मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए।
‘हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ,’ उनले भने, ‘ हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौँ।’
चाँडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेशमार्फत शंसोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाइ थियो। ‘शासकीयसुधारसँग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन,’ उनले भने, ‘थप उद्योगहरु सञ्चालनको वातावरण निमार्णका लागि सरकारले सधैँ निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ।’
उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासीय नेपालीका निमित्त्तमहत्वपूर्ण निर्णय गरेको समेत बताए। ‘आईटीको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेका छौँ,’ उनले भने, ‘विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निमार्णमा सरकार लागेको छ।’
कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेततापूर्वक निर्णय गरेको उनले बताए। ‘सात दिनभित्र निर्णय गर्ने निर्णय नभए कारबाही हुने व्यवस्था गरेका छौँ,’ लेखकले भने, ‘सात दिनभित्र हुने भए हुन्छ नहुने भए हुँदैन भन्ने निर्णय गरिसक्नुपर्ने कानुन बनाएका छौँ।’
उनले सरकारले आर्थिक समृद्धिको बाटोमा देशलाई लैजान कानुन निमार्ण गरेर कार्यान्वयन गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताए। ‘अब आइटी कम्पनीहरुले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रुपमा भित्र्याउन सहज हुने कानुन निमार्ण गरेका छौँ,’ उनले भने, ‘ढुक्क भएर तपाईँहरु लगानी गर्नुहोस् सुरक्षा दिने कुरामा सरकार प्रतिवद्ध छ।’
उनले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे।